कविता, लकडाउनको यात्री म उही छु

कविता,
लकडाउनको यात्री
म उही छु

चन्द्र घर्तीमगर 

लकडाउनको यात्री
म उही छु

केवल म माथिको आकाशमा
जुन र घाम पालै पालो उदाउँछन् र अस्ताउँछन्
मेरो अघि र एउटा रुख छ
जसको हाँगामा आशाका नयाँ पातहरु पलाउँछन्
र निराश हँुदै झर्छन्
त्यही रुखको दोद्रोमा
एउटा चराले मेहेनतले गुँड बनाउँछ
अण्डा बनाउँछ, चल्ला कोरल्छ
र स्वतन्त्रताको गीत गाउँदै उदाईदिन्छ आकाशमा ।
मेरो अगाडी केही फूलका बोट छन्
उनीहरु मलाई सान्त्वना दिए जस्तै गरेर फुल्छन्
र पर्खाइको सीमा कटेपछि झर्छन्
म उही छु
केवल म माथि कहिले बर्षा बनेर आकाश खस्छ
कहिले बादल बनेर चत्याङ खस्छ
कहिले बतासिन्छ केही हावाका झोक्काहरु
र कानसम्म केही खबर ल्याएर जान्छ
कहिले,
सँधै मोटर गाडी मात्र गुडिरहने व्यस्त सडकमा
र मुटु नभएको टाउको मात्र हिडिरहने शहरको चोकहरुमा
घर संझेर भोक हिडिरहेको सुन्छु
कहिले सीमा पारीबाट
आँखामा देश सजाउँदै
हृदयले देश छामेर
अभावका चाङहरु सुतिरहेको सुन्छु
र म रात भर
जबरजस्त दुःखको अनिदो यात्रा गर्छु ।
कहिले सुन्छु
भोक चपाएर रोगले मरेका मान्छेहरुको खबर
कहिले सुन्छु
विभेदको नदीमा बग्दै बग्दै गएका
प्रेमका फुलहरुको हत्याको खबर
कहिले सुन्छु
कोपिला मनहरुको लुटिएको चित्कारहरुको आवाज
त्यसपछि
हरद्म पीडाको सिलौटाले पिसिरहन्छ मेरो हृदय
र हरेक समय समबेदनाको लामो यात्रामा हिड्छु
कहिले सुन्छु
मेरो पुर्खाको रगतले लेखेको सिमा रेखा
मेट्दै मेट्दै आएको खबर
कहिले सुन्छु
मेहेनतको आफुनै खल्टीमा
मगमगाईरहेको पसिना लुटिदै लुटिदै गएको खबर
कहिले सुन्छु
लकडाउनको चिसो ओछ्यानमा
भोकको सिरानीमा सास मागीरहेका मान्छेहरुको सुस्केरा
र सुन्छु
एउटा ढुंगे मुटु हिड्न राष्ट्रपति भवनमा
करोड रुपैयामा खरिद भइरहेको आशुहरुको कार्पेट
कहिले सुन्छु
मृत्युको सन्त्रास बोकेर हिडिरहेको
यो समयको डर लाग्दो हुरीको अट्टाहास
र सुन्छु
त्यही अट्टाहासको कात्रोमा मोलमोलाई गरिहेको
एउटा मुर्दा जस्तै मान्छेको बार्गेनिङ बातचित
कहिले सुन्छु
भंैसी गोठमा देश देखिरहेका आखाका निरिह भाकाहरु
कहिले सुन्छु त्यही भाकालाई चपाएर
करोडांैको गाडीमा शैर गरिरहेका केही मन्त्रीहरुको हर्कत
यी सब सुन्दा सुन्दै
कसरी बस्न सक्छु म मन्दिरको मुर्ति झै चुपचाप
र गर्छु आक्रोसको एउटा लामो यात्रा
र गर्छु आशुको एउटा गहिरो एउटा यात्रा
म उही छु
र यस्तो लाग्छ
कहिलेकाही उही ठाउँमा रहनु पनि
संसार कै सबै भन्दा लामो यात्रा हिड्नु रहेछ ।

You may also like