सुचारु नहुने मौन बस्ने जंकोट टेलिकमकाे टावरः विनाेड डाँगी

सुचारु नहुने मौन बस्ने जंकोट टेलिकमकाे टावर सुचारु नहुने मौन बस्ने जंकोट टेलिकमकाे टावरः विनाेड डाँगी

This image has an empty alt attribute; its file name is bi-1024x768.jpg

विनाेद डाँगी
रोल्पा नगरपालिका–२ थलिबाङ रोल्पा ।

वर्षौ भएछ लेखहरु नलेखेको पनि । व्यस्तताले पनि लेख्न भ्याइएन धेरै समय । अनि कहिले लेख्छुभन्दा पनि के बारेमा लेख्ने भनेर दोधारमै । ५÷६ पटक त लेख्दा–लेख्दै छोडेका केही लेखहरु अझै ल्यापटमा वचत भएका छन् । कहिलेकाही लेख सकाउँदा ढिलो हुन्छ अनि लेख बासि भएपछि ह्या बासि पनि के छाप्नु भनेर आफैलाई टारिदिए । निकै अल्छी भइएछ । तर, लकडाउनले भने होइन । यसपालि अलिक फरक रह्यो । पुरानो कार्य क्षेत्र छोडेर माडिचौरमा रहेको एनएमबि बैकंमा आवद्ध भएको पनि ४ महिना पुग्न आटेछ । पहिलो पटक घर बाहिर कोठा लिएर बस्ने निधो गरियो । कोठा लिएर बस्न थालेको लगभग ३ महिना भयो । माडिचौरमा सबै सुविधा छ । पानि सँधैभरि, विजुली र पंखा पनि (यता अलिक गर्मी नै हुन्छ आजकाल) । सबै चिजको पुर्ति हुँदा पनि यता एक चिजको भने वर्षौंदेखि अभाव छ ।
रोल्पा नगरपालिका–८ उपल्लो जंकोटको सिरसिर हावा चल्ने डाँडा । बसेर हावा खादै बात मार्न बडो गज्जब ठाउँ छ । छेउमै मगर संग्राहलय निर्माणको अन्तिम चरणमा छ । अनि सँगै रहेको नेपाल टेलिकमको टावर अन्तिम भएर पनि सुचारु भएको छैन । माडिचौर आएदेखि अफिसभित्र हँुदा मैले मोवाइलमा टावरको सिग्नल अहिलेसम्म देख्न पाएको छैन । सायद बाहिर पनि फाट्टफुट्ट नदेख्ने हो भने टावरको संकेत कस्तो हुन्छ मैले भुल्छु होला । धन्न बाहिर अलि–अलि काम गर्छ । अनि शुक्रबार, शनिबार घरमा हँुदा टन्न । आएको दिन नै टावरको यो अवस्था बारे बुझ्दा दुःख लाग्नु स्वभाविक हो । अझ दुःख लाग्नु त यहाँको जनताले सञ्चारको राम्रोसँग उपभोग गर्न नपाउनुको पनि हो । जंकोटको टावरले काम गर्ने हो भने नजिकैका धेरै ठाउँहरुमा नेटवर्क राम्रोसँग उपलब्धता गराउँछ । अफिस हाजिर भएदेखि म धेरै पटक कामले नगरपालिका– ६ र ७ नं वडाका ठाउँहरुमा घुम्ने मौका पाएँ । सबैजसो ठाउँमा नेटवर्कको सिग्नलको दशा माडिचौर झै छ । उनीहरुको आशा भने अझै मरेको छैन । सोध्छन् (त्यो जंकोटको टावर कहिले बन्ला र सजिलो होला ? सर हजुरलाई त जानकारि होला नि ? म मुसुक्क हासेर जवाफ दिन्छु छिटै हुन्छ रे ?
फेरी अद्भुत त यहानेर छ कि माडिचौरमा प्रमुख सडक क्षेत्र र खोला वारी कोटगाउसँग जोडिएको सटेको भू–भागमा नेटवर्क हल्का टिप्छ जे होस् हलो भन्दा लो वा ह चाहि मज्जाले सुनिन्छ । फोर जि आदिको सपना आक्कल झुक्कल नदेखे पनि हुन्छ । खोला पारिको भू–भाग सालघारी क्षेत्रतिर भने नेटवर्क ठिकै टिप्छ । तर, पुर्ण भने होइन । सदरमुकामबाट माडिचौर क्षेत्र करीव १३ किलोमिटर रहेको छ ।
आखिर टावरको समस्या के हो त ? मैले धेरै त बुझेन त जति बुझे त्यो चाहि यहाँ लेख्न चाहँे । म आएको केही दिनमै मैले नगर प्रमुख, नगर उप प्रमुख, वडा अध्यक्षहरु, रोल्पा टेलिकम प्रमुख, तुल्सिपुर टेलिकम अफिसका इन्जिनियरहरुसँग यस बारेमा कुरा गरेको थिएँ । केहि दिन अगाडि समेत कुरा भएको छ, यो बारेमा । जनप्रतिनिधीहरुको एउटै स्वर थियो । पटक–पटक दबाब दिएका छौं । अब केहि दिनमै माथिबाट नेपाल टेलिकमको टोलि आएर टावर छोड्न मात्र बाँकी छ । जनप्रतिनिधिको काम दबाब दिने, सहजिकरण गर्ने नै हो । उहाँहरु पनि आफै आजित हुुनुहुँदो रहेछ भन्दाभन्दा । पटक–पटकभन्दा दबाब दिँदा पनि किन टोलि आउँदैन ? सञ्चार जस्तो सम्वेदनशिलताबाट बञ्चित भएका जनताको भलाईको लागि सोच्नु पर्दैन र ? केहि समय अगाडि उर्जा मन्त्री वर्षमान पुन ज्यू माडिचौर आउँदा भलाकुसारी गर्ने अवसर पाएको थिएँ । उहाँसँग त यो बारेमा कुरा भएन । तर उहाँका स्वकिय सचिव जीवन रोकामगरलाई मैले टावरको बारेमा कुरा राखेको थिएँ । उहाँको पनि त्यहि जवाफ थियो । पटक–पटक भनी राखेका छौं । आउछु भन्नु भएको छ । सायद अब छिट्टै सञ्चालनमा आउला । यसो सोचे आउँछन् होला नि छिट्टै । नआए पनि के गर्नु सरकारी कर्मचारी हुन् । लोक सेवा लडेर गएका न हान्नु न झपार्नु । नगरको टिम टेलिकमको प्रदेश कार्यालयमा पनि गएर यस बारेमा जानकारी गराएको रहेछ । सायद त्यता पनि छिट्टै हुन्छ भन्ने जबाफ आयो होला । टेलिकमको यो जिम्मेवार निकायलाई एक दिन एक मिनेट मात्र भए नि यो क्षेत्रमा बसेर जान अनुरोध गर्दछु । साच्चि टावर कहिले सुचारु होला ? यसो हेर्दा टेलिकमकै दोष देखियो नि हैन ?
यो त उदाहरणीय पात्र मात्र हो । यस्ता समस्या देशका दुर दराजमा कति छन् कति ? म यो ठाउँमै भएकोले मात्र अनुभव गरेको हुँ । तपाईलाई थाहा छ । रोल्पा जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय रोल्पाहरु रेउघामा पर्छन् । जुन ठाउँ नगरपालिका–२ मा हो । अस्पतालका कुनै कोठामा त अहिलेसम्म पनि टावर टिप्दैन । फोर जि, थ्रि जिको कुरा छोड्नुस् ? ल्याण्ड लाइनको त कुरै नगरौं निश्चित् ग्राहक पुगेपछि मात्र तानिन्छ । लिबाङको केही भू–भागमा त टावरले राम्रोसँग काम नै गर्दैन । म वडा नं २ कै बासिन्दा हुँ ।
असोज १५ गते बिहानै फेस बुकमा यहि बारेमा स्टाटस लेखँे । धेरैले जंकोट क्षेत्र मात्र नभई जिल्लाका धेरै ठाउँमा टावर मात्र ठडिएको कमेन्ट गर्नुभयो । थाहा त थियो लाग्नु पर्ने त हैन । तर, अचम्म लाग्यो, नेपाल टेलिकमले टावर ठडाउन मात्र बनाउँछ कि चलाउन पनि ? ठडाउन मात्र बनाएको भए बरु निकालेर कवाडिलाई बेचांै कमसेकम पैसा आउँछ अन्त लगानि गरांै । टावरको ठाउँमा शालिक, मन्दिर बनाऊ कमसेकम मान्छेले आदर सम्मान त गर्छन् । चल्दै नचल्ने ठिगं उभिएको टावरको के काम न चल्छ न बोल्न सहज बनाउँछ । त्यो चिजको महत्व ज्यादा हुन्छ, जसले सेवा पनि दिन्छ । न सेवा दिने न त मेवा ? के काम रह्यो र जंकोट र यि जस्तै ठडिएका नेपाल भरका टावरको ? स्टाटस राखेकै दिन फेस बुकमा नेपाल टेलिकमको आधिकारिक पेजमा म्यासेज गरेँ । म्यासेज हेरियो रिप्लाई आएन । ट्विटमा हेलो सरकारमा गुनासो पोखँे । तुरुन्त मेरो नम्बर मागियो । कल आउँछ कि भनेर मोवाइल झ्यालनेर राखे टावर अलिक गतिलो आउँछ भनी । तर, कल आएन टावर २ धरका देखायो । नोटिफिकेशन चाहि आयो कि गुनासो दर्ता गरिएको छ भनेर । स्टाटसमै रोल्पा नगरपालिका प्रमुख ज्युको कमेन्ट पनि आएछ । उहाँका अुनसार ताजा कुराकानीमा दशैभन्दा अगाडि सञ्चालनमा ल्याउने योजना रहेछ टेलिकमको । सायद दशैं बोनस् सहित होला ।
नेपाल टेलिकमलाई अनुरोध । साच्ची के ले रोकेको छ प्रभावकारि सेवा प्रवाह गर्न ? कि घुम्ने कुर्सि छोड्न मन लाग्दैन ? मलाई त त्यो कुर्सि देख्दा नि दिक्क लाग्छ आजकाल अफिसमा । कति दिन दिनै बस्नु लडिबुडि खेल्नु । तर, पनि बाध्यता जो छ । कुर्सिमै बसेर काम गर्नुपर्छ । कहिलेकाहि फिल्ड पनि निस्कनु पर्छ । तर, कुर्सि बोकेर जान पाइदैन । मतलव एक पटक जनताको सेवा गर्न दौडिनुस् न ? हाम्रो पसिनाको मेहनतले पालिएको हैन र तपाईहरु ? संविधानले नै प्रष्ट गरेको आधारभूत आवश्यकताबाट बञ्चित गराउन कति जागरुक बन्नु भएको ? आफ्नै काम गर्न पनि माथिबाट नै भनसुन गराउनु पर्छ र ? तपाईहरुको काम बैकंमा पैसा गन्ने, बाटो खन्ने, जग्गा नाप्ने, पढाउने, मार्केटिङ आदि गर्ने त हैन नि ? त्यहि कामको लागि जागिर दिएको छ भने के मा कन्जुस्याईँ ? एक पटक तपाईका अफिसहरु जहाँ टावर टिप्दैनन् नि हो ति दुर दराजमा लगेर राख्नुस् अनि महशुस गर्नुस् पीडा के हो भनेर । एनसेललाई विप्लव समूहको डर छ साच्ची तपाईहरुलाई के को डर छ ?
लेख्न मन त थिएन । तर, केहि कुराहरु मनमा गुम्साउँदा बडो नमज्जा हुँदो रहेछ । बाध्यताले जसोतसो लेखियो । केहि त्यस्ता सम्बन्धित निकायलाई लेखिएका कुरामा चित्त दुखेको भए नेटवर्क गज्जब चलेपछि फिर्ता ल्याउला । यति भनि रहँदा ह्वामामा रहेको मेरो भाडाको कोठाबाट देखिने एनसेलको टावरले मलाई त केही भनेन् भनेर मुस्कुराइरहेको होला किनकी उसको दशा पनि वर्षौैंबाट यस्तै छ । जय होस् सबैको ।

You may also like