रूकुम पश्चिम सोती नरसंहार र दलित समुदायको चित्कार

–अमिर रामदाम


गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ।
यो देशको मुहार, फेर्नलाई उठ ।

हातमा कलम हुनेहरू, कलम लिएर उठ ।
बाजा बजाउन जान्नेहरू, बाजा लिएर उठ ।

गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ।
यो देशको मुहार, फेर्नलाई उठ ।

यतिबेला देशभरीका दलित समुदायहरू न्यायका निमित्त लडिरहेका छन् । न्यायका लागी सडक संघर्षसंगै साँस्कृतिक आन्दोलन भइरहेको छ । कलमका माध्यमबाट शब्द शब्दद्वारा आवाज गुञ्जायमान छ । यतिबेला सड देखि सदनसम्म आवाजहरू गुञ्जिरहेको छ । आज रूकुम नरसंहारमा देहवसान हुनुभएका ६ जना आमाको काखहरू रित्तिएको छ । पल–पल ति आमाका नयनहरूले छोराहरू आउँने बाटो कुर्दै बसेका होलान् ।
बिडम्बना अब ति छोराहरू आउँने छैनन् । यो १९१० को मुलुकी ऐनमा रहेको मनुस्मृति जातमा आधारित व्यवस्थाका कारण सदियौंदेखि दलित समुदायहरू थिचोमिचोमा रहनुपरेको छ । सोही मनुस्मृति चिन्तनका कारण आज ति छोराहरू मारिएँ । ति सपुतहरु मारिएँ ।
खैर यस विषयमा स्वतस्फूर्त रूपमा संघर्ष गरिरहेका छौं । जब अन्तिम सम्म न्याय मिल्दैन् तब सम्म लडिरहनेछौं । अहिले म पटक पटक सोच्छु अन्यौलता मै रहन्छु । हरेक परिवर्तनकारी आन्दोलनमा दलित समुदायको सदैव साथ सहयोग रहेको छ । तर अहिले पश्चिम रूकुममा भएको सोती नरसंहारको विषयमा गैह्र दलितहरू कोही पनि किन बोल्न सक्दैनन् र बोल्न चाहेको देखिँदैन् । कहाँ गए पटक पटक राष्ट्रवादी भएको नारा घन्काउने र स्वघोषित समाज सेवी कहलाउन रुचाउनेहरु ।
यस घटनामा संलग्न दोषीहरूले सजाय पाउँछन् कि पाउँदैनन् थाहा छैन् ? तर हामी जस्तो सचेत नागरिकहरूले मानवता विरुद्धको यो संघर्षको लडाईंमा होमिन आवश्यक रहेको छ । यो घटनाको कारण सिङ्गो ६० लाख दलित समुदायहरू पटक–पटक जलिरहेका छन्, रोइरहेका छन्, चित्कारहरू व्यक्त गरिरहेका छन् । खोई त दलित समुदायलाई न्याय दिएको ?

हिजो वर्ग संघर्ष र वर्ण व्यवस्थाका विरूद्धमा जनयुद्धमा दलित समुदायलाई होमिन लगाउनेहरू कहाँ गए ? खोई त दलित समुदायले दिएको योगदानको कदर । केबल केही व्यक्तिहरू सत्तामा लिप्त हुनका लागी गरिएको थियो त्यो जनयुद्ध ?
अनि रूकुम पश्चिम सोतीमा भएको नरसंहारको विषयमा सदनमा निर्धक्क भएर घटनालाई तोडमोड गरेर अभिव्यक्ति प्रदान गर्ने अधिकार कसले दियो यहाँहरूलाई ?
त्यस्तै सोती घटनाको स्वतस्फूर्त अनुसन्धान र मिडिया मार्फत जनताहरूलाई यथार्थ जानकारी सम्प्रेषणका लागी राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रीय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य गोपाल बराईलीको नेतृत्वमा गएको ९ सदस्यीय मिशन टोली मध्येका दुई जना पत्रकारहरू संघका केन्द्रीय सदस्य टेकेन्द्र विश्वकर्मा र कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारलाई जाजरकोट पुग्नै नदिई सल्यानको सल्लीवजारमा किन रोकियो ? के यी दुई पत्रकारहरूले त्यहाँ हिंसा भड्काउन जाँदै थिए र ? स्वतन्त्ररुपमा काम गर्ने पत्रकारलाई बाटैबाट फर्काएर पेशागत कर्म निर्वाहमा रोक लगाएको यो घटना प्रेस स्वतन्त्रता विरोधी काम हो ।
कानूनी राज्यको प्रत्याभूत होस् ! न्याय खोज्नेलाई प्रतिबन्ध लगाउनुको साट्टा दोषीलाई कारबाही गर्ने तर्फ सरकारको ध्यान जानुपर्दछ । न्याय मर्न दिनुहुन्न ।
आदरणीय सम्पूर्ण गैह्र दलित साथीहरू, आजको २१ औँ शताब्दीमा दलित समुदाय माथी भएको विभेद जातकै आधारमा घटाइएको घटनाले के यहाँहरूको मन दुःख्दैन ? मन दुखोस् पनि कसरी यहाँ त दलित समुदायको यो नरसंहार विरूद्धको लडाईंको नाटक मञ्चन हेर्न मस्त हुनुहुन्छ । यदि सँच्चा मनदेखि नै यो विभेद विरूद्ध आवाज उठाउन चाहनुहुन्छ भने आउनुहोस् सहकार्य गरौं जातीय दमन विरूद्ध लडाईंमा सहयात्री बनौं ।
त्यस्तै यो घटनाको विषयमा तपाईंहरू मूलधारका मिडियाकर्मी किन मौन बस्नु भएको छ ? यहाँहरूको मौनताका कारण के हुनसक्छ त्यो मलाई थाहा छैन् तर के तपाईंहरू पनि मौनता बस्नको लागी के कुराको ललिपप पाउँनु भयो र ?
जेठ २३ गते शुक्रबार संघीय संसदमा उक्त घटनाको अध्ययन गर्न विशेष समिति गठन भएको छ । उक्त कुरा सकारात्मक हो । समितिले घटनामा संलग्न रहेका दोषीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन, पीडित परिवारले न्याय पाउनै पर्छ ।

अहिले मुलुकभर कोरोनाको कहर छ, कोरोनासंग हामीलाई पनि डर छ तर यसरी दलित समुदाय माथी भएको नरसंहार टुलुटुलु हेरेर बस्न पनि सक्दैनौं । त्यसैले न्यायका निमित्त हामी संघर्षमा छौं । लडि रहेका छौं ।

त्यस्तै रूकुम पश्चिमको सोती नरसंहारको कारण हामी सबै सोकमा छौं । तर यहाँ लास माथी नाटक मञ्चन गर्ने कार्य गरिरहेका छन् । घटनालाई उल्ट्याउन लागि परिरहेका छन् । यहाँ केही युट्युबरहरूलाई यो दशाको घडीमा उनीहरूलाई आफ्नो भ्यूअर्स र फलोवर्स बढाउने ध्याउन्नमा छन् । यहाँ दशा छ उनीहरूलाई दशैँ आइरहेको छ । केही युट्युबरहरूका कारण सिङ्गो पत्रकारिता जगतमा धब्बा लगाउने कार्य भइरहेको छ ।
अन्त्यमा, जेठ १० गते रूकुम पश्चिम सोती नरसंहारमा मृत्युवरण हुनुभएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । न्याय मर्दैन र मर्न दिंदैनौं ।

लेखक राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाका अध्यक्ष हुनुहुन्छ ।

You may also like