तीजको महत्व र समाजमा परेको प्रभाव

तीजको महत्व र समाजमा परेको प्रभाव

सुशिला पन्थ
वाणगंगा नगरपालिका
महिला तथा बालबालिका शाखा प्रमुख
।।।

हिन्दु धर्मवालम्बि नारीहरुको महान चाडमध्ये हरितालिका तीज नेपाली नारीहरुको एक महान पर्वको रुपमा लिइन्छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वले महिलाहरुको धर्म र आफ्नै संस्कृती बोकेको छ । भाद्र शुक्ल तृतीयाका दिन पर्ने तीज र भाद्र शुक्ल पञ्चमीका दिन पर्ने ऋषिपञ्चमीलाई महिलाहरुको धार्मिक, सांस्कृतिक महत्वको रुपमा लिने गरिन्छ । आफ्ना पतीको दीर्घायु तथा परिवारजनको सुख समृद्धिको लागि व्रत बस्ने चलन पनि तीज पर्वको अर्को धार्मिक महत्व रहेको छ । तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने पर्व को रुपमा लिइन्छ ।
पहिले–पहिले यातायात र सञ्चारका साधन प्रयाप्त र सर्वसुलभ नहँुदा जुन सुकै बेला दिदी, बहिनी, चेलीबेटी सबैको जमघट लामो समयसम्म नहुने र मिठो मसिनो खानका लागि चाड पर्व कुर्नु पर्ने अवस्था थियो । बिबाह भएर टाढा गएकी चेलीलाई दाजु, भाइ वा बुबा लिन जाने माइतिमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिने, चेलीवेटीको घरको अवस्था उसको पीर मर्कालाई आफ्ना दिदी बहिनी इस्टमित्रका माझ गीतका माध्यमद्वारा पोख्ने चलन थियो ।
पहिले तीजको बेला विभिन्न मन्दिर खेल मैदानमा भेला भएर वर्षौदेखि छुटेका साथी संगिनीसँग भेट भएर नारी वेदनाले भरिएका गीतहरू गाएर मनाउने प्रचलन विस्तारै इतिहास बन्न थालेको छ । महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि मुक्ति पाई माइतिसँग समय बिताउने सुख दुःख बाड्ने पर्वको रुपमा पनि लिइन्थ्यो । तीजको अर्को मौलिक पक्ष भनेको सुख, दुःखर मनको वेदना पोख्ने, गीतहरुमा पनि एउटा छुट्टै संस्कृति बोकेको र गीत कै माध्यमद्वारा सन्देश पनि दिने गरिन्थ्यो । पराईघरमा भएका अन्याय अत्याचार ज्यादतीलाई गीत मार्फत् भण्डाफोर गर्ने संस्कृति बोकेको पर्वको रुपमा पनि लिइन्थ्यो ।
अहिले तीज मनाउने शैली भड्िकलो र खर्चिलो बन्दै गएको छ । हुदा खानेले हुने खानेको देखासिकी गर्दै ऋण खाजेरै भएपनि कपडा र गर (गहना) किनेर तीज पर्व मनाएका उदाहरण समाजमा व्याप्त देखिन्छन् । गर (गरहना)हरुको प्रतिस्प्रर्धामा उत्रिएर तीज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउँदै जानेमा पनि पुराना पिँढीको तर्क रहेको छ । यसरी देखासिकीको रुपले विकृति निम्त्यायो भने गरीव महिलाहरुले यो पर्व मनाउने भन्दा पनि कसरी पर्व छल्नेतर्फ चिन्तित बन्ने देखिन्छ । र तीजको समयमा तीजकै भड्किदो प्रवृतिका कारण प्रायस घरमा श्रीमान् श्रीमतीमा बेमेल, घरायसी झै–झगडा र लैंगिक हिंसा हुने गरेको पनि देखिन्छ ।
सामाजिक सञ्जाल (फेसबुक, टिकटक) मा अर्काको मागेरै भएपनि देखाउने र त्यो देखासिकी समुदायका अन्य व्यक्तिले अनुकरण गर्ने प्रवृतिले गर्दा नेपाली मौलिक संस्कार, संस्कृति नै धरापमा पर्ने देखिन्छ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा बजारमा आएका गीत नेपाली मौलिक पन, नेपाली संस्कृतिभन्दा फरक तरिकाबाट तोड मोड हुदै नयाँ पन थपिदै आएका छन् । पछिल्लो पिँढीका नयाँ कलाकारहरुले निकालेका सबै खाले गीतहरू नेपाली मौलिकता पन नदेखिएको पाइन्छ । पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका धेरै जसो गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् ।
पुरानो पुस्ता र वुद्विजीवि वर्गले पछिल्लो समय हाम्रो समाज पुरानो शैलीभन्दा फरक भएको र पुरानो मौलिक संस्कृतिलाई मोड्न नहुने तर्कहरू आउने गर्छन् । अहिले हाम्रो समाजमा सासुले बुहारीलाई दुःख दिने जस्ता घट्ना अहिलेको समाजमा हट्दै गएकाले केही परिर्वतन आएपनि गीत गाउने बाहनामा नयाँपन ल्याउन संस्कृतिलाई नै धरापमा पुग्नेप्रति धेरैको चिन्ता छ । तर, विगत केही वर्षहरू यता आधुनिकताको नाममा चाडलाई विकृत बनाइदै छ । अहिलेको समाज परिर्वतनशील छ । समाज परिर्वतनशीलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन । संस्कृतिको आफ्नै महत्व छ । आधुनिकताको नाममा संस्कृतिलाई आफू अनुकुल परिभाषा दिनु आफू अनुकुल चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व माथि प्रश्न उठ्न थालेको छ । अहिले तिजको दिन पनि पहिले जस्तो जम्मा हुने प्रचलन पनि घट्न थालेको छ । कहि कतै जम्मा भएपनि गीत संगीत पनि फरक खालका गाउने गर्नुले पनि सबैको चाख चाडपर्वप्रति घट्न थालेको छ । पछिल्लो समयमा तीज आउनुभन्दा पहिले विभिन्न पार्टी प्यालेस र चारतारे होटलमा दर खाने साउण्ड सिस्टम बजाएर नाच्ने गर्नाले पनि तीजको दिन कमै उपस्थिति देखिदै जान थालेको छ । झण्डै एक महिना अघिबाट दर खाने प्रचलन एउटा तीज पर्वको पछिल्लो समयमा भित्रिएको विकृतिको पाटो बन्न थालेको छ । तीज पर्वमा देखासिकी प्रतिस्पर्धा बढ्ने गरेको छ । पर्वलाई धर्म संस्कृति जोगाउनुभन्दा पछिल्लो पिँढी देखासिखीतर्फ लागेकोमा पुराना पुस्ताको चिन्ता छ ।
तीज भनेको गीतका माध्यमबाट महिलाहरुले आफूले भोगेका सुख दुःखका बेदनाहरू पोख्ने ठूलो अवसर हो । तर, पछिल्लो समयमा तीजमा उत्ताउलो खालको सँस्कृति भित्रिन थालेको छ । पर्वको अबसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेदनाभन्दा पनि फरक खालको संस्कृति भित्रिएको छ ।तीजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने गर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ । तीज पर्वमा पहिले जस्तै अहिलेका पुस्तामा विभिन्न चोक, मैदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । नयाँ पुस्ता, सज्जनवृन्द र सरोकारवाला निकायहरुले सँस्कृति जोगाउन तथा विकृतिबाट समाजलाई बचाउन विशेष चासो देखाउनु पर्ने जरुरी देखिन्छ ।

You may also like