स्थानीयहरुबाट युवाहरुलाई दैनिक पारीश्रमिकको व्यवस्था गर्दै कोरोना नियन्त्रणका लागि गाउँको पहरा

स्थानीयहरुबाट युवाहरुलाई दैनिक पारीश्रमिकको व्यवस्था गर्दै कोरोना नियन्त्रणका लागि गाउँको पहरा दिँदै
६ वैशाख, लिबाङ रोल्पा


रोल्पा नगरपालिका–४ नं. वडा लिबाङ रोल्पा सहित अन्य टोलहरुमा विश्वभरि महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम सक्ने भन्दै स्थानीयहरुबाट युवाहरुलाई आवश्यक खर्च व्यवस्थापन गरी पहरा दिने भएका छन् । लक डाउनको समयमा घर फर्किएका व्यक्तिहरुको जाँच प्रभावकारी बन्ने भएको छ ।
यस वडाको लिबाङ सहित अन्य टोलहरु गुरुङगाउँ, तित्रिकोट र रुन्टबाङबासीहरुले नोबेल कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिमलाई गाउँमा छिर्न नदिन भन्दै दैनिक पहरा दिन थालेका छन् । स्थानीयहरुले दैनिक ज्याला दिएर चार जना युवाहरुलाई पहरेदारीका लागि खटाइका छन् । वडा सदस्य हरीजङ गुरुङको अगुवाईमा तीन ओटा गाउँका वन उपभोक्ता समूह, आमा समूह, युवा क्लव, वुद्धिजीवि, राजनीतिक दलहरु एकजुट भएर दैनिक पहरेदारीका लागि जुटेका हुन् । लहरीखोलाको बाटो भएर आवत जावत गर्ने गाडी, मोटर साईकल, पैदल यात्रीहरुलाई यात्रको लागि अनुमपति कागजको चेक जाँच गरी अत्यावश्यकीय बाहेक कसैलाई पनि गाउँमा प्रवेश तथा गाउँ बाहिर आउनका लागि अनुमति नदिने गरी दैनिक चारजना युवाहरु लहरी खोलामा र दुई जना युवाहरु गुरुङगाउँ छिर्ने मुल गेडमा पहरेदारी दिन थालेको वडा सदस्य हरीजङ गुरुङले जानकारी दिनुभयो । यदि गाउँमा बाहिरबाट आएका ब्यक्तिहरु भित्रिएमा गुरुङगाउँको सामुदायिक होमस्टेमा, तित्रिकोटको सामुदायिक भवनमा र रुन्टबाङको सामुदायिका भवनमा क्वारेन्टाईनमा राख्ने निर्णय भएको छ । तीन ओटा गाउँका स्थानीय, वुद्धिजीविहरु, विभिन्न सरोकारवालाहरुको उपस्थितिमा भएको भेलाले आ–आफना गाउँमा कोरोना नियन्त्रणका लागि समन्वय समिति गठन भएका छन् ।

गुरुङ गाउँमा दिलबहादुर गुरुङको संयोजकत्वमा १७ सदस्यीय नियन्त्रण समिति गठन भएको छ भने तित्रिकोटमा सन्तोष बिष्टको संयोजकत्वमा ९ सदस्यीय नियन्त्रण समिति गठन भएको छ । यसैगरी हुकुम बहादुर थापाको संयोजकत्वमा रुन्टबाङको लागि कोरोना नियन्त्रण समन्वय समिति गठन भएको छ । तीन ओटा गाउँका सरोकारवालाहरुको सहभागितामा बसेको बैठकले संघीय सरकारबाट लागू भएको लक डाउनको समयमा सबै गाउँका स्थानीयहरुलाई सचेत बनाउनका लागि पहलकदमी लिने निर्णय गरेको छ ।  यस बैठकमा रोल्पा वडा सदस्यहरु हरीजङ गुरुङ, वडा सदस्य निर्मला बिष्ट, स्थानीय समाजसेवी एवम राजनीतिज्ञ रामबहादुर बुढाथोकी, स्थानीय सिताराम पुनमगर, मानबहादुर गुरुङ लगायत तीन वटै गाउँका कोरोना नियन्त्रण समन्व्य समितिका संयोजकहरु दिलबहादुर गुरुङ, हुकुम बहादुर थापा, सन्तोष विष्ट सहितको सहभागीता रहेको थियो । समितिले सचेतनामुलक सूचनाहरु प्रवाह गर्ने तथा सचेतनामुलक पोष्टरहरु टाँस्ने निर्णय गरेको छ । साथै वडा सदस्य निर्मला बिष्टको अगुवाईमा तथा तित्रिकोट आमा समूहको नेतृत्वमा तित्रिकोटका सबै घरलाई साबुन बितरण गरिएको छ । त्यहाँको आमा समूहका पदाधिकारीहरुले घर घरमा पुगेर सचेतनामुलक जानकारी सहित साबुन बितरण गरेको बताइएको छ ।

You may also like