रोल्पा कसारको डल्लो झैं लाग्थ्यो रसबरी रहेछ- मोहन संग्राम

दोस्रो राष्ट्रिय कविता’ प्रतियोगिता

             प्रथम प्रतियाेगि  मोहन सङ्ग्राम

 राेल्पा  नगरपालिकाको नियमित साहित्य कार्यक्रम अन्तर्गत ‘रोल्पा गुराँस साहित्य मेला–२०७६’ लिबाङमा सम्पन्न भएको छ । मेलाको अवसरमा लिबाङदेखि जलजला, थबाङ, परिवर्तन गाउँपालिकाको पुत्लाखोला, घर्तिगाउँ हुँदै पुनः लिबाङसम्म साहित्यकार लगायतका सरोकारवाला निकायहरुको सहिभागि टिमले विभिन्न साहित्यिक कार्यक्रम सम्पन्न गर्दै आन्तरिक पद यात्रा समेत सम्पन्न ग¥यो । मेलाको अवसरमा ‘दोस्रो राष्ट्रिय कविता’ प्रतियोगिताको लागि देशैभरि १८७ ओटा कविताबाट दश ओटा कवितामा छनौट भई कविता प्रतियोगितामा खोटाङ जिल्ला निबासी मोहन सङ्ग्रामले प्रथम स्थान ल्याउन सफल हुनुभयो । उहाँसँग प्रतियोगितामा प्रथम हुँदाको अनुभूति, रोल्पा जिल्लाको पर्यटन क्षेत्र जलजलासम्म प्रत्यक्ष यात्रा, साहित्यिक विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पदाक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ । 
हजुरलाई पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दै हजुरको परिचय र बताइदिनुहोस, न ?
धन्यवाद, रेशम सर र रोल्पा समाचार साप्ताहिक परिवार । म मोहन पोखरेल, आफूलाई मोहन संग्राम भनेर पनि चिनाउँछु । म जन्मेको चाँही खोटाङ जिल्ला हो भन अहिले अध्ययनको क्रममा काठमाडौं बस्छु । राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक दोश्रो वर्षमा पत्रकारिता र राजनीतिकशास्त्र पढ्दैछु । लेखनको कुरा गर्दा विशेषतः कविता, गजल र आख्यानमा सामान्य कलम चलाउँछु ।
सुनेको रोल्पा र देखको रोल्पामा कस्तो फरक पाउनुभयो ?
– रोल्पा गुराँस साहित्य मेलाले मलाई पहिलो पटक डो¥याएर रोल्पासम्म ल्याई पु¥यो म एकदमै आभारी छु समग्र आयोजक टिम प्रति । यहाँ नआँउदासम्म रोल्पा कसारको डल्लो होला जस्तो लाग्थ्यो यहाँ आएपछि लाग्यो रोल्पा त रसबरी रहेछ । यहाँको प्रकृति, यहाँको बतास, यहाँका मान्छेहरू र संस्कार संस्कृति, मान्छेहरुमा भएको चेतनाको स्तर, साहित्यप्रतिको सम्मान र आकर्षण सबै सबैले मन लुटेको छ । यहाँ आएपछि मैले रोल्पालाई राजधानीको आँखाबाट हेरेकोमा लज्जाबोध भएको छ । राजधानीबाट टाढा भएको कारण विकासका पूर्वाधारहरुको पर्याप्त उपलब्धता चाँही रहेनछ । एउटा ठूलो इतिहास बोकेको रोल्पा जसले धेरै मान्छेहरुलाई विभिन्न माध्यमबाट सत्तासम्म या सत्तानजिकसम्म पु¥याएको छ उ आफू नै छाँयामा पर्नु चाहीँ दुर्भाग्य हो ।
‘दोस्रो राष्ट्ररिय कविता प्रतियोगितामा प्रथम स्थान ल्याउँदा कस्तो अनुभुति भएको छ ?
– यो प्राप्तिलाई म शब्दमा व्यक्त गर्नै सक्दिन । पहिलो पटक मन्दिर पुग्दा पत्थर सायद यति नै खुशी हुन्छ होला । जीवनको अहिलेसम्मको सबैभन्दा ठूलो खुशी हो यो । जुन खुशी मलाई रोल्पाले दिएको छ । कहिल्यै नबिर्सिने प्राप्ति हो यो जसलाई सम्झिने दुःख गर्नु पर्दैन ।
समग्र जिल्लाबसाई कस्तो रह्यो ?
– काठमाडौंमा रहँदासम्म दिमागमा धेरै कुराको तनावको जालो जस्तो केही थियो । रोल्पा रहँदासम्म मैले सबै कुरा बिर्सिसकेछु । यति धेरै भुलायो रोल्पाले । यहाँका फूलहरुका सुगन्ध मान्छेहरुको व्यवहार अरु अरु माहोलले रोल्पाको बसाई अत्यन्तै महत्वपूर्ण रह्यो । त्यसमाथि मेरो हकमा त रोल्पाले एउटा ठूलो ढोका पनि खोलिदिएको महशुस गरेको छु । ति मध्ये लिबाङको कार्यक्रम, ओख्रेनीको बसाई, जलजलाको गुराँस, ऐतिहासिक गाउँ थबाङ जस्ता महत्वपूर्ण क्षणहरुलाई म कहिल्यै नभुल्ने स्मरणहरू बनेका छन् ।
हजुर कविता विधामा कसरी प्रेरित बन्नुभयो ?
– मलाई याद छ, म तीन कक्षामा हुँदा मलाई पढाउने एकजना सरले कविता लेखेर ल्याउन भन्नुभएको थियो । त्यो बेला अनुप्रास मिलाएर विद्यालय शीर्षकमा एउटा कविता जस्तो केही लेखेर धन्यवाद पाएको थिएँ कक्षामा साथीहरुको अगाडी । पछि यसैलाई निरन्तरता दिई रहेँ । त्यस्तै नौ कक्षासम्म हुँदा पनि म अनुप्रास मिलाएर कविता लेख्थेँ । पछि खोटाङकै एक साहित्यकार ओमप्रकास घिमिरे जसले त्यति बेला धेरै प्रगतीशिल कविताहरू लेख्नुहुन्थ्यो अहिले पनि लेख्नु हुन्छ । उहाँका कविताहरुबाट प्रभावित भएँ । उहाँसँग नजिक भएपछि कविताको सन्दर्भमा धेरै कुराहरू सिक्न अवसर पाएँ र एक हदसम्म मेरा कविताहरुमा परिष्कार आयो । त्यसयता मैले कविता लेख्दै गर्ने क्रममा धेरै अग्रजहरुबाट प्रेरणा पाएको छु । कविता लेखेकै कारण समय–समयमा धेरै प्रशंसा पाएको छु, धेरै साथीहरु बनाएको छु यसबाट पनि यो क्षेत्रमा रही रहन पर्याप्त प्रेरणा मिलिरहेको छ ।
हजुरले हाल सम्म कुन–कुनकति कृति प्रकाशन गर्नुभयो ?
– आफ्नै कुनै कृति अहिलेसम्म बजारमा ल्याएको चाँही छैन । अलि पहिला म नौ कक्षा तिर पढ्दादेखि केही समय आफू सम्पादक बनेरै साहित्यिक पत्रिका प्रकाश ग¥यौं । कृति प्रकाशन गर्ने सम्बन्धमा अहिले त्यति धेरै सोचेको छैन । बजारको लागि र पाठकका लागी कुनै दिन लायक भएको महसुस गरेँ भने प्रकाशन गर्नेछु ।

प्राकृतिक, धार्मिक, संस्कृतिक, युद्वपर्यटन जलजलामा पुग्दा अनुभूति बताइदिनुहोस्, न ?
– जलजलाको मनोरम दृष्यले मन लुटेको छ । सम्हाल्न खुब गाह्रो भयो मनलाई । मेरो मन घरि चिसो बताससँग उडेर माथि मािथ कतै पुग्थ्यो भने घरि गुराँस र भुईफूलहरुसँग मित लगाउन कतिखेर कतिखेर गायब भैसक्थ्यो । यो घुम्दासम्म लागिराख्यो जलजला क्षेत्रमा यत्रो विशाल बगैँचा छ फूलहरुको, यत्रो रमणीय स्थल छ, खुला संग्राहलय जस्तो छ सिंगै क्षेत्र तर किन यहाँ पर्यटकहरू आकर्षित गर्न सकिएको छैन ? यसलाई नेपाल भ्रमण वर्ष २०२० को अवसरमा कसरी पर्यटनको केन्द्र बनाउन सकिन्छ ? हामीसँग यस्ता सुन्दर ठाँउहरू छन् जहाँ पुगेपछि अरू सुन्दर भनिएका सबै बस्तुहरुलाई गिज्याउन मन लाग्छ तर हामीले यसलाई प्रयोग गरिरहेका छैनौँ जसलाई प्रयोग गरेर हामी यो देशको आर्थिक हैसियत उचो बनाउन सक्छौँ ।
वर्तमान साहित्य क्षेत्रलाई कसरी नियाल्नुभएको छ ?
– साहित्य समाजको ऐनाको रुपमा विकसित हुँदै आईरहेको छ । एउटा उत्कृष्ट साहित्यले एउटा कुनै सिंगो आन्दोलनको नेतृत्व गर्न पनि सक्छ । पछिल्लो समयमा साहित्य मार्फत समाजमा विद्यमान विभिन्न खाले समस्यालाई बाहिर ल्याएर त्यस्तो समस्या माथि प्रहार गर्न थालिएको छ । यो एकदम राम्रो पाटो हो । अर्को महत्वपूर्ण पाटो चाहीँ के पनि हो भने साहित्य लेखेरै पनि बाँच्ने अवस्था सृजना भएको छ । राम्रा कृतिहरुलाई पाठकको अभाव हुन छोडेको छ । यो एउटा साहित्यकारकालागी सबैभन्दा महत्वपूर्ण कुरा बन्न सक्छ ।
साहित्यिक क्षेत्रका कस्ता चुनौतीहरू छन् ?
अत्यन्तै सान्दर्भिक प्रश्नकालागी धन्यवाद । साहित्य क्षेत्रमा धेरै राम्रा अवसरहरू पनि भएतापनि यसमा चुनौतीको पहाड समेत थपिदै गएको छ । जस्तो कि साहित्य भित्र अहिले यस्ता समूहहरू बनिरहेका छन् जसले आफू बाहेक अरुका साहित्यहरुलाई साहित्य मान्दैनन् । साहित्यका लागी प्रदान गरिने पुरस्कारहरुको विषयमा समय–समयमा विभिन्न खाले चर्चाहरू हुने गरेका छन् । साहित्यभन्दा अतिरिक्त कुराहरुको हिसाब गरेर पुरस्कार बितरण गरिएको भन्ने हल्ला आई रहन्छ यो सुन्दा हामी भर्खर साहित्यमा पाईला राख्दै गरेका नयाँ पुस्ताहरुमा एकखाले निरासा पनि पलाउँछ । अर्को कुरा साहित्यमा जसलाई पनि प्रतिस्पर्धीको रुपमा हेर्ने र व्यक्तिगत सम्बन्धलाई लिएर कसैले कसैलाई निषेध या मार्ग प्रशस्त गर्ने जस्ता प्रवृतिहरू पनि साहित्य क्षेत्रका चुनौतीहरू हुन् ।
जिल्लाको पर्यटन क्षेत्रलाई कसरी विश्लेषण गर्नुभयो ?
– यहाँ आई रहँदा मलाई लागेको कुरा के हो भने कहिले काही विविध कारणले सुन्दर बस्तुहरू पनि छायाँमा परिरहेका हुन्छन् । रोल्पामा भएका बगैँचा यहाँका अरु अरु विविध पाटाहरुले शहरी क्षेत्रमा रहेका जबरजस्ती बनाईएका पर्यटकीय क्षेत्रहरुलाई गिज्याई रहेका छन् । कुनै विकसित देशबाट आउने या यही देशको कुनै शहरी क्षेत्रबाट आउने जो कोहीलाई लोभ्याउनकालागी पर्याप्त छन् । यो सिंगै जिल्लालाई राम्रोसँग व्यवस्थित बनाएर पर्यटकहरुकालागी सहज किसिमको वातावरण सृजना गर्न सकियो भने सिंगै मुलुकको पर्यटन उद्योगलाई माथी पुर्याउन अर्को केही चाहिन्न ।
जिल्लामा पर्यटन क्षेत्रको प्रर्वद्वन र विकासको निम्ति सम्बन्धित निकायहरुले के कुरामा ध्यानदिनुपर्ने आवश्यकता देख्नुभयो ?
– पहिलो कुरा त प्रचार प्रसारको आवश्यकता छ । रोल्पाको विकटताको बारेमा मान्छेहरुलाई सत्यभन्दा धेरै थाहा छ तर यसको सुन्दरताको ज्ञान भने कोहीसँग छैन । अर्को कुरा पर्यटक भित्र्याएर मात्र हुँदैन उनीहरुलाई यहाँ बस्न सहज हुनेखालको व्यवस्थापन गर्न सक्नुपर्छ । अर्को कुरा रोल्पा पहाडी जिल्ला भएकोले यस्तो संरचनामा विकास गर्न केही अप्ठ्यारो जरुरी हुन्छ तर यसलाई सहज बनाउने नाममा यहाँका प्राकृतिक सम्पदाहरुको विनास गरेर विकास गर्न खोजियो भने यो दुर्भाग्य सावित हुन्छ । यसकारण कि रोल्पाको प्रमुख गहना भनेको यहाँको प्राकृतिक सम्पदाहरू नै हुन ।
साहित्यिक क्षेत्रको प्रर्वद्वन विकासको निम्ति तीन तहकै सरकारले के कुरामा ध्यान दिन अपरिहार्यता छ ?
– सर्व प्रथम त रोल्पा नगरपालिकाले यस्तो कार्यक्रम आयोजना गरेको भन्ने सुन्नासाथ म भित्र एक किसिमको सम्मानको भावना जागृत भई सकेको थियो त्यसलाई म फेरी व्यक्त गर्न चाहान्छु । ईच्छाशक्ति भएको खण्डमा साहित्यका कार्यक्रमहरू सञ्चालन गर्न या यसलाई प्रवद्र्धन गर्न त्यति धेरै गाह्रो हुँदैन । अलिकती प्राज्ञिक पक्षलाई सम्मान गर्ने सरकार भएको खण्डमा साहित्य क्षेत्रमा ठूलो टेवा पुग्ने थियो । रोल्पामा अहिले भएको जस्तो कार्यक्रम देशभर हुने भए साहित्य क्षेत्र शिखरमा पुग्ने थियो ।
सम्पूर्ण पाठकहरुलाई एक कविको तर्फबाट के भन्नुहुन्छ ?
– पहिलो कुरा त म पनि पाठक नै हुँ कवि भन्दा धेरै । एउटा भनाई छ– एउटा खराब पुस्तकले समाजमा बिषको बिरुवा रोप्छ । यसकारण पुस्तक पढ्दा छानेर मात्र पढ्नोस् । जस्तो पायो त्यस्तो पुस्तक पढ्नाले दिमाग गलत तरिकाबाट निर्देशित हुने खतरा पनि हुन्छ भने अर्को खतरा केही किताबहरुको कारण साहित्यप्रति नै वितृष्णा जगाइदिन सक्छन् । निराशाले भरिएको साहित्य नपढ्नोस् । अनि कसैको साहित्य कुण्ठा मात्र बोकेर या सम्मान मात्र बोेकेर नपढ्नोस् । हामी असल पाठक बन्ने हो भने साहित्यलाई लेखकसँगको सम्बन्धसँग नजोडी पढ्ने बानीको विकास गर्नुपर्छ ।
अन्तिममा केही कुरा छुटेका छन् कि ?
विशेषगरी नेपाली साहित्यमा पछिल्लो समयमा विभिन्न खाले गलत प्रवृत्तिहरुको हावी भईरहेको छ । जसले गर्दा हामी नयाँ पुस्ता जो लेख्न चाहान्छौँ हामीमा निराशा पलाउने खतरा छ । साहित्यलाई सकेसम्म पवित्र राख्नुपर्छ । हामी अग्रजहरुबाट प्रेम चाहान्छौँ । निषेध हैन । यस्तो बेला रोल्पामा आयोजना भएको यो कार्यक्रमले हामीलाई अत्यन्तै उत्साहित बनाएको छ । सम्पूर्ण आयोजक तथा सम्बन्धित सबैलाई हार्दिक धन्यवाद । रोल्पा बसाईको लगभग चार दिन मेरो जीवनको महत्वपूर्ण चार दिनहरू हुन् जो मेरो स्मृतीबाट कहिल्यै हट्ने छैनन् । अन्त्यमा म भित्रका धेरै कुराहरू यहाँ राख्ने अवसर दिनुभयो । रोल्पा समाचार साप्ताहिक परिवार र तपाई रेशम सरप्रति हार्दिक आभारी छु ।

You may also like