बैद्यका क्षेत्रीय व्यूरो सदस्य एमालेमा प्रवेशसँगै वडा अध्यक्षमा उम्मेद्वारी दर्ता

मानसिंह बिक
असार ४, रोल्पा
असार १४ गते हुने स्थानीयतहको निर्वाचनका लागि रोल्पामा स्वतन्त्र र विभिन्न पार्टी परित्याग गरी उम्मेदवारी दर्ता गर्ने क्रम बढेको छ । रोल्पा सुवर्णावती गाउँपालिका १ घोडागाउँ वडापालिकामा नेकपा–क्रान्तिकारी माओवादीका क्षेत्रीय व्यूरो सदस्य शसिराम कवर ‘संकल्प’ ले पार्टी परित्याग गरी नेकपा एमालेबाट वडा अध्यक्षमा मनोनयन गर्दा गराएका छन् । निर्वाचन कार्यालयमा पुगेर आज मनोनयन दर्ता गराएका हुन् ।
उहाँले पार्टी विभाजनपछि लामो समयसम्म क्रान्तिकारी माओवादीमा काम गर्दा पनि पार्टीले कुनै काम अगाडि बढाउन नसकेको भन्दै आफू एमालेमा प्रवेश गरेको बताउनुभएको छ । करिव १० दिन पहिले एमाले पार्टीको सदस्यता लिएर निर्वाचनको तयारी गरेको बताउनुभयो । पार्टी परित्याग र उम्मेदवारी दर्ताबारेमा उहाँले भन्नुभयो–“चुनावी सहकार्य होइन, पुरै पार्टी प्रवेश नै हो, पार्टी प्रवेश नगरी कसरी उम्मेदवारी दिन्छ र ? त्यसैले मैले पार्टी परित्याग गरी नै एमालेमा प्रवेश गरेको हुँ र अनि उम्मेदवारी दिएको हु ।”
यस विषयमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवँ रोल्पा जिल्ला इन्चार्ज कुमार शाहले शसिराम कुवरले पार्टी पुर्णरुपले परित्याग गरेर एमालेमा प्रवेश गरी गएको बताउनुभयो । उहाँलाई चुनावसम्ममात्रै पठाउनुभएको हो कि सधैका लागि हो भनेर सोधिएको जिज्ञासामा उहाँले भन्नुभयो–“क्षणिका लागि मात्रै होइन उहाँ पार्टी नै प्रवेश गर्नुभएको हो ।” पार्टी परित्याग गरेर जानेलाई कारवाही गरेर अर्थ नहुने उहाँको भनाई थियो ।
केही वर्षयता उहाँ राजनीतिकरुपमा त्यति सक्रिय नभएपनि हाल निर्वाचनमा उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा आउनुभएको छ । केही समयदेखि नेकपा एमाले घोडागाउँ पालिकामा कमजोर भएको भन्दै क्रान्तिकारी माओवादीसँग चुनावी तालमेल गर्ने गरी छलफल भएपनि क्रान्तिकारी माओवादीबाटै उम्मेदवारी दिने वातावरण नभएपछि एमालेमा प्रवेश गरेका हुन वा असार १४ गतेसम्मका लागि मात्रै हो त्यसवारे अझै रहस्यमय हुन सक्ने बताएका छन् ।

You may also like