हामी उखु किसान


–चन्द्र जी.एम


माटोलाई आफ्नै पसिनाले मुछे्र
तिम्रो स्वादको पहाड उभ्याउने
हामी हौ उखु किसान
अब त हामीले जान्नुपर्छ
हसियाँ हतौडा अंकित टोपी लगाएर
को बसेको छ सिँहदरबारमा ?
हाम्रो रगतलाई पेले पछि
पसिना निस्कन्छ निधारबाट
र खस्छ माटोमा
र त्यही मातोमा फलेको उखु
तिमी विहान पिउँछौ र विउझन्छौ
दिउसो पिउछौ र हिड्छौ
साझ पिउँछौ र निदाउँछौ
भन सरकार
हामीले हाम्रो रगतको मुल्य माग्न
कति नदी आशु बगाउनुपर्छ यो तिसो सडकमा
मेहेनेत र पसिनाको बाटैबाटो हिड्ने
हामी हौ उखु किसान
अब त हामीले जान्नुपर्छ
हसियाँ हतौडा अंकित कोट लगाएर
को बसेको छ सिँहदरबारमा ?
उद्योगपतिले जस्तै
चुनावमा हामीले दिन सक्दैनौ तिमीलाई पैसा
ठेकदारले जस्तै
हामीले दिन सक्दैनौ तिमीलाई कमिशन
बहुराष्ट्रिय कम्पनी जस्तै
हामीले दिन सक्दैनौँ तिमीलाई नाफाको हिस्सा
भ्रष्ट,दलाल र नाफाखोर जस्तै
हामी दिन सक्दैनौ तिम्रो लागी कुनै अमुल्य उपहार
हामी केवल दिन सक्छौ–रगत
हामी केवल दिन सक्छौ–पसिना
हामी केवल दिनसक्छौ– विश्वासको भोट
हामी भोकभोकै
तिम्रो आलिसान महल थर्कने गरी चिच्याउन सक्छौ
हामी नाङ्गो आङ
खाली खुट्टा चिसो सडकमा उभिनसक्छौ
की हाम्रो कुरा सुन
की हाम्रो छातीमा गोली ठोक भन्न सक्छौ
हामी हौ उखु किसान
अब त जान्नै पर्ने छ
किसानहरुको भण्डा हल्लाएर
किसानहरुलाई नै लुट्ने को हो ?
मजदुरहरुको नारा लगाएर
मजदुरहरुलाई नै ठग्ने को हो ?
गरिव निमुखाहरुको विचार देखाएर
गरिव किसानहरुलाई नै चुस्ने को हो ?
अब त जान्नै पर्छ
हाम्रै विश्वासको घाम ओडेर
हसिया हतौडा अंकित टोपी लगाएर
हामीलाई नै शोषण गरिरहन
को बसिरहको छ सिँहदरबारमा ?

You may also like