हतियार सहित रोल्पामा नेकपाका कार्यकर्ताहरु पक्राउ

रोल्पा समाचारदाता
मंसिर ३ रोल्पा
बम बनाउन प्रयोग गरिने सामाग्री सहित रोल्पाबाट प्रहरीले आज नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सदस्य रोल्पा नगरपालिका वडा नं. १० का धनबहादुर थापा ‘विश्लेषण’ सहितका ५ जनालाई सुवर्णावती गाउँपालिका—५ क्वालीगाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थी जानकारी दिनुभयो । पक्राउ पर्ने अन्य कार्यकर्ताहरुमा रोल्पा न.पा. १० का बिरबहादुर वली, सुनछहरी गा.पा. ६ फगामका हिमलाल पुन ‘हिमाल’, सुवार्णवती ५ गजुल मिनराम विष्ट, खड्गबहादुर केसी र आइतराम वली रहेका छन् ।
उनीहरुको साथबाट रेडबुलका बट्टा सहित ७ वटा क्यान बम फेला परेको प्रहरीले जनाएको छ । यस्तै रोल्पा नगरपालिका १० धबाङमा रहेको जिल्ला सदस्य विश्लेषणको घर तलासी गर्दा बम बनाउन प्रयोग हुने ४३ वटा सकेट फेला परेको पनि प्रहरीले जनाएको छ । चुनाव प्रचार प्रसारमा रहेका उम्मेदवारहरुमाथि शृङ्खलाबद्ध रुपमा आक्रमण हुन थालेपछि रोल्पामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पाले यस अघि जिल्ला इन्चार्ज दलबहादुर खत्री, सेक्रटरी सन्तोस सुवेदी, जिल्ला सदस्य ताइगर, जिल्ला सदस्य लालबहादुर सुनारलाई पक्राउ गरिसकेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्रबहादुर फ्युयालका अनुसार अझै खोजी कार्य जारी रहेको र भोली विहान पत्रकार सम्मेलन गरी हतियार सहित पक्राउ परेकालाई सार्वजनिक गर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समिति रोल्पाका प्रमुख डा. डिजन भट्टराइले सुरक्षाको अबस्था सामान्य बन्दै गएको बताउँदै शान्ति पूर्ण तरिकाले चुनाव गराउन आफू लागि परेको बताउनुभयो ।
रोल्पामा माओवादीकेन्द्रका वरिष्ठ नेता वर्षमान पुनमगर ‘अनन्त’ र दिपेन्द्र पुनमगरलाई लक्षित गरी भिताबाङ, इरिबाङ गरिएको बम विस्फोटन, सिचाई राज्यमन्त्री अमरसिंह पुनमगरमाथी घोडागाउँ, माओवादी केन्द्रका नेता कुलप्रसाद केसी जैमाकसला र सेरममा आक्रमण, माओवादी केन्द्रका बरिष्ठ नेता कृष्णबहादुर महरा र वर्षमान पुनमगर ‘अनन्त’ लाई लक्षित गरी लिबाङ भदौरेको आक्रमणको आधिकारिक जिम्मा नलिए पनि नेकपाबाट भएको प्रहरीको दावी छ । प्रहरी हिसासतमा रहेका इन्चार्ज दलबहादुर खत्री र सेक्रटरी सन्तोष सुवेदीले आफूहरु बाहिर भएको नियन्त्रण गर्न सक्ने बताएका छन् ।

You may also like