यस कारण शिक्षक बन्न सक्दैनन्

      

                                                                                    

श्याम लेकाली
शिक्षक
जनज्योति मा वि गजुलकोट

असल शिक्षक त्यही व्यक्ति बन्न सक्छ जो विद्यार्थीको मन मस्तिष्कमा बस्न सक्छ । जो कोही शिक्षक बन्न सक्दैनन् तर जो कसैलाई पनि शिक्षक बनाइन्छ । शिक्षकमा विभिन्न विषय क्षेत्र वा विषयवस्तुमा कम्तिमा पनि आधारभूत ज्ञान हुन आवश्यक हुन्छ । एउटा शिक्षक विद्यार्थीको भविष्य निर्माणका लागि शैक्षिक योजनाकार बन्नु पर्छ,कलाकार बन्नु पर्छ,साहित्यकार बन्नु पर्छ, सङ्गीतकार बन्नु पर्छ, चित्रकार बन्नु पर्छ, पत्रकार बन्नु पर्छ ,नृत्यकार बन्नु पर्छ, खेलाडी र शैक्षिक योजनाकार आदि लगाएतका भूमिकामा शिक्षकको उपस्थिति हुनु पर्दछ । उपर्युक्त सम्पूर्ण विषय क्षेत्रमा एउटा शिक्षक पोख्त नहुन सक्छ । यसकारण सबै व्यक्ति शिक्षक बन्न सकिदैन तर एउटा शिक्षक सबै बन्नु पर्छ ।
शिक्षक भन्न जति सजिलो छ तर शिक्षकको ठाउँमा रहेर काम गर्न निकै गाह्रो हुने गर्दछ । तर शिक्षक जो कोही पनि बन्न सक्छ भन्ने सङ्कीर्ण दृष्टिकोण र मानसिकताबाट हामी माथि उठ्न सकिरहेका छैनौ । पर्याप्त ज्ञान,सीप र शिक्षण कौशल भन्दा पनि सोर्स र पहुचका भरमा राम्रो भन्दा पनि हाम्रो शिक्षक विद्यालयमा नियुक्ति गरिन्छ । स्थानीय नेता र प्रतिनिधिहरु त झन आफ्नो कार्यकर्ता भर्ती गर्ने केन्द्रको रुपमा विद्यालयलाई प्रयोग गरेको जस्तो देखिन्छ । स्थानीय स्रोतदेखि राहत तथा करार दरबन्दिमा स्थानीय प्रतिनिधिकै बोलबाला रहन्छ । मानिसको मनोविज्ञान सबैभन्दा बढी सायद शिक्षकले नै पढ्नु पर्छ र बुझ्नु पर्छ । बालबालिकाको भावना,क्षमता,रुचि र सिकाइ स्तर बुझ्न शिक्षकले उनका पाना पाना पढ्नु पर्छ । अभिभावकको सोचाइ र मनोविज्ञान बुझ्नु पर्छ र उनका टोकसो समेत खेप्नु पर्छ ।

एउटा कक्षमा फरक फरक सामाजिक पृष्ठभूमिका बालबालिकाहरु रहेका हुन्छन् । फरक जात,धर्म र भाषिक समुदायका हुन्छन् । सबैको सिकाइ स्तर एउटै नहुन सक्छ । कसैको छिटो बुझ्न सक्ने तिक्ष्ण बौद्दिक क्षमता भएको हुन सक्छन् भने कसैको ढिलो बुझ्न सक्ने मन्द क्षमताको हुन सक्छन् । कोही आत्मविश्वासका साथ धारा प्रवाहका बोल्न सक्ने हुन्छन् भने कोही लाज मानी बोल्नै नसक्ने पनि हुन सक्छन् । कोही इमान्दार,अनुशासित र सिकाइप्रति सकारात्मक भाव राख्ने हुन्छन् भने कोही खराब,बड्मास र सिकाइमा ध्यान नदिने पनि हुन सक्छन् सबै विद्यार्थीको भावना र क्षमतालाई सम्मान गर्दै कक्षा व्यवस्थापन गर्नु पर्दछ । यसरी विविधतायुतm कक्षामा शिक्षण गर्नु एउटा शिक्षकका लागि कम चुनौतिको कुरा पनि होइन । यसकारण यिनै कुराले पनि शिक्षण पेशा अन्य पेशाभन्दा भिन्न र मानसिक थकान बढी हुने पेशा हो ।
विद्यार्थीको सिकाइ उपलब्धी कमजोर हुन गयो भने पनि शिक्षकको काम,कर्तव्य र क्षमतामाथि प्रश्न हुन सक्छ । यो स्वभाविक पनि हो । तर एउटा विद्यार्थीको सिकाइ उपलब्धीमा शिक्षक लगाएत अन्य कुन कुन पक्ष जिम्मेवार छन् ? यस विषयमा कहिल्यै नजरअन्दाज गरिदैन । विद्यालय प्रशासनदेखि सुपरिवेक्षक तथा निरीक्षकसम्मको अनुगमन तथा निरक्षणमा सबैभन्दा बढी जवाफदेही शिक्षक नै हुनु पर्दछ । अभिभावकदेखि प्रशासक, निरीक्षक र जनप्रतिनिधिहरुको निगरानी र दबावमा एउटा शिक्षक रहनु पर्दछ । यति धेरैको निगरानीमा शायद जो कोही व्यक्ति रहन सक्दैन र काम गर्न पनि । यति हुँदा हँुदै पनि म शिक्षण पेशामा आवद्ध छु, किनभने म शिक्षण पेशालाई सम्मान गर्छु र शिक्षक भएकोमा गर्व पनि । म आफुलाई आत्ममूल्याङ्कन गरिरहेको छु की म असल शिक्षक बन्न सक्छु र बन्नु पर्छ । शिक्षक बन्नका लागि आयोग पास त गरे तर शिक्षणका लागि भने पूर्ण पास भइसकेको छैन । असल शिक्षक मात्र होइन एउटा सफल शिक्षकको रुपमा स्थापित हुनुपर्छ भनेर मनले पनि प्रेरित गरिरहेको छ । शिक्षक कसरी आफ्नो पेशामा सफल र असफल हुन जान्छ । कक्षमा शिक्षण गर्नका लागि के कस्ता तरिका अपनाउन सक्छन् एउटा अङ्ग्रेजी लेखक स्वार्जको लेखबाट जस्ताको त्यस्तै यहाँ उल्लेख गर्न सान्दर्भिक रहला ।
मैले गाउँको प्राथमिक विद्यालयमा पढेको हुँ । एउटै कक्षमा ४० जना विद्यार्थी जाम हुन्थे र एउटा शिक्षकले पढाउँथ्यो । नयाँ शिक्षकलाई विद्यार्थीले टेरछुर लमाउँदैनथे । कक्षामा हल्ला हुन्थ्यो, मारपिट चल्थ्यो,चोरी हुन्थ्यो र कहिले त लडाइँनै भड्किन्थ्यो । नयाँ शिक्षक केही महिनापछि टिक्न सकेन । अर्को सेप्टेम्वरमा शिक्षक फेरिइसकेको थियो । अहिले आएकी शिक्षिकाले भने बेग्लै ढङ्गले व्यवहार गर्न थालिन् उनले हरेक विद्यार्थीलाई सम्बोधन गरिन् । उनीहरुको गर्वलाई सम्बोधन र सम्मान गरिन् । सबैलाई एक एकओटा जिम्मेवारी दिइन् । कसैलाई सरसफाइको बारेमा,कसैलाई खानपिनको बारेमा,कसलाई पहिरनको बारेमा,कसैलाई आमाबाबाको बारेमा,कसैलाई छिमेकीका बारेमा कसैलाई साथीसङ्गीका बारेमा लेख्न लगाइन् । समूहमा विभाजन गरिन् र कालोपाटी सफा गर्ने,कक्षाकोठा सफा गर्ने लगाएतका जिम्मेवारी दिइन् । उनको शिक्षा योजना चरित्र निर्माणमा आधारित थियो ।
विद्यार्थीले एक वर्षसम्म सैतानको जस्तो व्यवहार गरे तर अर्को वर्ष देवदुतको जस्तो व्यवहार गरे किन होला ? फरक थियो उनीहरुको नेता अर्थात् शिक्षक । पहिलो शिक्षकले आफ्ना विद्यार्थीले प्रगति गरुन् वा नगरुन् केही वास्ता गर्दैनथ्यो । उसले तिनीहरुलाई उत्साहित पनि गर्दैनथ्यो । उसले आफ्नै दिमाग नियन्त्रण गर्न सक्तैनथ्यो । कसरी पढाएमा विद्यार्थीले मन पराउँछन् भन्ने ध्यानै थिएन । तर दोस्रो शिक्षिकाले भने विद्यार्थीको भावना बुझेर पढाउने कला सिकेकी थिइन् । विद्यार्थीका क्षमतालाई बुझेर शिक्षण गरिन् र छिट्टै विद्यार्थीको मनमा बस्न सफल भइन् ।
हामी सामुदायिक विद्यालयमा शिक्षण गर्ने लाखौ शिक्षकहरु छौ । कतै हामी स्वार्जको जस्तो पहिलो शिक्षक मात्र बन्न गइरहेका त छैनौ ? यदि त्यसो हो भने हामी सबै दोस्रो शिक्षिका जस्तै बन्न प्रयत्न गरौ । विद्यार्थीको भविश्यप्रति उत्तरदायी बनौ र शिक्षण पेशालाई सम्मान र इज्जत गरौ ।

You may also like