रोल्पामा  २५ हजारको मतान्तरले अनन्त विजय हुन सक्ने दावी


रोल्पा समाचार
रोल्पा ७ मंसिर
प्रदेशसभामा कुलप्रसाद केसीले १० हजार र दिपेन्द्र पुनले २० हजार अन्तरले जित्ने गठबन्धनको दावि रोल्पा, ७ मंसिर प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वाम गठबन्धनका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ कम्तिमा २५ हजार मतान्तरले विजयी हुने देखिएको छ । स्थानीय निर्वाचनको मत, वामगठबन्धनको दावि, सुरक्षा निकायको गोप्य रिपोर्ट र लोकतान्त्रिक गठबन्धनको स्वीकारोक्तिलाई आधार मान्दा अनन्त लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अमरसिंह पुनभन्दा २५ हजार मतले अगाडि छन् । वाम गठबन्धनले भने प्रतिनिधिसभामा अनन्तले ३० हजार मत अन्तरले विजयी हुने निष्कर्ष निकालेको छ ।
वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक एवम् एमाले पोलिट्व्यूरो सदस्य गोकुल घर्तीले प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवारले ३० हजार मतले जित्ने दावि गरे । ‘प्रतिनिधिसभामा हाम्रा उम्मेदवार वर्षमान पुनले कम्तीमा ३० हजारको अन्तरले जित्नुहुन्छ’, बिहीबार विहान सदरमुकाम लिबाङमा पत्रकारसँगको भेटघाटमा घर्तीले भने, ‘स्थानीय तहको मत, वामतालमेलपछि जनतामा आएको उत्साह र लहर तथा रोल्पामा वामगठबन्धनले गरेको विकास र अबको प्रतिबद्धताले सारा रोल्पाली जनता वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आतुर छन् ।’ उनले प्रदेशसभा क्षेत्र नं. १ बाट १० हजार र क्षेत्र नं. २ बाट २० हजार मतले लोकतान्त्रिक गठबन्धनलाई पछि पार्ने दावि गरे । ‘१ मा १० हजार र २ मा २० हजार मतले हामी अगाडि छौँ’, घर्तीले भने, ‘हामी भारी मतले विजयी हाँसिल गर्छौँ ।’
उनले प्रदेशसभा सदस्यमा क्षेत्र नं. १ बाट कुलप्रसाद केसीले १० हजार अन्तरले जित्ने दावि गरे । ‘कुलप्रसाद केसीजी क्षेत्र नं. १ बाट १० हजारले जित्नुहुन्छ’ उनले भने, ‘स्थानीय तहको चुनावमा हाम्रो गठबन्धन त्यहाँबाट झण्डै १० हजारले अगाडि छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा राप्रपाका उम्मेदवार नै माओवादीमा प्रवेश गर्नुभएको छ । राप्रपाका थुप्रै नेता कार्यकर्ता एमाले र माओवादीमा प्रवेश गरेका छन् । कुलप्रसादजीको मत अझै बढ्छ ।’ गठबन्धनले प्रदेश नं. २ बाट दिपेन्द्र पुनले २० हजार मतले जित्ने दावि गरेको छ । संयोजक घर्तीले भने, ‘दिपेन्द्रजी २० हजार मतले जित्नु हुन्छ ।’ रोल्पामा १ लाख २७ हजार मतदाता छन् । रोल्पामा माओवादी र एमालेका वाम गठबन्धन तथा कांग्रेस र राप्रपाका लोकतान्त्रिक गठबन्धन छ । लोकतान्त्रिक गठबन्धनबाट प्रदेश क्षेत्र नं. १ बाट शेरबहादुर महरा र २ बाट खगेन्द हमाल उम्मेदवार छन् ।

You may also like