सुनौलो सुनछहरीको लागि लिबाङदेखि पोबाङसम्म र पोबाङदेखि लिबाङसम्मको यात्रा

सुनौलो सुनछहरीको लागि लिबाङदेखि पोबाङसम्म र पोबाङदेखि लिबाङसम्मको यात्रा

स्मरण

पुर्ण बुढामगर

राेल्पा नगरपालिका ९ ह्वामा राेल्पा ।


This image has an empty alt attribute; its file name is p7-1024x462.jpg

सुनौलो सुनछहरीको लागि लिबाङदेखि पोबाङसम्म र पोबाङदेखि लिबाङसम्मको यात्रा
सुनौलो सुनछहरी डकुमेन्ट्रीका आयोजक मित्रहरूको निमन्त्रणा र डकुमेन्ट्री उद्घाटनमा सहभागी हुन जाने साथीहरूको सल्लाह र योजना अनुसार श्रावण २० गते बिहान ७ः०० बजेको घडीसँगै रोल्पाको सुन्दर सदरमुकाम लिबाङको हरियो बगैचाको स्पर्श लिँदै नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाल पत्रकार महासंघका नि.अध्यक्ष मानसिङ विश्वकर्मा, रोल्पा नगरपालिकाका प्रेस संयोजक देवी गुरुङ, गुरुङ गाउँ होमस्टेका अध्यक्ष, हरिजङ गुरुङ, हिमताल यातायात समितिका इन्चार्ज सफल बुढामगर, कलाकार तथा सञ्चारकर्मी दिपक पुनमगर लगायत मेरो आत्मिय साथीहरू शिक्षक तथा समाज सेवी नरबहादुर बुढामगर, दलबहादुर बुढामगर, अर्जुन बि.क र म दश जनाको बगाल बिहानै हिमताल यातायातको फोर्स गाडीमा यात्राको तय गर्यौँ । करीव २ घण्टाको सजिलो र रमाइलो यात्रापछि सुनिलस्मृति गाउँपालिकाको सदरमुकाम पुर्वी रोल्पाको चर्चित व्यापारिक केन्द्र सुलिचौरको रुइनिबाङमा पुग्यौं ।

This image has an empty alt attribute; its file name is p3-1024x462.jpg
This image has an empty alt attribute; its file name is p1-1024x462.jpg

साथीहरूसँग चिया खाने निधो भयो । चिया खाए लगत्तै यात्रालाई निरन्तरता दियौं । यात्राको क्रममा विभिन्न सुसाउँदै गरेका खोलानाला, कुहिरोले धाकिएका ती हरियाली वन–जंगल र टाढा टाढाका सुन्दर गाउँवस्तीहरुको अवलोकन गर्दै कठिनपूर्ण अप्ठ्यारो बाटोहरुमा जसोतसो हाम्रो यात्रा अघि बढ्यौँ । करीव एक घण्टाको अन्तरालपछि ऐना झैं देखियो स्युरी स्थित रहेको सुनछहरी झरना । अझै नजिकै बायाँतिरको अर्को मिनि सुनछहरी झरना । आहा ! अति सुन्दर । झरनाले एकछिन सबैलाई मोहित बनायो । सोही झरनालाई अवलोकन गर्दै विभिन्न कोणबाट फोटो र भिडियोहरू खिचि रहँदा कठिन यात्राको पुरै थकाइ आत्माबाटै मेटियो । त्यो तीस मिनेटको समय सुनछहरी झरनाको समिपमा कतिखेर बिटेछ थाहै भएन । गन्तव्यमा पुग्नु अझै बाँकी थियो । र, हाम्रो यात्रा निरन्तर जारी रह्यो । छोटो समय अर्थात आधा घण्टाको छोटो यात्रापछि सुनछहरी झरनाको पल्नोपट्टिमा अवस्थित रहेको रमणीय गाउँ पोबाङमा पुगियो । हाम्रो यात्राको अन्तिम बिन्दु नै पोबाङ गाउँ हो ।
केही समयको विश्रामपछि पर्यटन प्रवद्र्वन तथा गेमी होमस्टे संस्थाका अध्यक्ष पृथ्वी पुन मगर, संस्थाका सबै सदस्यहरुसँगको भेटघाट र भलाकुसारीपछि खानाको पनि व्यवस्थापन भयो र खाना खाए लगत्तै मध्यान्नको ठीक १२ः०० बजे कार्यक्रमको उद्घाटन भयो र करीव ३ः३० बजे समापन भयो भने कार्यक्रम अवधिभरिका केही पलहरु मनमस्तिष्कमा अविस्मरणीय छाप बनेर बसिरह्यो ।

This image has an empty alt attribute; its file name is p6-1024x462.jpg

सुनछहरी गाउँपालिका र रोल्पा जिल्लाको मात्रै नभएर सिङ्गो नेपालकै लागि चिनारीको रुपमा उभिएको सुनौलो सुनछहरी वृत्तचित्रले पश्चिमेली खागर खाम भाषी मगर समुदायको रैथाने जीवन शैली, वास्तविकता, इतिहासिकता, सांस्कृतिक र धार्मिक पक्षको कुरासँगै प्राकृतिक सौन्दर्यताको उत्थानका साथ दश वर्षे जनयुद्वको सिङ्गो सुनछहरीले व्योहोर्नु परेको नाफा घाटाका हिसाबकिताब लगायतका कुराहरूलाई उन्तीस मिनेटमा अटाउनु सक्नु नै एकदम ठूलो कुरा हो । जसले स्थानीय सांस्कृतिक, धार्मिक, इतिहासिक, प्राकृतिक सम्पदाहरूको संरक्षण, संवर्धन र प्रवद्र्वनमा टेवा पुराउने छ भने युद्व पर्यटन बिकासका लागि एउटा ठूलै माध्यम बनाउदँदै सिङ्गो नेपालकै नेतृत्व गर्ने छ भन्ने कुरामा म विश्वस्त छु । सुनौलो सुनछहरीमा केही सच्याउन सकिने कम्जोरीहरू बाहेक वृत्तचित्र अति उत्कृष्ट भएको छ ।
कार्यक्रम सकिए पश्चात् हामी फर्कने समयको चाप परिरहेको थियो भने साँझ उतिकै नजिकिँदै थियो । अविरल वर्षा परिरहेको थियोे भने पहिरो आउने सम्भावनाले हामीलाई त्रसित पारिरहेको थियो । तर, पनि हामीहरुले यात्रा तय गर्नु थियो । त्यति बेला आत्मीय पृथ्वी पुन दाजुले अर्नीको लागि आग्रह गर्नु भयो । उहाँको आग्रहलाई मनन् गर्दै हामीहरू खाजा पनि खायौं । त्यसपछि बेलुकाको ३ः४५ः बजे पानी परिरहेको अवस्थामा पनि हामीहरूले यात्रा सुरु गर्यौँ । वर्षासँगै झरेका ती अवरोधहरूलाई पञ्छाउँदै करीव–करीव दुई घण्टा बीस मिनेटको कठिन र निरन्तर यात्रापछि सुलिचौर आइपुग्दा पानीले निथ्रुक्क भिजेको शरीरलाई थोरै तातोको महशुस गराउन चियाको सहाराले केही समय त्यहीँ बित्यो र हाम्रो यात्रालाई निरन्तरता दिई उकालो लागियो । मिझिङ, लमपुजा, सातदोबाटोका बाटोहरूमा कुहिरो पञ्छाउदै विस्तारै बेलुकाको ०७ः०५ बजे सुन्दर लिबाङको टुडिखेलमा आइपुुगीएको थाहै भएन ।
यात्राको क्रममा साथ दिनुहुने सम्पूर्ण पत्रकार मित्रहरू, रेडियोकर्मी मित्रहरू र मेरो आत्मीय साथिहरूमा मनैदेखि आभार प्रकट गर्दै, विशेष गरि यो सुनौलो अवसर जुराइदिनु हुने पर्यटन प्रर्वद्धन तथा गेमी होमस्टे संस्था जेलबाङका अध्यक्ष पृथ्वी पुन मगर लगायत संस्थाका सदस्यहरू प्रति हार्दिक नमन तथा सलाम ! साथै सफलताको अग्रिम शुभ–कामना दिन चाहन्छु ।
धन्यवाद

You may also like