कला र साहित्यले देश समाजलाई चिनाउँछः पुर्ण बहादुर भण्डारी
पुर्ण बहादुर भण्डारी
हाल लिबाङ, रोल्पा ।
साहित्य, कला, संस्कृतिको आफ्नै मौलिकता र पहिचान हुन्छ । कुनै पनि स्थान वा ठाउँको त्यो सामाजिक परिवेश होस् वा अरु कुनै भनौं । समग्र देशको भौगोलिकताको अन्तर वस्तुहरुलाई अथक मिहेनत गर्दै बाहिर ल्याउने चिनाउने जस्तो कार्य आफैमा निकै चुनौतिपूर्ण कार्य हो । त्यो कार्य पूरा गर्दै सार्वजनिक रुपमा सबैलाई बुझाउन र चिनाउन सक्ने गरी बाहिर ल्याउन पनि कला सीप अनि क्षमता चाहिन्छ । त्यही कला, सीप र क्षमता भएर पनि बाहिरी सतहसम्म आउन सकिरहेका हुँदैनन् दुर्भाग्य त्यही हो सम्मान दिन र हुन नसक्नु । इतिहास जतिसुकै पुरानो हुँदै किन नजाओस् भुल्नु हुँदैन् । गर्व गरेर सम्मानका साथ भन्न सक्नु पर्छ कि कलाकार अरनिको, आदि कवि भानुभक्त आचार्य, महा कवि लक्ष्मी प्रसाद देवकोटा, शताब्दी पुरुष राष्ट्र कवि माधव घिमिरे जस्ता होनहार सर्जकहरुलाई आज हामी सम्झिन सक्छांै । हामीले यो पनि बुझ्नुपर्छ कि उहाँहरुलाई साहित्य जगतमा सारा जीवनका उतारचढावसँग आफ्नो जन्मभूमीलाई संसार सामु चिनाउन त्यो पनि साहित्यको माध्यमबाट भने जस्तो त्यति सजिलो थिएन होला । उहाँहरुका ती सृजनशिल हात अनि विशाल, अदृश्य, सुक्ष्म अध्ययन चिन्तन मनन गर्न सक्ने त्यही क्षमताकै कारण आज विश्वमा हामी नेपाली भनेर पहिचान दिन सकेका छांै यो सानो कुरा होइन । एक पटक गहिराईमा पुगेर सोंच्ने गरांै कि हरेक मानिसहरुमा सृजनाका अदृश्य खानीहरु लुकेका हुन्छन् । तर, आर्थिक, सामाजिक, पारिवारिक, समन्वय लगायतका विभिन्न बाध्यताहरुकै कारणले प्रस्फुटन हुने ती सृजनाहरु, प्रतिभाहरु बाहिर आउन सकेका हुँदैनन् । यस्तो अवस्थामा आफूसँग केही गर्न सक्ने क्षमता नभए पनि राम्रो काम गर्नेलाई हौसला, प्रेरणा, साथ र सहयोगी हात दिनु पनि जीवनको एउटा असल काम हो सफलता हो जस्तो लाग्छ । मानवीय जीवनशैलीमा कसैको बोलिरहेको एक शब्द पनि उसका लागी भविष्यको मार्गदर्शक बन्न सक्छ, बनिरहेको हुन्छ । यदी उसले सकारात्मक सोंच लिएर अगाडि बढ्न चाहन्छ भने । हाम्रो जस्तो मुलुकको कुना कन्दरा, दुर दराजमा रहेका हरेक मानिसहरुमा विभिन्न तरिकाले समाज परिवर्तन गर्ने केही न केही सकारात्मक उद्वेश्य लिएर हिड्न सक्ने सर्जक, श्रष्टाहरु थुप्रै छन् । दुर्भाग्य भनौं वा अरु केही क्षमता भएर पनि बाहिरी सतहसम्म सार्वजनिक रुपमै आउन नसक्नु विभिन्न बाध्यता विवशताहरु छन् । सर्जक श्रष्टाहरु बाहिर आउन नसक्नु थुप्रै कारणहरु होलान्, हुन सक्छन् । मलाई लाग्छ हरेक नागरिकहरुको दुःख सुख अनि उतारचढावमा अहम भूमिका खेल्ने सक्षम बनाउने त्यो जिम्मेवारी राज्यको हो भने राज्यप्रति जिम्मेवार बन्नु आम नागरिक दायित्व हो । आफ्नो देशका नागरिकहरुलाई समय परिवेश अवस्था अनुकुल परिवर्तन गराउँदै लैजानु राज्यको काम हो । अनर्थ नलागोस् राज्यले उनीहरुलाई सहभागि हुने र गराउने खालका प्रतिभाहरुको खोजी गर्न नसक्नु, शक्ति, आड र पहुँचको भरमा मात्र स्थान दिनु विभेद गर्नु पनि एउटा कारण हो जस्तो लाग्छ । किनकि सफलताको नजिकसम्म पुगेका समाजसँगै समग्र देशलाई चिनाउने अथक मिहेनती, होनहार आस लाग्दा सर्जकहरुले बीचमै असफल भएर फर्किनु परेको ताजा दिनहरु हामी आफ्नै समाजमा देखिरहेका छांै चाहे सांगेतिक क्षेत्रमा होस्, चाहे साहित्यिक क्षेत्रमा होस् वा अरु कुनै विधामा होस् । क्षमताको प्रदर्शन प्रतिस्पर्धात्मक हुनुपर्छ । तर, मूल्याङ्कन निष्पक्ष हुनुपर्छ भन्ने आसा सबैको हुन्छ । अर्को कारण आर्थिक रुपमा उस्लाई आफ्नो दैनिकी जीवन चलाउन सक्ने अबस्था नहुनु, सामाजिक रुपमा उस्को उद्वेश्यप्रती सकारात्मक सोंच नभई दिनु, पारिवारिक रुपमा जति हुनुपर्ने हो त्यो साथ, सहयोग र हौसला नभई दिनु र व्यावहारिक रुपमा उ आफै पनि सक्षम हुन नसक्नु पनि मुख्य कारण हो जस्तो लाग्छ । जे होस् क्षमता भएर पनि मौका अवसर नपाएका कुना कन्दरामा लुकेर बसिरहेका साहित्यिक श्रष्टाहरुको सम्मान गर्न सक्नुपर्छ । चिन्तन मनन गर्ने समाजप्रेमी देशप्रेमी सर्जकहरुको कला र सृजनालाई बाहिर ल्याई उजागर गर्न सक्नु आवश्यकतासँगै सफलता हो भन्ने कुरा राज्यले भुल्नु हुँदैन भने कला साहित्य सृजनाहरुलाई संरक्षण एवम् सम्मान गर्ने जुन मौका अवसर स्थान राज्यले दिएको हुन्छ त्यसलाई सदुपयोग गर्न नजान्ने, अनावश्यक टीका टिप्पणी र आलोचनासँगै दोष मात्रै थुपार्ने काम हामी जस्ता साहित्यक सर्जकहरुबाट हुनु हुँदैन भन्ने कुरा सोंच्नु पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन जान्छ । हाम्रो पहिचान के हो ? हामी कुन परिवेशमा हुर्किरहेका छौं ? हाम्रो संस्कार कस्तो छ ? हाम्रो धर्म संस्कृति र रीतिरिवाजले अन्तराष्ट्रिय जगतमा कुन खालको प्रभाव देखाईरहेको छ भन्ने जस्ता कुराहरु स्वतः जोडिएर आएका हुन्छन् । हरेक ठाउँको हरेक परिवेशलाई जस्ताको त्यस्तै परिभाषित गरेर समाज, देश र समग्र साहित्य जगतलाई जोगाई राख्नका लागी क्षमतावान प्रतिभाशाली सर्जक श्रष्टाहरुलाई सम्मान दिन सके कला र साहित्य माध्यमबाट राष्ट्रलाई अतुलनीय योगदान पुग्ने देखिन्छ ।