‘साँझले मलाई घर लग्दैछ’

-रोशन कोइराला

Roshan-Koirala1साँझ संगीत भएर बग्दैछ म मिथ्या रागहरु गाडीका हर्न र पसलका प्वालहरुबाट उम्लिइ आउने योजना र हारका फेहरिस्तमा सडकभरि सुन्छु, बसाईँ यहाँ भएका घर अन्तै भएकाहरु मजस्तै अस्थायी हाँस्छन् र फुस्किँदाफुस्किँदैको मनोगाँठो के लेखिराख्नु र डायरीमा ? भन्दै भोलिलाई टिपोटको एउटा बक्यौता थमाउँदै उक्लन्छन् आकासे पुलहरु, ओर्लन्छन् मोटरका पाउदानीहरु ।

यौवनका नरम डाँक्ला पत्तै नपाइ पाकिरहेछन्, थोरै गाँसमा सकिइरहेछन्, बडो नमिठो भइ नजिकको स्मृतिबाट आजतिर हेर्दैछन् एक्वेरियमभित्रका माछासरि !

औसत आयूको तन्किइरहेको पहिरनमा म कति उक्सिँदैछु मेरो वय र काया ? किट्न खोज्दैछु यात्राको मध्यविन्दु जहाँदेखि उल्टो दौडिन, हिँड्न, घस्रिन म स्वतन्त्र हुनेछु प्रयोजन सकिएको अन्तरिक्षयानजस्तो (अरु चिज यथावत् रहे ) !

जस्को नाममा भए पनि घर घरै हो । जस्को साथमा भए पनि जीवन आफ्नै हो । जीवन आफ्नै नाममा लेखूँ भन्दै हररात सपनीमा माछा भइ खोलासँग भनिरहन्छु, के भनें हरेक बिहान सम्झिने कोसिस गरिरहन्छु, हरेक साँझ यो अपूर्ण निरन्तरता सडकसँग दौडाइरहन्छु,

यसबीच निश्चित पाइलाको मूल्य लिई साँझले मलाई एक रात एक बिहानीसम्म घर लग्दैछ ।
२०७२।०८।१८

You may also like