गणतन्त्र भनेको वास्तविक जनताको लागि हुनु पर्दछ


भूवन प्रकाश पुनमगर
लुंग्री ७ रोल्पा
साधारणतया गणतन्त्र भन्नाले राजा विहिन लोकतान्त्रिक शासन व्यवस्थालाई गणतन्त्र भनिन्छ । तन्त्र शब्दमा गण् उपसर्ग लागेर (गण्+तन्त्र) गणतन्त्र बनेको छ । गण भन्नाले जनता र तन्त्र भन्नाले शासन अथार्त शाब्दिक अर्थमा जनताको शासन व्यवस्थालाई नै गणतन्त्र भनिन्छ। गणतन्त्र एउटा शासन व्यवस्था मात्र नभई एउटा सस्कार, सँस्कृति, आचरण, कार्यशैली, व्यबहार हो । विडम्बना नेपाल सरकारका सबै प्रमुख हरूको सस्कार, सस्कृति, आचरण, कार्यशैली राजतन्त्रात्मक भन्दा कमि छैन । यस्तो अवस्थामा गणतन्त्र को औचित्य हुँदैन । गणतान्त्रिक शासन व्यवस्था मा जनता सर्वोपरि हुन्छन । गणतान्त्रिक शासन व्यवस्थाको सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित हुन्छ । नेपालमा गणतन्त्रको स्थापना २०६५जेठ ५ मा भएको थियो । नेपाल मा गणतान्त्रले जनताको आधारभूत सामाजिक आर्थिक जीवन अझै परिवर्तन गर्न सकेको छैन । सवै तहका शासकीय चरित्र परिवर्तन नहुँदा सम्म गणतन्त्रको अनुभुति जनताले गर्न पाउने छैनन् ।
नेपालमा गणतन्त्र को इतिहास त्यति पुरानो छैन । अझैसम्म पनि नेपालमा गणतन्त्र एउटा व्यालास्तिक परिक्षणको रुपमा रहेको भनि धेरै कुटनितिज्ञहरूले आ–आफ्नै तरिकाले दावि गर्दै आएका छन् । जसरी नेपाल एउटा गणतन्त्रात्मक राज्यमा रुपान्तरण भई सके पछि एउटा शासकीय व्यबस्थाको स्वरूप परिवर्तन भयो त्यसरी नै हरेक क्षेत्रहरूमा द्रुत गतिमा आमुल परिवर्तन हुने हो, विकासको गति कछुवाको नभई तिव्र गतिमा हुने, सामाजिक, सास्कृतिक, आर्थिक हुने हो, सामाजिक समानता, कानुनी राज्य व्यवस्था हुनुपर्ने हो तर विडम्बना नेपालमा त्यस्तो भने झै गणतन्त्र ले परिवर्तन गर्न सकेको छैन । गणतन्त्रले एकल परिवर्तनलाई कहिले स्विकार गर्न सक्दैन । गणतन्त्रले सामुहिक र सामाजिक परिवर्तनलाई मात्र स्वीकार गर्छ । गणतन्त्रको मुल औचित्य भनेकै क्षेत्रिय, लैङ्गिक, बर्गिय, जातिय, धार्मिक, साँस्कृतिक जस्ता विभेदहरुको अन्त्य गरी जनताको व्यक्तिगत र सामाजिक जीवन शैलीमा रुपान्तरण गर्न सक्नु हो । सामाजिक समानता, न्याय र संमृद्धि को शिखर चुम्नु हो ।
गणतन्त्र प्राप्तीको लागी १७००० हजार दाजुभाई, दिदिबहिनी, आमावुवाहरू अनि नेपाली जनताहरुले आफ्नो ज्यानको योगदान दिएका छन् । लाखौ घाइते अपाङ्ग भएका छन् । हजारौ अहिले सम्म पनि बेपत्ता भएका छन् । शहीदहरुको रातो रगतले कोरिएको जनयुद्धको महत्वपूर्ण एक उपलब्धि भनेको गणतन्त्र हो । शहीदहरुको सपनाको सम्मानहरु मध्ये गणतन्त्र पनि एक हो । तर निवर्तमान गणतन्त्रजस्तो होइन ।
तिमीले भने जस्तो गणतन्त्र भिख मागेर ल्याएको होइन । बयलगाडा चलाएर गणतन्त्र आएको होइन। माओवादी को नेतृत्व माभएको जनयुद्ध र दोस्रो जनआन्दोलनलको आडमा नै नेपाल मा गणतन्त्र स्थापना भएको हो ।
१४ औ गणतन्त्र दिवस मनाई रहदा पक्कै पनि हामीले सोच्न आवश्यक छ के गणतन्त्र भनेको आजको अवस्था नै गणतन्त्र हो त ? भनेर । आत्मामुल्याङ्कन गर्न आवश्यक छ । गणतन्त्र को मुख्य विरोधीहरू, गणतान्त्रिक आन्दोलनको मुख्य दुश्मनहरुले नै अहिले गणतन्त्र हाकिरहदा के गणतन्त्र राम्रो हुन्छ त ? जनयुद्ध लाई वयलगाडा चढेर अमेरिका पुग्न सकिदैंन भन्नेहरूले अहिले गणतान्त्रिक शासन व्यवस्थको प्रमुख भईरहँदा के गणतन्त्र विकशित हुन सक्छ त ? संघियता विरोधीहरु अहिले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रमुख रहिरहदा के राम्रो होला?
अहिलेको दुई दुई पटक सम्म संसद बिघटन गर्नु भनेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था को दुश्मन हरूले अहिले को संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालाई समाप्त पार्ने एक कदम हो । अहिले सम्मकै गणतन्त्र प्रतिको सबैभन्दा ठूलो प्रहार भनेकै संसद बिघटन हो । केपी ओली सत्तामा आउने वित्तिकै राजावादी शक्तिहरु चलबलाउने, गणतन्त्रको बिकल्प खोजिरहने शक्तिहरुको उदय हुने भनेको एकापट्टि स्याल कराउनु अर्को पति कुखुरा हराउनु जस्तै हो । केपी ओली पनि अहिलेको व्यवस्थाको बिरुद्धमा लागिरहेका छन् । सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिगामी शक्तिहरु मिलेर अहिलेको व्यवस्थाको बिकल्पमा लागिरहेका छन् । केपी ओलीको राष्ट्रिघाति कदमहरुको विरुद्ध सबै शिक्षित वर्गहरू, जुझारु युवाहरू, देशको भविष्यका कर्णधारहरु, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षधरहरु, राष्ट्रियता स्वाभिमानी सबै नेपालीहरु, कानुनी राज्यको पक्षधरहरु, न्यायप्रेमी सबैजनताहरू गाउँ गाउँ देखि बस्ति बस्ति देखि सहर देखि सबै उठ्नुपर्छ, जुत्नुपर्छ । अव अन्तिम पटक युद्ध गर्नै पर्छ ।
गणतन्त्रको बिकल्प पहिले कै राजतन्त्र हुन सक्दैन। विश्वको इतिहासमा धेरै देशहरूमा गणतन्त्र आएपछि फेरी राजतन्त्र पुनःस्थापना भएको इतिहास पनि जिवित नै छ । राजतन्त्र गणतन्त्रको विकल्प कहिले हुन सक्ने छैन । एकमात्र गणतन्त्रको विकल्प भनेको गणतान्त्रको उन्नत रुप जनवादी गणतन्त्र हो। जनवादी गणतन्त्र भनेकै समाजवादी व्यवस्थाको आधार हो । जसकारण अहिले गणतान्त्रको पक्षमा देखिएका नराम्रो पक्षहरुलाई समयमै सुधार गरेर, परिमार्जित गरेर, गणतन्त्रलाई सस्थागत गरेर जनवादी गणतन्त्रको यात्रा गर्न आवश्यक छ । अहिलेको प्रतिगामी शक्तिहरुको प्रहार भनेको संसद बिघटन मात्र नभई सिङ्गो जनयुद्धको उपलब्धिहरु माथिको प्रहार हो । सिङ्गो माओवादी शक्तिहरु माथिको आक्रमण हो । क्रान्तिको उपलब्धिहरुलाई बचाउन, सस्थागत गर्न, परिमार्जित गरेर सुधार गर्न अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षधर शक्तिहरुको एकता नै राष्ट्रिय आवश्यकता हो। गणतन्त्रको मर्म र भावनाहरु माथि खेलबाड गर्ने कुनै पनि शक्तिहरु विरूद्धमा प्रतिकार गर्ने दिन आएको छ । अन्त्यमा १४औं गणतन्त्र दिवसको अवसरमा सबैलाई सुभकामनाका साथै गणतन्त्र प्राप्तीको लागी सहादत प्राप्त गर्नुभएका शहिदहरु प्रति स्रद्धासुमन व्यक्त गर्दछु र सबै बेपत्ता, घाइते, अपाङ्गहरुप्रति उच्च सम्मान गर्दछु ।

You may also like