रोल्पाको एक बिद्यालय जहाँ हेडमास्टरले खाँदैनन्, ‘दलित’ शिक्षकले छोएको

तस्बिर : प्रधानाध्यापक शिवलाल भण्डारी र शिक्षिका यामकुमारी परियार

हेडमास्टरले विद्यालयकी शिक्षिकामाथि याे वा त्याे नाममा जातीय विभेद गरिरहेका छन्।

राेल्पाकाे रुन्टीगढी गाउँपालिका–४ लिघाको बिहानी प्राथमिक विद्यालयका प्रधानाध्यापक शिवलाल भण्डारीले विद्यालयमै कार्यरत शिक्षिका यामकुमारी परियारलाई जातीय आधारमै भेदभाव र अपमान गरेको भन्दै प्रहरीकहाँ उजुरी पुगेकाे छ।

प्रधानाध्यापकले यामकुमारी दलित भएकै कारण छोएको पानी नखाएकाे, विद्यालयको शैक्षिक गतिविधिमा सामेल नगराएकाे र अरुलाई समेत विभेद गर्न उस्काउने काम गरिरहेका छन्।

प्रधानाध्यापक भण्डारीले दलित विद्यार्थीलाईसमेत विभेद गर्दै आएको शिक्षिका यामकुमारीले बताइन्। ‘स्कुलमा दलित विद्यार्थीमाथि पनि हेडसर (भण्डारी)ले विभेद गर्दै आउनुभएको छ। त्यति मात्रै होइन, मलाई अन्य शिक्षक, शिक्षिकाले नमस्कार गर्दासमेत किन नमस्कार गरेको भन्दै नमस्कार नगर्न अन्य शिक्षक, शिक्षिकलाई भन्नुभएको छ’, यामकुमारीले भनिन्।

प्रधानाध्यापकको पदमा बसेर भण्डारीले स्कुल बिदा दिनसमेत यामकुमारीलाई विभेद गर्दै आइरहेका छन्। उनले शिक्षिका यामकुमारीको नम्बर राखेका छैनन् भने फोन गरेपछि तत्कालै काटिदिन्छन्।

‘मैले उहाँ (भण्डारी) लाई फोन गरेर बिदा माग्दा फोन काट्नुहुन्छ। अरुलाई सिफारिस गरेर मात्रै म बिदामा बस्नुपर्छ। यो सबै म दमाइकी छोरी भएर हेपिनुपरेको हो।’

प्रधानाध्यापक भण्डारीले गएको माघमा सरस्वती पूजा गर्दा दलित विद्यार्थीमाथि विभेद गरेको शिक्षिका यामकुमारीले बताइन्।

‘सरस्वती पूजा गर्ने बेला पनि दलित विद्यार्थीहरूलाई छुट्याएर मलाई टिका लागाइदिन भन्नुभएको रहेछ। अरु मिसलाई र विद्यार्थीहरुलाई शिवलाल सरले नै टीका लगाइदिनुभो’, उनले भनिन्।

पीडित शिक्षिकाले दलित भएकै कारण क्षमता हुँदाहुँदै पनि चाहेको विषय पढाउन नपाएको समेत गुनासो गरिन्।

प्रअ भण्डारीले भने आफूले जातीय विषयलाई लिएर कुनै पनि किसिमको विभेद नगरेको बताएका छन्। उनले ख्याल ठट्टामा अरू कुराहरू गरे पनि जातीय हिसाबले कुनै दुर्व्यवहारको अभिव्यक्ति नदिएको दावी गरे।

भण्डारीले आफूले अपाच्य हर्कत गरेको प्रमाणित भए कानुनअनुसारको सजाए भोग्न तयार रहेको बताएका छन्। ‘मैले त्यस्तो अपाच्य हर्कत गरेको जस्तो लाग्दैन। प्रमाणित भए कानुनअनुसारको सजायको भागिदार बन्नेछु’, उनले भने।

शिक्षिका परियारले जातीय विभेद गरेको भन्दै इलाका प्रहरी कार्यालय होलेरीमा शनिबार उजुरी दिएकी छिन्।

कक्षा दशमात्रै पढेका भण्डारी ३० वर्षदेखि शिक्षण पेशमा आबद्ध छन्। यस्तै, गलत हर्कतका कारण यसअघि पनि उनलाई गाउँकै एउटा स्कुलले जागिरबाट निकालेको थियो।

गाउँलेहरूका अनुसार आफ्नो छिमेकमा पनि छुवाछुतकै व्यवहार देखाउँछन्। गाउँमा दलितहरूले छोएको नखाने, छुन पनि नदिनेजस्ता व्यवहार गर्छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त सेनले त्यसबारेमा छलफल भइरहेको बताए।

उनले केही दिन पहिले मात्रै घटनाबारे थाहा पाएको तर विद्यार्थीहरूको त्रैमासिक परीक्षा चलिरहेका कारण तत्काल एक्सन नलिएको समेत जिकीर गरे।

‘हामीले १६ गतेभन्दा पछि थाहा पाएका हौँ। २२ गतेदेखि परीक्षा हुने भएकाले परीक्षालाई असर हुन्छ भनेर राजीनामा मागेका थिएनौँ। शिक्षा दिने ठाउँमा यस्तो अराजकता देखिनु निकै दु:खद विषय हो। हामी अब उहाँ दोषी भए–नभए पनि हामीले राख्न सक्दैनौ।’

कानुनअनुसार जातीय विभेद गर्नेहरूलाई जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर एवं सजाय ऐन, २०६८ अनुसारको दफा ४ को उपदफा १ बमोजिमको कसुर हुने, तीन महिनादेखि ३ वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। त्यस्तै सार्वजनिक पद धारण गरेका कसुरदारलाई त्यो सजायको पचास प्रतिशत बढी हुन्छ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले छानविन भइरहेकोले यसमा प्रमाणित भए कानुनअनुसार सजाय दिनका लागि सघाउने बताएका छन्।

शैक्षिक प्रमाणपत्र कम भएका भण्डारीले कम तलबमा काम गर्ने भएकाले बिहानी प्राथमिक विद्यालयमा जागिर पाएका थिए। भण्डारी प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ निवासी हुन्।

You may also like