जातीय छुवाछुतमुक्त एवं बालीघरे खलोप्रथा अन्त्यका लागि सचेतना कार्यक्रम

पन्न
रोल्पा समाचार
जेठ २५

रोल्पा नगरपालिका वडा नं. २ को आयोजनामा बालीघरे तथा जातीय छुवाछुतमुक्त सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शुक्रबारदेखि वडा कार्यालयको आयोजनामा भएको २ दिन अभिमुखीकरण कार्यक्रममा वडापालिकालाई आगामी आर्थिक वर्षमा जातीय छुवाछुत एव बालीघरे खलोप्रथा अन्त्यका लागि घोषणा गर्ने तयारी भइरहेका छ । २ नं. वडाका विभिन्न स्थानका दलित अगुवा एवं सहभागितामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा रोल्पा जिल्लाका विभिन्न अधिकारकर्मीहरुले प्रशिक्षण दिनुभएको थियो । नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष एवं अधिकारकर्मी खेम बुढामगरले जातीय छुवाछुतको विकास र वर्णाश्रम व्यवस्थाले उत्पन्न गराएकोले समाजलाई रुपान्तरण गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी दलितहरुको अवस्था, दलित– दलित बीचमा भएका विभिन्न समस्या, आगामी दिनमा गर्ने पर्ने कार्ययोजना र बाली घरे खलोप्रथाका विषयमा नेपाल पत्रकार महासंघ रोल्पाका पहिलो कार्यकालका अध्यक्ष एवं अधिकारकर्मी मानसिंह विश्वकर्मा, दलितहरुको सामाजिक विकास, तथा सशक्तिकरणका बारेमा अधिकारकर्मी चन्द्र घर्तीमगरले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा आगामी आर्थिक वर्षमा छुवाछछुतमुक्त तथा बालीघरे खलोप्रथा मुक्तका लागि वडा अध्यक्षका अध्यक्षतामा समिति निर्माण, घरघुरी सर्वेक्षण, सहभोज, दलित तथा गैर दलितको बीचमा अन्तरक्रिया, विभिन्न सामाजिक संघ संस्थाहरुको बीचमा अन्तरक्रिया लगायतको कार्यक्रम गर्ने गरी तयारीमा लागेका छन् । कार्यक्रममा वडा अध्यक्ष खिमबहादुर घर्तीमगरले आफ्नो वडालाई जसरी भएपनि छुवाछुतमुक्त वडा निर्माणका लागि अगाडि बढाउने र कार्यक्रम निकै अगाडि बढी सकेको बताउनुभयो । उहाँले यस कार्यक्रममा विगतदेखिनै कार्यक्रम गर्दै आईरहेको बताउँदै वडा सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा वडा सचिव विमला बुढामगर, वडा सदस्य रामी परियार लगायतले समेत आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा दलित सञ्जालका अध्यक्ष सार्के परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

You may also like