लुम्बिनीका मुख्यमन्त्री महराले बिश्वासकोमत लिए लगतै मन्त्री र सभापतिको टुङ्गो लगाउने


मानसिंह विश्वकर्मा
शुक्रबार, चैत ३०, २०८०


लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले आज १ बजे विश्वासको मत लिने हुनु भएको छ । नियुक्ति भएको एकहप्तापछी मुख्यमन्त्री महराले आज विश्वासको मत लिनुहुने हो । मुख्यमन्त्री जोखबहादुर महराले विश्वास मत प्राप्त गरेपछि मात्रै मन्त्रालय र मन्त्रीहरुको कार्यविभाजन गरिने बताउनुभएको छ । साथै मन्त्रालय, मन्त्री र समितिका सभापतिहरुको चयन समेत प्याकेजमै गर्ने मुख्यमन्त्री जोखहादुर महराले बताउनुभयो ।
उहाँले विश्वासको मतका लागि तयारी भइरहेको सो पछि मात्रै अब काम कार्यलाई तिव्रतामा अगाडि बढाइने बताउँदै भन्नुभयोः–“आज विश्वासको मत प्राप्त सरकार स्थायीत्वतिर अगाडि बढ्छ, मन्त्रालय र समितिहरु एउटै प्याकेजमा नै गर्दछौँ, त्यसका लागि आवश्यक सहमति भइसकेको छ । ”
चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त हुनु भएको थियो । महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि आज शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक सभामुख तुलाराम घर्ती मगरले तोकेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

महरालाई गठबन्धन दल एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।
मुख्यमन्त्रीले तीन जना मन्त्रीसमेत नियुक्त गरिसकेका छन् । तर, उनीहरुको जिम्मेवारी भने तोकिएको छैन । एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, नेकपा (माओवादी केन्द्र) बाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बनेका छन् । विश्वासको मत पाएपछि मात्रै मन्त्रीको जिम्मेवारी तोकिने र थप मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीको छ । मन्त्रालय र समितिको सभापतिहरुको चयन प्याकेजमै गर्ने गरी तयारी भइरहेको छ । सबै दलहरुको समतिमा अगाडि बढीरहेको समेत बताउनुभयो ।

You may also like