लघुकथा

लघुकथा
बाउको मुख हेर्ने दिन

सीता शर्मा एक उपाध्याय ब्राह्मणकी कान्छी छोरी थिइन् । उनका दाजु र दिदीहरुको बिबाह भैसकेको थियो । सीता स्नातक गरेकी एक शिक्षित र सुन्दर युवती थिइन् । उनको बिबाह गर्ने उमेर भैसकेको थियो । धेरै केटाहरू उनको व्यक्तित्व र सुन्दरताबाट आकर्षित भएका थिए ।
छविलाल बि.क.उनका सहपाठी साथी थिए । उनको आनीबानी र शारीरिक सुन्दरता पनि लायक नै थियो । दुबै जना प्रगतिशील विचार राख्ने युवा थिए । सीता र छवि एकअर्कालाई मन पराउँथे । धेरै समयसम्म उनीहरुको प्रेम परीक्षण र ‘पर्ख र हेर’ को अवस्थामा रह्यो । अन्ततःएक प्रेमी युवा जोडीका अगाडि जातपात र अन्य कुराहरू सामान्य रहे र उनीहरू बिबाहको बन्धनमा बाँधिए ।
सीताको माइती पक्षले उनीहरुको बिबाहलाई स्वीकारेन । आउजाउ, बोलीचाली र नालनाता सबैमा ढोका लाग्यो । सीताको घर–माइत एउटै जिल्ला भएर पनि परदेश जस्तै भयो । माइती तर्फको हालखबर अरुबाट मात्र थाह पाउँथिन् । उनीहरुको प्रेम र गृहस्थीमा कुनै कठिनाइ थिएन । दुई सन्तान भैसकेका थिए ।
सीताका बाउ आमा बृद्ध भैसकेका थिए । बाउ आमाको मन न भयो । छोरीको ‘गल्ती’पनि बिर्सिसकेका थिए । छोरीको पटक–पटक संझना गर्थे र घरमा बोलाउन छोराहरुलाई आग्रह गर्थे । उनका छोराहरू परम्परागत सोंच भएका र ढिप्पिवाल स्वभावका थिए । “सीताको माया लाग्ने भए उस्कै घरमा गएर बस्नु’’भनेर जवाफ लगाएपछि छोरीको मायालाई मुटु भित्रै कैद गर्न बाध्य थिए उनीहरू ।
सीताका बाउ लामो दम रोगले सिकिस्त भएका थिए । उनको अवस्था जटिल भएकाले सबै इष्टमित्रलाई जानकारी गराइयो । सबैले अन्तिम भेटघाट पनि गरे । तर, सीतालाई भने कुनै जानकारी दिइएन् ।
एक दिन अचानक सीताले फेसबुकमा उनका बुबालाई कसैले श्रद्वाञ्जलि दिएको देख्न पुगिन् । उनी शोकले विह्वल भइन् । मरेको भएपनि मेरा बाको अनुहार हेर्छु भनेर छिमेकीलाई फोन गरेर घाटतिर लागिन् । सीता घाटमा बालाई हेर्न आउँदै छे भन्ने थाह पाएर दाजुहरुले हतारमा दाहसँस्कार कर्म सिद्वाएर फर्किरहेका मलामीहरुलाई बाटामै पो भेट्न पुगिन् ।
‘मरेका मेरा बाउको अनुहारसम्म हेर्न दिएनन्, बा जलेको खरानी भएपनि हेर्छु’ भनेर घाटतिर लागिन् सीता । घाटमा पुग्दा खरानी पनि थेन सबै पखालिएको थियो ।
ढुङ्गाको चरमा अड्किएको खरानी उठाइन् । नदीको एक अन्जुली पानी हातमा लिएर बाउलाई श्रद्धाञ्जली दिइन् र त्यै खरानी शिरमा लगाइन् ।
“बा ! आज हजुरको मुख हेर्ने दिन रहेछ, मैले नगर्नु के गरेको थिएँ र मरेको अनुहार पनि हेर्न पाइन !’’ सीताका अश्रूबीम्बहरू तप्प तप्प खसे त्यै नदीमा श्रद्धाञ्जली बनेर ।
खेमराज शर्मा
सुनिलस्मृति गाउँपालिका– १ घोडागाउँ, रोल्पा ।

You may also like