रोल्पामा ६७ जना HIV संक्रमित फेला १५ जनाको मृत्यु


रोल्पा समाचारदता
फागुन १६ रोल्पा

 


रोल्पामा ६७ जना एचआइभी सक्रमितहरु भेटिएका छन् । एचआईभीको क्षेत्रमा काम गर्ने रोल्पा प्लस संस्थाले उक्त तथ्याङ्क सार्वजनिक गरेको छ । रोल्पा प्लसले यो संख्या बढी बढ्न सक्ने अनुमान समेत गरेको छ ।
रोल्पा प्लस संस्था रोल्पामा करिव एक दशकदेखि क्रियाशील छ । संक्रमितहरुलाई हेरचाह, उपचार र परामर्श प्रदान गर्दै आई रहेको सँस्थाले पछिल्लो पटक रोल्पामा ६७ जना संक्रमितहरुले उपचार सेवा लिइरहेको बताएको छ । २०७५ माघ महिनासम्मको तथ्याङ्क अनुसार रोल्पा जिल्लामा ६७ जना फेला परेका र १५ जना संक्रमितहरुको मृत्यु भइरहेको रोल्पा प्लसका सिएचवीसी केस ट्रयाकर सरस्वती गिरीले बताउनुभयो । १५ जना औषधी उपचार गर्दा गर्दै कसैले नियमित औषधी नखाने, कसैले जाड रक्सी नियमित पिउने बानीले समग्रमा आफ्नो स्वास्थ्यप्रति सचेत नहुनाले मृत्यु भएको बताएको छ ।   गिरीका अनुसार हाल रोल्पा जिल्लमा ५२ जनाको कुल संख्या रहेकोमा १९ जना जिल्ला बाहिर रोजगारको सिलसिलामा गएको र ३३ जना जिल्लामै रहेको बताउनुभयो ।
रोल्पा प्लसका अध्यक्ष राधा विश्वकर्मा मानिसहरुले अझै पनि संक्रमितलाई घृणा र हेलाको भावले व्यवहार गरिरहेकोले संक्रमितिहरुको क्षेत्रमा काम गर्न निकै कठिनाई आएको बताउनुभयो । उहाँले भन्नुभयोः–“रोग त अरु पनि त लाग्छ, तर अरु रोगलाई हाल मानिसहरुले पचाउने सम्मान जनक तरिकाले हेर्छ तर संक्रमितहरुलाई घृणाको भावले हेर्ने चलन कायम नै छ त्यसैले झन खुल्न कठिन छ भित्र भित्रै यो फैलिने खतरा छ ।” राज्यबाटै यसलाई न्यूनिकरण गर्नका लागि भत्ता, औषधी उपचार, रोजगारमा विशेष व्यवस्था गर्ने पर्ने बताउनुभयो ।
रोल्पा जिल्लाका संक्रमितहरुले पनि करिव ३ वर्ष पहिले नेपालगञ्ज र दाङमा गएर मात्रै औषधी लिने र चेक जाँच गर्ने वाध्यता थियो । हाल भने यो सेवा रोल्पा अस्पताल रेउघामै रहेको छ । रोल्पा अस्पतालका एआरटी काउन्सिलर हेल्थ असिस्टेण्ट कृष्णबहादुर डाँगीले संक्रमितहरुलाई सुविधा दिने उद्देश्यले चेकजाँच, औषधी निशुल्क रुपमा प्रदान गरेपछि विरामीहरुलाई सजिलो भएको बताउनुभयो ।
बुधबार बसेको एड्स जिल्ला समन्वय समितिको बैठकले पनि यसलाई आम सरोकारवालाको साझा अभियानको रुपमा अगाडि बढाएर न्यूनिकरण गर्नुपर्र्ने निष्कर्ष निकालेको छ । जिल्ला समन्वय समितिका प्रमुख राजबहदुर बुढामगरले यस अभियान सिंगो जिल्लाकै अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो ।
संक्रिमत भएको थाहाँ पाएपछि परिवारबाट पनि एक्लो हुनुपर्र्ने, समाजले नराम्रो दृष्टिकोणले हेर्ने परम्पराको कारणले आफूले लुकेर बस्नु परेको एक संक्रमितले बताएका छन् । उनले भनेः–“राज्यले विभिन्न प्रोत्साहनका कार्यक्रम लिएपछि त्यसबाट पनि लाभ लिनका लागि खुल्नेछन् । राज्यलाई सहयोग पुग्छ । ”
रोल्पा जिल्लामा भेटिएका संक्रमितहरुमध्ये बढी भारत आवत जावत गर्ने समूहका मानिसहरुबाट अरु व्यक्तिमा सरेको प्रमाणित भएको छ । रोल्पा जिल्लाको पूर्वी दक्षिणी गाउँहरुमा बढी संक्रमितहरु रहेको तथ्याङ्कले जनाएको छ ।
यो न्यूनिकरणमा स्वास्थ्य क्षेत्र, स्थानीयतह, विभिन्न सामाजिक संघ संस्था लाग्न जरुरी रहेको छ । विभिन्न सकरात्मक कुराहरुले प्रभाव पारी संक्रमितहरुको संख्या न्यूनिकरण गर्न आवश्यक छ ।

 

You may also like