अव गुणमा जोड

महेश न्यौपाने
नेपाली पत्रकारिता जगतले १ शताव्दी भन्दा लामो समय पार गरिसकेको छ । सन् १९५५ मा सुधासागर पत्रिका प्रकाशन संगै नेपालमा छापा पत्रकारिताको सुरुवात भएको मानिन्छ । विद्युतिय संचार माध्यमको रुपमा रहेको रेडियोले करिव ७ दशक पार गर्दैछ भने टेलिभिजन सुरुवात भएको पनि तीन दशक पुरा भैसकेको छ ।
हाँक हालेर एक ठाउँको सूचना अर्को ठाउँसम्म प्रवाह गर्ने, दमाहा वजाएर एकै पटक धेरै जनालाई सन्देश प्रवाह गर्ने, शंक वजाएर शुभ असुभ समाचार संप्रेशन गर्ने नेपालको संचार माध्यम आज विशिष्टीकृत हुदै गएको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन,आकाशवाणी, टेलिफोन,चिट्ठी पत्रको साथ साथै अनलाईन, फेसवुक,ट्वीटर जस्ता आधुनिक संचार माध्यमले संसारलाई कोठामा मात्र सिमित गरेको छैन हरेक मान्छेको औलाको टुप्पामा संसार समित भएको छ । संसारलाई संचारले औलाको टुप्पामा सिमित गरेको छ ।
संचारमाध्यमको सुरुआती समय सूचना, समाचार र सन्देश प्रवाहममै वित्यो । संचार माध्यमलाई कसरी टिकाई राख्ने भन्ने समस्या नेपालका संचार माध्यमले सुरु देखी नै भोग्दै आए । १९५८ सालमा स्थापना भएको गोरखा पत्र सुरु देखी नै राज्यको हुण्डीवाट संचालन हुन थाल्यो । तत्कालिन श्री ३ महाराजको सहयोग नभएको भए गोरखा पत्र अहिलेको पुस्ताले देख्न पाउने थिएनन । यति गर्दा पनि गोरखा पत्र वन्द हुने स्थीतिमा पुग्न थालेको थियो । २०४५ सालको अन्तिम तिर नेपालमा ४८१ वटा पत्रपत्रिका प्रकाशनमा आईसकेका थिए । २०४६ सालपछिको प्रजातान्त्रिक व्यवस्थासंगै नेपालको प्रेस जगतले राम्रो संग फस्टाउने मौका पायो । अहिले सम्म नेपालमा करिव ५ हजार पत्रपत्रिका, दुई दर्जन वढी टेलिभिजन, ४५० एफ.एम.रेडियो तथा सयौंको संख्यामा अनलाईनहरु खुलेका छन ।
नेपाली संचार जगतको विकाससंगै त्यहाँ काम गर्ने संचारकर्मीको समेत विकास हुदै गयो । हजारौको संख्यामा रहेका संचार माध्यममा काम गर्ने संचारकर्मीको संख्या नेपालमा दशौं हजार रहेको छ । संचारकर्मीहरुको पेशागत सुरक्षाका लागी नेपाल पत्रकार महासंघको स्थापना भएको छ । २०१२ सालमा स्थापना भएको नेपाल पत्रकार संघ पछि गएर महासंघ वन्यो । महासंघ वनेसंगै यसको छत्रछायाँमा आवद्ध हुने पत्रकारहरुको संख्या पनि वढ्दै गयो । नेपाल पत्रकार महासंघ अहिले देशको सवभन्दा प्रभावशाली नागरिक संगठनको विकास भएको छ । नेपाल पत्रकार महासंघका जिल्ला शाखा, एशोसियट, प्रतिष्ठान शाखा र वैदेशिक शाखा समेतको संजाल तथा दशौं हजारको संख्यामा रहेका प्रतिवद्ध साधारण सदस्यहरुको समुच्च रुपले महासंघलाई शसक्त नागरिक संगठनको रुपमा उभ्याएको छ । नेपालमा भएका सवै खालका अग्रगमनका आन्दोलनमा नेपाल पत्रकार महासंघ सधै शीर्षभागमै रही रह्यो ।
नेपाल पत्रकार महासंघले सवै जिल्लामा शाखा विस्तार गरिसकेको छ । मनाङ जिल्ला सवभन्दा कान्छो जिल्ला शाखा हो । शाखा मान्यताको वैधानिक प्रावधान अनुसार कम्तिमा १५ जना सदस्य हुनुपर्ने भएकाले हरेक जिल्लामा पत्रकारहरु रहदा रहदै पनि उपयुक्त संख्या नपुग्दा केही जिल्लाका शाखाहरु ढिला गठन हुन पुगे । रोल्पा जिल्ला शाखा २०६१ साल पौष १४ गते स्थापना भएको हो । पत्रकार काशीराम डाँगीको संयोजकत्वमा गठित तदर्थ समितिले वैधानिक शाखाको मान्यता पाउन एक वर्ष पर्खनु प¥यो । २०६२ साल मंसिर १६ गते नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको वैठकले रोल्पालाई शाखा मान्यता दिए संगै रोल्पामा नेपाल पत्रकार महासंघको शाखा स्थापनाका लागी संभव भएको हो । सोही दिनको संझना स्वरुप हरेक वर्ष मंसिर १६ लाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको स्थापना दिवसको रुपमा संझदै आएका छौ ।
रोल्पा जिल्लामा काम गर्ने संचार कर्मी कति छन यकिन तथ्यांक नभए पनि नेपाल पत्रकार महासंघको साधारण सदस्यता लिएका पत्रकारको संख्या १०५ जना रहेको छ । यस वाहेक केही पत्रकारहरु महासंघको सदस्य नरहेर पनि कृयाशील छन । जिल्लामा करिव १ दर्जन छापा संचार माध्यम छन । आधा दर्जन रेडियो छन भने काठमाण्डौ, वुटवल, दाङवाट निस्कने पत्रपत्रिका तथा टेलिभिजन र रेडियोहरुमा समेत गरि संचार माध्यमको संख्या पनि निकै फराकिलो भैसकेको छ । जिल्लाको संचार माध्यमका आफ्नै समस्या छन । खासगरि आर्थिक दीगोपना, दक्ष जनशक्तिको अभाव आदी कारणले जिल्लाको संचार जगत आशातित फस्टाउन सकेको छैन । संचार माध्यम आफै कमजोर हुदा त्यहाँ काम गर्ने श्रमजीवि पत्रकार र कर्मचारीको पारिश्रमिक माथि नै प्रभाव पर्ने गर्दछ । हुनत संचार माध्यम र त्यहाँ काम गर्ने संचारकर्मी फरक विषय हुन । संचार माध्यम मालिकले संचालन गर्दछन । सेवा गरेर केही नाफा समेत कमाउने हरेक मालिकको उद्धेश्य हुन्छ । सामुदायिक रेडियोहरु समुदायले संचालन गरेको हुदा त्यहाँ नाफाको गुञ्जयास हुदैन यद्यपी पत्रपत्रिकाहरु व्यक्ति वा केही समुहहरुले संचालन गर्ने भएकाले त्यसमा नाफाको समेत अपेक्षा गरिएको हुन्छ । रोल्पा जिल्लाका संचार माध्यमहरु मध्ये सामुदायिक रेडियोहरु जसो तसो चलिरहेका छन । जिल्लामा हाल ६ वटा रेडियो भैसकेका छन । कतिपय रेडियोहरु स्थानीय सरकारले संचालन गर्ने भनिएको छ । स्थानीय सरकारले संचालन गर्ने रेडियोहरु कति स्वतन्त्र हुन्छन त्यहाँ पनि गम्भिर प्रश्न खडा भएको छ । राज्यले आफै रेडियो टेलिभिजन र पत्रिका चलाएको हाम्रो जस्तो देशमा एफ.एम. रेडियो स्थानीय सरकारले चलाउनु नौलो कुरा भएन । जे होस साँघुरो वजार रहेको रोल्पामा यति धेरै संचार माध्यम खुलि सकेका छन भने नयाँ खुल्ने तरखरमा समेत रहेका छन । यी संचार माध्यमको संस्थागत हुन सक्यो भने मात्र त्यहाँ काम गर्ने श्रमजीवि पत्रकार र कर्मचारीले न्यूनतम पारिश्रमिक पाउन सक्छन । यस दिशामा नेपाल पत्रकार महासंघको पहल हुन जरुरी छ । यसैगरि जिल्लाको संचार जगतलाई प्रणालीमा ल्याउन जरुरी छ । विज्ञापन गरेर मात्रै पत्रकार तथा कर्मचारीको भर्ना गर्ने, पत्रकार तथा कर्मचारीलाई पारिश्रमिक तथा अन्य सुविधा खोलेर नियुक्ती दिने । न्यूनतम पारिश्रमिक महिना भुक्तान हुने वित्तिकै भुक्तानी दिने आदि कामहरु नेपाल पत्रकार महासंघका प्रायः सवै जिल्लाहरुले गर्न जरुरी रहेको छ ।
शाखाको संस्थागत विकास, पत्रकारहरुको क्षमता विकास, पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी जस्ता विषय नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अवको गन्तव्य हुनु पर्दछ ।
(२०६२ साल मंसिर १६ गते स्थापना भएको नेपाल पत्रकार महासंघ रोल्पाको १२ आँै स्थपानाको सन्दर्भमा लेखिएको लेख रोल्पा समाचार साप्ताहिकमा २०७४ साल मंसिर १७ गते प्रकाशित)

You may also like