रोल्पाको विकास सन्तोषजनक भएको प्रतिक्रिया


खुविना सुनारी मगर
साउन १३ रोल्पा


रोल्पा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग ताराखोला गाउँपालिका बाग्लुङ, धुरकोट गाउँपालिका गुल्मि, झिमरुक गाउँपालिका प्युठान, माण्डवी गाउँपालिका प्युठान र सुनिल स्मृति गाउँपालिका रोल्पाका जनप्रतिनिधि र कर्मचारीहरुले भेटघाट गर्नुभएको छ । रोल्पाको भ्रमणका क्रममा आएको बाह्य जिल्लाको टोलीसँग शनिबार भेटघाट गरिएको हो ।
विभिन्न पालिकाहरुमा भेटघाट तथा भ्रमणका क्रममा आएका ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले रोल्पा नगरपालिकाको पर्यटकीय स्थल रकगार्डेन र जनयुद्ध स्मृति भ्यूटावरको अवलोकन गरेको छ । पर्यटकीय अवलोकन पश्चात भएको परिचयात्मक तथा अनुभव आदान प्रदान कार्यक्रममा विभिन्न पालिकाबाट आएका अतिथिहरुले रोल्पा नगरपालिकाको समग्र विकासको अवस्था सन्तोषजनक रहेको बताएका छन । द्वन्द्वको उद्गम थलो रोल्पाको पहिचान दिने रोल्पा नगरपालिकाको विकासको अवस्था बिस्तारै प्रगतिको पथमा गैरहेको भ्रमण टोलीको भनाई थियो । साथै जनयुद्धको बेला नमूना जिल्लाको रुपमा रहेको रोल्पालाई अझै विकास गर्न आवश्यक रहेको समेत बताएको थियो । त्यसमा साझेदारी समेत गर्न आफूहरु तयार रहेको बताएको छ ।


परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पाको समग्र अवस्थाको बारेमा जानकारी दिनुभयो । रोल्पा नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मनिराम बुढाथोकी, रोल्पा न.पा. का उपप्रमुख गीता आर्चाय, सुनिल स्मृति गा.पा.का उपाध्यक्ष मिना थापा, ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बि.क., उपाध्यक्ष भिमबहादुर रोका, धुरकोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी, झिम्रुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेल, माण्डवी गाउँपालिका उउपाध्यक्ष पूर्णप्रसाद कालाथोकी, रोल्पा न.पा.का निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक गिरी लगायतका वडा अध्यक्षहरु, कर्मचारीहरु लगायतको उपस्थितिभा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन प्रशासकीय अधिकृत सुशील थापाले गर्नुभएको थियो । भ्रमणटोलीले प्युठानका विभिन्न स्थान र रोल्पाको लुंङग्री सुनिलस्मृति गाउँपालिकाको पनि भ्रमण गरेको रोल्पा नगरपालिका प्रेस संयोजक देवी कुमारी गुरुङले बताउनुभएको छ ।
पालिकाहरुको यस्तो अन्तरपालिकाका भ्रमणले एक आपसमा आदान प्रदान हुने र सिकाई हुने समेत हुनेभएकोले यस्तो गर्न आवश्यक रहेको छ ।

You may also like