स्थानीय जनताको सहभागिताको विकास मात्रै दीगो हुन्छः जिल्ला समन्वय इकाई, जिल्ला आयोजना संयोजक राम बालक यादव


This image has an empty alt attribute; its file name is ram-1.jpg

रोल्पा जिल्लामा संघीय सरकार नेपाल, वन तथा वातावरण मन्त्रालयबाट पहाडी साना किसानका लागि अनुकुलन आयोजना यस जिल्लाको सात ओटा स्थानीयतहको ३० ओटा वडाहरुमा सञ्चालन छ । आयोजनाले जलवायु परिवर्तनका असरबाट अनुकुलित सम्बन्धि विभिन्न ५ क्षेत्रमा कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलस्रोत तथा उर्जा, भौतिक पूर्वाधार, जलवायु जन्य प्रकोपसँग सम्बन्धि क्रियाकलाप गर्दै आएको छ । साथै आयोजना सञ्चालित ठाउँका किसानहरुलाई व्यवसायिक सम्बन्धि व्यवहारिक तथा सैद्वान्तिक ज्ञान प्राप्तमा सहज बनेको छ । ति ज्ञान सीपको प्रयोगबाट धेरै कृषकहरु व्यवसाय सञ्चालन गर्दै आएका छन् । पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला आयोजना समन्वय इकाई, रोल्पा संयोजक राम बालक यादवसँग सञ्चालित आयोजना सहित अन्य विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
 धन्यवाद
 हजुरको परिचय बताइदिनुहोस्, न ?
 म राम बालक यादव, पहाडी साना किसानका लागि अनुकुलन आयोजना, जिल्ला आयोजना समन्वय इकाई, रोल्पामा जिल्ला आयोजना संयोजकको रुपमा कार्यरत छु ।
 आजभोली कुन कार्यमा व्यस्तु हुनुहुन्छ ?
 हिजो आज, रोल्पाका विभिन्न वडाहरुबाट माग भई आएका जलवायु अनुकुलनका विभिन्न क्रियाकलापहरुको बारेमा यस आयोजनाका विषयगत विज्ञहरु सहितका कर्मचारीहरुसँग छलफल गरि कार्यन्वयनमा लैजान अन्तिम प्रयास तथा सम्बन्धित गाउँपालिका÷नगरपालिकासँग सहकार्य र समन्वय गर्ने कार्यमा व्यवस्त छु ।
 पहाडी साना किसानका लागि अनुकूलन आयोजना कहिलेदेखि यस जिल्लामा सञ्चालित भएको हो ?
 यो आयोजना आर्थिक वर्ष २०७३÷७४ देखि यस जिल्लामा सञ्चालित छ । तर, पहिलो वर्ष कार्यालय स्थापना र जनशक्ति व्यवस्थापनमा सीमित रह्यो । दोस्रो वर्षदेखि स्थानीय अनुकुलन कार्य योजना कार्यन्वयनमा छ ।
 यो परियोजना यस जिल्लाको कुन–कुन स्थनीयतहमा सञ्चालित छ ?
 यस आयोजना रोल्पा जिल्लाको ७ ओटा स्थानीयतहहरु सुनिलस्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका, त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका अन्तर्गत ३० ओटा वडाहरुमा जलवायु अनुकुलानका क्रियाकलापहरु सञ्चालन गर्न अनुदान उपलब्ध गराउँदै आएको छ ।
 यस आयोजनाले कुन–कुन क्षेत्रमा काम गर्दै आएको छ ?
 यस आयोजनाले रोल्पा जिल्लाको ७ स्थानीयतहको ३० ओटा वडाहरुमा स्थानीय अनुकुलन कार्य योजना कार्यान्वयन गर्दै आएको छ । यस परियोजनाले जलवायु परिवर्तनका असरबाट अनुकुलित हुन् विभिन्न ५ क्षेत्रमा कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलस्रोत तथा उर्जा, भौतिक पूर्वाधार, जलवायु जन्य प्रकोप आदि काम गर्दै आएको छ ।
 हालसम्म आयोजनाबाट उपलब्धिहरु बताइदिनुहोस्, न ?
 आयोजनाले आफ्नो लक्ष्य अनुसार लापा कार्यान्वयनमा जोड दिँदै निकै सफलता प्राप्त गरेको छ । जस्तै– जलवायु परिवर्तनको जोखिममा परेका करीव ५ हजार ५४१ घरधुरी लाभान्दित भएका छन् भने अर्को तिर स्थानीय स्तरमा करीव ६७ जना अगुवा कृषक उत्पादन गरेर आय आर्जनमा वृद्धि गरि लाभ प्राप्त गरेका छन् । साथै करीव ७०० हेक्टर जमिन व्यवस्थापन गर्न सफल भएका छन् भने अर्को तिर बाढिपहिरो रोकथाम गर्न सफलता प्राप्त गरेको देखिन्छ ।
 आयोजना सञ्चालनमा वजेटको व्यवस्थापन कसरी हुँदै आएको छ ?
 आयोजना सञ्चालन गर्दा हरेक वडाको लागि तयार लापा अनुसार योजना अवधिमा रु ८९ लाख अनुदान प्रदान गर्ने लक्ष्य राखेको छ । यसले सम्बन्धित वडाको सिफारिसमा किसानहरुको समूह (लापा समुह) लाई अधिकारिक खाता मार्फत अनुदान उपलब्ध गराउँदै आएको छ । सोही प्रक्रिया जारी रहने छ ।
आयोजनाबाट हालसम्म कति रकम खर्च भएको छ ?
 यो आयोजना विगत ६ वर्षदेखि सञ्चालनमा आए पनि रोल्पामा दोस्रो वर्षदेखि सञ्चालनमा आएको हो । जसमा शुरुमा अफिस स्थापना र कर्मचारी पदपूर्ति भई आर्थिक वर्ष २०७४÷७५ देखि कार्यन्वयनमा आएको हो । अहिलेसम्म साना किसानले पाउने अनुदान करीव रु १४.५ करोड खर्च भई सकेको छ ।

This image has an empty alt attribute; its file name is ram-1.jpg

 खर्च अनुसार उपलब्धि किन कम भयो ?
 खर्च अनुसार उपलब्धि राम्रो भएको छ । जलवायु परिवर्तनकै क्रममा विकासका कार्यहरु (संख्यात्मक र गुणात्मक) सम्पन्न भई संकटा साना किसानहरु सन्तुष्टि व्यक्त गरेको पाइन्छ ।
आयोजना सञ्चालन स्थानीयतहरु उत्पादनको दृष्टिकोणले कृषिको सम्भावना कस्तो छ ?
 आयोजना सञ्चालन भएका स्थानीयतहहरुमा व्यावसायिक उत्पादनतर्फ किसानहरु अघि बढी सकेका छन् । कतिपय अगुवा किसानहरुले तरकारी उत्पादन गरेर बजार मार्फत निकै आम्दानी गरेर समृद्धतर्फ उन्मुख भएका छन् । जस्तै– सुनिलस्मृति गाउँपापिलका–५ र ६ तथा रोल्पा नगरपालिकाका किसानहरु तरकारीको व्यवसायीकरणका नमूना हुन् । अन्य स्थानीयतहहरु कृषि उत्पादनमा सरिक भई कृषि वन प्रणालीमा समेत सहभागी भई सफलता प्राप्तितर्फ उन्मुख छन् ।
ति क्षेत्रहरुमा अहिले कति जना कृषकहरुले व्यवसायि पेशा सुरुवात गरेका छन् ?
 रोल्पाको ३० ओटा वडामध्ये ६७ जना अगुवा कृषकहरु तालिम प्राप्त भई कृषि उत्पादनमा लागेका छन् । जसमध्ये व्यवसायिक उत्पादनको लागि ति कृषकहरुको सम्बन्धित गाउँपालिकासँग समन्वय गरि केहिले व्यवसायिक उत्पादन शुरुवात गरि सकेका छन् ।
 ति स्थानीयतहरुमा उत्पादनको अवस्था के छ ?
 अगुवा किसानको सहयोग र प्रशिक्षणमा अन्य किसानहरुले कृषि उत्पादनमा वृद्धि गरेका छन् र आगामी दिनमा उत्पादनलाई सहकारी मार्फत जिल्ला बाहिर ठूला–ठूला बजारसम्म पु¥याउने लक्ष्य भएको किसानहरु बताउछन् ।
 उत्पादित कृषि जन्य पदार्थको बजारिकरणको व्यवस्था के छ ?
 उत्पादन भएका कृषि उपजहरुलाई बजारसँग जोड्न सहकारीको सहारा लिने प्रयास गाउँपालिका मार्फत हुँदै छ ।
 कोभिड लक्षित नयाँ कार्यक्रम पनि छन्, कि ?
 विगतका दिनमा स्थानीय अनुकुलन कार्य योजनामा आधारित भएर कार्यक्रमहरु कार्यान्वयन हँुदै आईरहेको भएपनि वर्तमान परिप्रेक्ष्यमा कोभिड–१९ लक्षित कार्यक्रम पनि थपिएका छन् । जसमा लक्षित समूहका किसानहरुलाई ६५ ओटा बोयर बोका वितरण गर्ने योजना छ ।
 आयोजना प्रभावकारीम कार्यन्वयका लागि कुन–कुन निकायसँग समन्वय सहकार्य गर्दै आउनुभएको छ ?
 आयोजना प्रभावकारी रुपमा कार्यान्वयन गराउन विभिन्न सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सहकार्य जारी रहन्छ । यसमा समन्वय गरिएका पक्षहरुमा सम्बन्धित वडा तथा स्थानीयतहरुसँग अधिकतम समन्वय र सहकार्य भएका छन् भने अन्य सरकारी निकायहरु जस्तै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय, सुरक्षा निकाय लगायत विभिन्न गैर सरकारी संघ संस्थाहरुसँग समन्वयमा परियोजना कार्यान्वय भईरहेका छ । यो जलवायु अनुकुलन वहु आयामिक विषय भएकोले साना किसानको अनुकुलित क्षमता बढाउन विभिन्न पक्षहरुसँग समन्वय र सहकार्य अपरिहार्य देखिन्छ ।
आयोजनाको अनुगमनका लागि निकायलाई समावेश गरी अनुगमन गर्नुभएको छ ?
 आयोजनाको अनुदानमा सञ्चालित अनुकुलन क्रियाकलापहरुको सफलताको लागि अनुगमन निरीक्षण एकदमै महत्वपूर्ण विषय हुन् । अनुगमन विभिन्न चरणमा विभिन्न निकायबाट हुने गरेका छन् । यसका लागि सम्बन्धित उपभोक्ता समिति सहित वडाको अगुवाइमा, गाउँपलिका, जिल्ला स्थित सरोकारवाला विषयगत कार्यालयहरु, जिल्ला तथा आयोजना समन्वय इकाई, मन्त्रालय स्तरीय प्रतिनिधि, दात्री निकाय, पत्रकार आदि मार्फत अनुगमन भई अनुकुलन क्रियाकलापको सफलतामा योगदान प¥याएको छ ।
कृषकहरुले व्यवसायी सञ्चालका लागि अपुग रकम उपलब्ध भएको भन्ने गुनासो छ, नि ?
 यस आयोजनाबाट किसानहरुलाई दिने अनुदान स्थानीय अनुकुलन कार्य योजनामा उल्लेखित क्रियाकलापहरु कार्यान्वयनको लागि संकटा सन् किसानलाई जलवायु अनुकुलित सामुदायिक पूर्वाधार निर्माण, भू व्यवस्थापन सञ्चालनका लागि सहयोग अनुदान र आयआर्जनतर्फ घर धुरीलाई दिने गरि दुई थरिको अनुदान उपलब्ध हुने गरेका छन् । यसमा घरधुरीलाई दिने अनुदानमा ३० प्रतिशत किसानको श्रमदान र ७० प्रतिशत आयोजनाको अनुदानमा जम्मा लागत रु २० हजार र सामुदायिक पूर्वाधारतर्फ २० प्रतिशत श्रमदान र ८० प्रतिशत आयोजनाको अनुदान मार्फत अनुकुलन क्रियाकलापहरु सञ्चालित छन् । आयोजनाको उद्वेश्य पनि सम्पन्न हुने क्रियाकलापमा किसान र स्थानीयतहको अपनत्व सिर्जना होस् भन्ने हो । केहि किसानहरुले जन श्रमदान जुटाउन नसकेमा हामी विशेष व्यवस्थाको प्रावधान पनि राखेका छौं । त्यसैले योजना कार्यन्वयनमा उपलब्ध रकम अपुग भएको गुनासोसँग मेरो असहमति छ । संकटा सन् साना किसानका लागि अनुकुलन क्षमता वृद्धि गराउन यो आयोजनाको लक्ष्य रहेको र व्यवसायिकरण गर्न सहकारी तथा स्थानीयतहको समन्वय र सहयोगको लागि किसानले पहल गर्ने हाम्रो सुझाव रहेको छ ।
अनुगमनबाट कस्ता सल्लाह सुझावहरु आएका छन् ?
 योजनाको सफलताको लागि समय–समयमा विभिन्न निकायबाट अनुगमन हुने गरेको छ । अनुगमनबाट योजना छनोटको सिफारिसदेखि सम्पन्नताको र सम्बन्धित वडाबाट भुक्तानी सिफारिससम्म विभिन्न सुझावहरु प्राप्त भएका छन् र त्यसलाई कार्यन्वयनमा लगेका छौं । अनुगमनबाट प्राप्त मुख्य सुझावहरु योजना कार्यान्वयनको सह लगानीतर्फ जोड दिनु पर्ने, जन सहभागितामा निरन्तरता दिनुपर्ने, योजना सम्पन्न पश्चात् योजनाको दीगोपनको लागि मर्मत सम्भार कोषलाई जारी राख्नु पर्ने जस्ता छन् ।
 कृषको आवश्यकतामा अनुसार कार्यक्रम तय हुँदैन भन्ने पनि छ । खासमा हजुरको धारणा के छ ?
 यो आयोजनाले स्थानीय समूह र किसानको प्रत्यक्ष संलग्नतामा र विषय विज्ञको सहयोगमा तयार गरिएको स्थानीय अनुकुलन कार्य योजनामा उल्लेखित क्रियाकलापहरु स्थानीय वडा अध्यक्षको सिफारिसमा कार्यन्वयनमा लाने भएकोले किसानको आवश्यकता र चाहना बमोजिमका अनुकुलन कार्यहरु नै कार्यान्वयन हुन्छ, कसैको मन गढ़न्ते क्रियाकलापमा अनुदान दिने गरिएको छैन ।
अन्य स्थानीयतहरुमा पनि आयोजना लागू गर्न सकिदैन ?
 आयोजनाको हालसम्मको लक्ष्य ६ ओटा जिल्लाको २ सय वडामध्ये रोल्पाको ३० ओटा वडामा स्थानीय अनुकुलन कार्य योजना तयार गरि कार्यान्वयन गर्ने रहेकोले आयोजना समन्वय इकाई हातिसारबाट कार्य क्षेत्र विस्तारको आदेश नभएसम्म अन्य स्थानीयतहमा कार्यान्वयन नहुने बरु स्थानीयतहले आफै लापा तयार गरि कार्यान्वयन गरेमा यस आयोजनाले विज्ञता तथा प्राविधिक सहयोग उपलब्ध गराउने हामी प्रतिवद्व छौं ।
आयोजना प्रभावकारी रुपमा कार्यन्वयन नभएको सरोकारवाला निकायको गुनासो छ, नि ?
 आयोजनाले रोल्पामा अनुकुलनका क्रियाकलापहरु स्थानीय अनुकुलन कार्य योजना बमोजिम सबै सरोकारवालासँग निरन्तर समन्वय र सहकार्यको वातावरणमा कार्यान्वयन हँुदै आएकोले संकटा सन् साना किसानका लागि यो आयोजना प्रभावकारी रहेको आम जनताको ठहर छ ।
आयोजनाको नयाँ कार्यक्रमहरु के–के छन् ?
 आयोजनाले सञ्चालन गर्ने क्रियाकलाप स्थानीय अनुकुलन कार्य योजना (लापा) वमोजिम हुने र चालु आर्थिक वर्षमा नयाँ कार्यक्रमको रुपमा खेर जाने झारपातहरुको व्यवस्थापन (बायोचार नमूना गाउँ र टोल स्थापना) वन र कृषि सम्बन्धि किट सहयोग, कोभिडमैत्री वोयर बोका वितरण आदि छन् भने रिचार्ज पोखरी, सिंचाई कुलो, पोखरी, वन कार्य योजना नविकरण, वन व्यवस्थापन क्रियाकलाप, जलवायु मैत्री तरकारी खेती, फलफूल खेती आदि पुरानै क्रियाकलाप छन् ।


This image has an empty alt attribute; its file name is ram2.jpg

आयोजना कार्यन्वयनमा कस्ता चुनौतिहरु बताइदिनुहोस्, न ?
 आयोजना कार्यान्वयन भन्नाले स्थानीय अनुकुलन कार्य योजना कार्यान्वयन गराउनु हो । यसको लागि निकै आरोह अवरोहको सामना गर्नु परेको छ । योजना कार्यन्वयनमा देखिएका चुनौतिहरुमा सरोकारवाला निकायसँग सहलगानीको वातावरण तयारीमा मुख्य चुनौति रहेको छ । अन्य चुनौतिहरुमा कार्यक्रम कार्यान्वयनको निरन्तर अनुगमनमा कोभिडको त्रास तथा जनशक्तिको अपर्याप्तता हो ।
आयोजनाको समयवधि समाप्त भएपनि यस क्षेत्रका कृषकहरुले व्यवसायी निरन्तता दिनुहुन्छ भन्ने कुरामा कति विश्वष्ट हुनुहुन्छ ?
 यो आयोजना ६ वर्षको लागि भएर हालको वर्ष अन्तिम वर्षको रुपमा हामीले लिएका थियांै । तर, पहाडी साना किसानका सौभाग्य भनौं थप १ वर्ष म्याद थपिएर कार्यन्वयनमा लान हामीलाई निर्देशन प्राप्त भएको व्यहोरा अनुरोध गर्न चाहन्छु । आयोजनाको अवधि सकिएपछि पनि रोल्पाका किसानहरुले स्थानीयतहसँग समन्वय गरि व्यवसायिकतातर्फ जाने सम्भावना छ । त्यसको प्रमाण स्वरूप सुनिलस्मृतिका कतिपय कृषकहरु व्यवसायिक खेती गरेर निरन्तरतामा लागेको देखिन्छ । यी लक्षणको आधारमा हामी ढुक छौं कि आयोजना सकिएपछि किसानहरुको अनुकुलित क्षमताको वृद्धि भई कृषकहरु व्यवसायिक निरन्तरतामा लागि रहनेछ ।
आयोजना कार्यन्वयन भएका कृषिकहरुलाई के भन्नु हुन्छ ?
 पहाडी साना किसानका लागि अनुकुलन आयोजना, जिल्ला आयोजना समन्वय इकाई रोल्पाको अनुदानमा रोल्पा जिल्लाको ७ ओटै स्थानीयतह अन्तर्गत आयोजना सञ्चालित ३० ओटा वडाका जनताहरुलाई स्थानीय अनुकुलन कार्ययोजना कार्यन्वयनमा निरन्तर लागि रहन र जन सहभागितामा अनुकुलन योजना सम्पन गराउँदै जलवायु मैत्री विकासमा निरन्तरताको लागि धन्यवाद छ ।
अन्तिममा महत्वपूर्ण कुराहरु छुटेका छन्, कि ?
 अन्तिममा, संघीय सरकार नेपाल वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालित यो आयोजना जलवायु अनुकुलित आयोजना हो । जसले पहाडी साना किसानका लागि अनुकुलित क्षमताको विकासमा निकै सहयोगी रहेको छ ।
यो आयोजनाको गतिविधि, कार्य क्षेत्र, सफलताहरु, साझेदार निकायहरु वजेट खर्च र कार्यक्रम, लक्षित समूह, समस्या तथा चुनौतिहरु लगायतका विविध पक्षका विषय वस्तु व्यक्त गर्ने अवसर दिने रोल्पा समाचार साप्ताहिकलाई कार्यक्रम कार्यन्वयनमा सहयोग गर्ने आयोजनाका सम्पूर्ण कर्मचारीहरुलाई धेरै धेरै धन्यवाद जिलवायु मैत्री विकासको अवधारणा अनुरुप लागि पर्न र निरन्तर समन्वय र सहकार्यको लागि अपिल गर्दै सरोकारवाला निकाय र सम्पूर्ण रोल्पाली जनताहरुलाई हार्दिक अनुरोध गर्दछु ।

You may also like