“यस कारण जोखिम मोल्न सक्ने गुण प्रचण्डमा छ”

 


– लेखमणी खड्का
दक्षिण पश्चिम रोल्पाको त्रिवेणी गाउँ पालिका वार्ड नम्बर ३ स्थित कोइला डाडामा रोल्पा सिमेन्ट प्रा.ली. (रोल्पाकै एकमात्र र ठूलो उद्योग) रहेको छ । राज्यको पुनर्संरचना गरिए पश्चात् उक्त डाडोले प्रदेश नम्बर ५ र कर्णाली पर्देशलाई छुट्याउँछ । आजभोलि मनसुनको समय, अविरल झरी परिरहेछ । कोइला डाडोको सबैभन्दा उच्च बिन्दुमा झरिको रूपमा आकाशबाट बर्षेका पानीका थोपाहरु पानीढलोको रूपमा एक मिलिमिटर दुरि कता ढल्किन्छन, भन्ने कुराले त्यस पानीको गति र गन्तव्यमा ठूलो फरक अर्थ राख्छन् । कोइलाको डाडोको सर्बोच्च बिन्दुमा बर्षाहुदा, बादलबाट सँगै खसेका पानीका थोपाहरुमध्ये अलिकति (एक मि.मि.भन्दापनि कम) पुर्बतर्फ ढल्किएका पानीका थोपाहरु बग्दै बग्दै चबीखोला हुँदै राप्ती नदिको जलधारक्षेत्रको रूपमा रोल्पा, प्युठान, दाङ, बाके हुँदै सिमापारी भारत प्रबेश गर्छ भने त्यही डाडोमा अलिकति पश्चिम ढल्किएका पानीका थोपाहरु बग्दै शारदा हुँदै बबई नदिमा मिसिएर सल्यान, सुर्खेत, बर्दिया हुँदै त्यो पनि सिमापारी भारत प्रवेश गर्छ । एउटै ठाउँ ,एउटै बिन्दुमा एकै साथ परेका पानीका थोपाहरु, अलिकति दायाँ र बायाँ ढल्किदा तिनिहरुको जलाधार, बहाव र बनोटमा निकै ठूलो अन्तर पर्न गै तिनिहरु हिड्ने बाटो पनि फरक फरक हुनपुग्छ । बर्षातमा कोइला डाडोदेखी दायाँ र बायाँ ढल्किएका पानीका थोपाहरु अन्ततः नेपालको भुमी वा सिमानाभित्र कतै भेट हुँदैनन । यदि त्यी थोपाहरु अस्थित्व मै रहेर आफ्नै गतिमा बगिरहेभने भारतको उत्तरप्रदेश स्थित पश्चिम बाट मिसिदै आएका महाकाली , कर्णाली सहित घाघरा मा बबई र राप्ती पनि मिसिएर अन्ततः गङ्गा नदिको रूपमा परिचित हुँदै बङ्गालको खाडिमा पुगेर समुन्द्रमा पुग्छन् र तिनिहरुको बहाव,यात्रा त्यही टुङ्गिन्छ । चबी, माडी हुँदै बनेको राप्ती अनि घुरखोला, शारदा हुँदै बनेको बबई का उदगम बिन्दु एकै भएपनि यिनिहरुको बहाव, आयतन र गति फरक फरक छ । जब गङ्गा र बङ्गालको खाडिमा पुग्छन, अनिमात्र त्यहाँ यी नदिहरुको अस्तित्व पनि हराउँछ । नेपालको कम्युनिस्ट आन्दोलन, यसको गति र अबस्थालाई पनि यहि विम्वसग जोडेर हेर्न सकिन्छ ।
पुष्पलाल श्रेष्ठ, नेपालमा कम्युनिस्ट आन्दोलनको बर्षातको सुरुवात गर्ने बादल वा जन्मदाता हुन् । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्यसहित उनको टिमले बि.स. २००६ मा सुरु गरेको नेपालको कम्युनिस्ट आन्दोलन, बादलदेखि कोइलाको डाडासम्म पानीको थोपा सगै झरेजस्तै केही क्षणसम्म एउटै धारमा चल्यो र डाडाको चुचुरोमा सो पानी झरेपछी पुर्ब मोडिएका थोपाहरुबाट माडी, राप्ती र पश्चिम मोडिएका थोपाहरुबाट शारदा, बबई बनेजस्तै पुष्पलालको नेतृत्व पछि एउटै बादलबाट जन्मिएको नेकपा, एउटा धारबाट माक्सबादी, माले, एमाले तथा अर्को धारबाट मसाल, एकताकेन्द्र , माओवादी आदिको नाउँमा बिभक्त भयो । एउटा धारको नेतृत्व मनमोहन अधिकारी, मदन भण्डारी, माधवकुमार नेपाल हुँदै पछिल्लो कालखण्डमा खड्ग प्रसाद ओलीको हातमा आइपुग्यो भने अर्को धारको नेतृत्व चाहिँ निर्मल लामा, मोहनबिक्रम सिंह , मोहन बैद्य हुँदै प्रचण्डको काधसम्म आइपुग्यो । यो बीचमा अनेकौं आरोह अबरोहहरु आए ।
२०४७ को जनआन्दोलन पछि बनेको नेपाल अधिराज्यको संविधान २०४७ को अन्तरबस्तुलाई स्वीकार गर्ने वा नगर्ने भन्ने सवालमा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि विभिन्न दृष्टिकोणहरु देखा परे । मनमोहन अधिकारी, मदन भण्डारी लगायतको टिमले संविधानका अन्तरबस्तुमाथिका केही एजेन्डाहरुमा नोट अफ डिसेन्ट लेख्दै संबैधानिक राजतन्त्रलाई स्विकार गर्यो । सोभियत संघको विघटन सगै अत्यन्तै रक्षात्मक अबस्थामा पुगेको बिश्व कम्युनिस्ट आन्दोलनबाट पाठ सिक्दै, क्लासिकल रोडम्यापबाट समाजवाद स्थापना गर्न सकिँदैन भन्ने निचोडका साथ बहुलबादको आइडोलोजिलाई स्वीकार गर्दै मदन भण्डारीले जबजको कार्यनीति अख्तियार गरे । जवजको स्विकारोक्ती सगै कम्युनिस्ट नाउँको एउटा धार कार्यनीति तथा कार्यक्रमिक दृष्टिकोणले वास्तविक कम्युनिस्ट नभएर सोसल डेमोक्रेटिक पार्टिको रूपमा परिणत भया, परिणामस्वरूप पश्चिमा शक्तिकेन्द्रहरु कुनै उत्सब वा आमन्त्रणको रूपमा पार्टी कार्यालय पुग्दा माक्स ,एङ्गेल्स, लेलिनका फोटोहरु गायब पारिन थाले । एक किसिमले पुष्पलालले बर्षाएको कम्युनिस्ट नाउँको एउटा धारले जवजको अख्तियारीसंगै शास्त्रीय कम्युनिस्ट आन्दोलन र मुद्दाहरुसग आत्मसमर्पण गर्यो ।
कम्युनिस्ट नाउँका पार्टिहरुमा एउटा महत्त्वपूर्ण एजेन्डालाई स्थापित गरिएको हुन्छ “जसको नीति, उसको नेतृत्व । “तर जवजको प्रतिपादनसँगै निकै छोटो समयमै जवजका सुत्रधार मदन भण्डारीलाई दासढुङ्गामा सेलाइएपछी, उनले जन्माएको जवज टुहुरो बन्यो । उक्त टुहुरो जवजलाई माधव कुमार नेपाल लगायतका बर्तमान लिडरसिपले गोद लिएर संरक्षण दिन थाले । मुख्य सुत्रधार भण्डारी नै नरहेपछी, उक्त नीति धरमराउन थाल्यो र राज्य तथा पार्टी सग सम्बन्धित अफ्ट्यारो, महत्वपूर्ण तथा संवेदनसिल घडिमा धरमराउन थाल्यो । यसकै परिणामस्वरूप महकाली सन्धी भयो, तत्कालीन एमाले बिभाजन भयो, आफ्नै देशको राजनैतिक शक्ति विरुद्ध सङ्कटकाल घोषणामा सहिछाप गरियो, हुँदा हुँदा राजाले अपहरण गरेर लगेको डेमोक्रेसीमा “प्रतिगमन आधा सच्चियो” भन्ने नीति पारित गर्दै शाही साशनको साझेदार मात्रै बन्ने अबस्था आएन, बर्तमानमा नेतृत्व सम्हालेका शिर्ष नेताले समेत सड्कमा उर्लिएको गणतन्त्रात्मक आन्दोलनलाई “बयलगाडामा चढेर अमेरिकाको यात्रा“ संज्ञा दिए । यसरी पुष्पलालले जन्माएको एउटा धार, कम्युनिस्ट पथ तथा आदर्श बाट बिचलनमा आउनु नेतृत्वको खडेरी थियो । तत्कालीन एमालेले अख्तियार गरेको जवजका सुत्रधार मदन भण्डारी हुने, तर कार्यनीति कार्यन्वयनको जटिल मोडमा जवजलाई अर्कैले गोद लिनुपर्ने बाध्यात्मक अबस्थामा आन्दोलन धर्मराउनु र अन्यौलमा भासिनु स्वभाबिक तर दुस्खद थियो । मदन भण्डारीको देहावसान पछिको एक दशक यहि अन्यौलको भुमरीमा उक्त धार फसिरह्यो ।
कोइलाडाडाबाट यता पुर्ब लागेको एउटा धारले जवजलाई पारित गर्दैगर्दा, उता पश्चिम पकडेको अर्को धारले २०४७ को संविधानको मुलभुत अन्तरबस्तुलाई अस्वीकार गर्दै नेकपा माओवादी नाउँको पार्टी गठन गरि पुष्प कमल दाहाल प्रचण्डको प्रस्ताव र नेतृत्वमा शसस्त्र जनयुद्धको कार्यनीति पारित गर्यो । जनयुद्धका मुख्य एजेन्डाहरुको रूपमा गणतन्त्र, संविधानसभा, समानुपातिक समाबेशी राज्य प्रणाली, धर्म निरपेक्षता तथा बिकेन्द्रीत शासन प्रणाली मुख्य थिए । प्रचण्डको नेतृत्वको उक्त धारले साच्चिकै रूपमा शसस्त्र जनयुद्ध संचालन गर्दै राष्ट्रब्यापी रूपमा मुद्दाहरु स्थापित गर्दै गयो । मुख्यतः दरबार हत्याकाण्ड पछि फेरिएको राष्ट्रिय राजनीति र अवस्थाले जनयुद्धरत शक्ति र तत्कालीन संसदबादी सातदललाई कार्यगत मोर्चागर्न एक ठाउँमा ल्यायो । यी दुई पक्ष बिच भएको १२ बुदे सम्झौताले नेपालमा संविधान सभा, गणतन्त्र, राज्यको पुनर्संरचना, समाबेशीकरण आदि मुद्दाहरुलाई सस्थागत गर्ने ढोका खोल्यो । परिणामस्वरूप अहिले “ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” सस्थागत भएको छ । सायद प्रचण्डले शास्त्रीय कम्युनिस्ट पथको जोखिमलाई आत्मसात गर्दै शसस्त्र जनयुद्धको कार्यनीति मार्फत आन्दोलन नछेडेको भए, अहिलेको गणतन्त्र, समाबेशीकरण, संघीयता, धर्म निरपेक्षता, आदि सवालको उपभोगी हुन हामी र हाम्रो पुस्ता बन्चित हुनसक्थ्यो । किनभने मुख्यत नेपाली काङ्ग्रेसको जन्मजात संवैधानिक राजतन्त्रको नारा र तत्कालीन एमालेको जवजले गणतन्त्रलाई कतै भेटेको थिएन । यसको ज्वलन्त सत्य उदाहरण के पनि हो भने, २०६२÷०६३ को आन्दोलन र अन्तरिम संविधान निर्माण पछि, संविधानसभा निर्वाचनको पुर्बसन्ध्यामा भएका बेबिकिङ्ग वा चिल्ड्रेनकिङ्गका बहस र नाराको पृष्ठभुमिबाट सजग भएर प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले संविधानसभा मार्फत गणतन्त्र घोषणाको ग्यारेन्टी नहुने हो भने आफू यो प्रक्रिया बाटै बाहिरिने चेतावनी दिदै अन्तरिम सरकार बाटै बाहिरिएको थियो । करिब ४ महिनाको लामो रस्साकस्सी पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले महासचिव माधब कुमार नेपालको सहमतिमा संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गर्ने गरि अन्तरिम संविधान संशोधन भएपश्चात मात्रै तत्कालीन माओवादी पुनः अन्तरिम सरकारमा सहभागी भएर त्यी मुद्दाहरु कार्यन्वयनमा जाने वातावरण बन्यो । तसर्थ तराजुमा जोख्ने नै हो भने गणतन्त्र स्थापनामा सबैभन्दा बढी योगदान र लडाइँ लडेका नेतृत्व प्रचण्ड नै हुन् ।
समकालीन नेपाली राजनीतिका पात्रहरु मध्ये प्रचण्ड मात्रै त्यस्ता एक्ला पात्रहुन, जसले नेपालमा शास्त्रीय कम्युनिस्ट घटकको एउटा धारको करिब तीन दशक एक्लै नेतृत्व गरिरहे । उनले केवल मोर्चाको नेतृत्व मात्रै गरेनन, परिस्थितिको ठोस विश्लेषण गर्दै उचित र बोल्ड डिसिजनहरु गर्दै र लागू गर्दै गए । यदि निर्णय क्षमतामा ह्रास भई मोर्चाको कभरमात्रै समातेको र भावनामा मात्रै बगेको भए सायद ३० बर्ष राजनैतिक पार्टीको एकछत्र नेतृत्व प्रदान गर्ने ल्याकत उनले राख्ने थिएनन । उनको परिस्थितिजन्य निर्णय लिनसक्ने निर्णय क्षमता, जोखिम मोल्न सक्ने सहास, गतिशीलता र अब्बल सङ्गठक भएकै कारण २०५२ पछिको नेपाली राजनीति उनकै वरिपरि घुमिरह्यो । प्रचण्डले राजनीतिक तलाउमा एउटा ढुङ्गा हान्ने, त्यस ढुङ्गाले ल्याएका तरङ्गहरुको पछाडि अन्य शक्तिहरु रुमल्लिने र त्यही अबस्थामा उनले राजनैतिक छलाङ मार्ने क्रम मुख्यतः २०५२ पछि लामो समय भैरह्यो । नेपालको पछिल्लो राजनैतिक परिबर्तनमा खास खास समयमा प्रचण्डले लिएका खास र सहासिक निर्णयहरु निकै महत्वपूर्ण छन् । नेपालका सम्पुर्ण राजनैतिक शक्तिहरु संवैधानिक राजतन्त्रलाई स्वीकार गर्दै २०४७ को संविधानमा ओत लागेको परिस्थितिमा त्यो ब्यबस्थालाई चुनौती दिदै राज्यको आमूल परिवर्तन , रुपान्तरण र समाबेशीकरणको लागि शसस्त्र जनयुद्धको घोषणा गर्नु चानचुने घटना थिएन , त्यही निर्णयकै कारण उनिबिरुद्द रेडकर्नर नोटिस जारी भयो । शसस्त्र युद्धको क्रममा पनि पार्टी भित्रको अन्तर संघर्षलाई जनबादी केन्द्रीयताको माध्यम बाट समाधान गर्दै पार्टी र सेनाको मोर्चालाई आफ्नो रोडम्यापमा हिडाउन सफल भए । पार्टी भित्र बिष्फोटको अबस्थामा पुगिसकेको अन्तर संघर्षलाई चुनवाङ बैठकबाट ब्यबस्थापन गर्दै , तत्कालीक परिस्थिति अनुसार संसदबादी दलहरुसग सहकार्य गर्दै राजतन्त्रको अन्त्य र संविधानसभाको ब्यबस्थाको निम्ति शान्ती प्रक्रियाको पहलकदमी लिने अर्को जोखिमयुक्त निर्णय उनले गरे । युद्धकालिन अबस्थामा युद्ध र वार्ता लाई आबस्यकतानुसार उचित तालमेल गरि लागू गर्दै पनि गए, जसको परिणामस्वरूप रणनैतिक प्रत्याक्रमणको चरण सम्म जनयुद्धलाई बिकासगरी राजनैतिक परिवर्तनको निम्ति शक्ति आर्जन गरे । यहि शक्तिको बलमा, तत्कालीन सात दलसगको १२ बुदे सहमति, शान्तिपुर्ण जनआन्दोलन, प्रतिनिधिसभाको पुनर्स्थापना र प्रतिनिधिसभा घोषणा, अन्तरिम संसद र अन्तरिम सरकार, संविधानसभा निर्बाचनको सुनिश्चितता र संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गर्ने अन्तरिम संविधानको कार्यादेश आदि मुद्दाहरुको नेतृत्व कुनै न कुनै रुपले प्रचण्डले गरिरहे । गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रमा मनाउन होस वा गणतन्त्रको बाटो भनेको बयलगाडा बाट अमेरिका पुग्ने सपना हो भन्नेहरुलाई गणतन्त्रको पाहुना बनाउन होस,, त्यी सबै अबस्थामा प्रचण्डको भुमिका सधैं निर्णायक नै रह्यो । जसले अग्रगमन तर्फ राज्यलाई डोर्याइरह्यो । बिस्तृत शान्ती सम्झौतामा हस्ताक्षर, पार्टी भित्र तिब्र असन्तुष्टि हुँदाहुँदै सेना समायोजनको जोखिमयुक्त निर्णय तथा भुकम्प पछिको अबस्थामा आफ्नो प्रतिपक्षी भुमिकालाई स्थगित गरि अनेकन असहमतिका बाबजुद संविधानसभाबाट संविधान निर्माण गर्न र एस जयशङ्करहरुको हस्तक्षेपलाई अस्विकार गर्दै संविधान जारी गर्न प्रचण्डले लिएको पहलकदमी, नेपालको राजनैतिक बृतमा निकै महत्वपूर्ण हुन् । त्यसैले पनि, उनलाई जोखिम लिनसक्ने गतिशील नेताका रूपमा लिईन्छ ।
नेपालको राजनीतिक परिबर्तनमा सकारात्मक प्रभाव पारेका उनका दर्जनौं सहि निर्णय हुँदाहुँदै निश्चित कालखण्डमा उनले लिएका केही सिमित निर्णयहरुले राजनैतिक स्थिरता, प्रणालीको बिकास र शक्ति सन्तुलनमा केही नकारात्मक प्रभाव पारेको पनि छ । पृष्ठभूमिमा उल्लेख गरिएजस्तै, कोइलाको डाडोमा झरेका पानीका थोपाहरु थोरै पुर्ब मोडिदा र अलिकति पश्चिम मोडिदा मात्रै तिनिहरुको जलाधार, बहाव, आयतन र गन्तव्यमा निकै ठूलो परिबर्तन आए जस्तै, राजनैतिक बृत्तमा खास कालखण्डमा राजनैतिक नेतृत्वले लिने खास खास निर्णयहरु परिस्थिति अनुरुप थोरै पुर्ब र थोरै पश्चिम च्यापिदा यसका परिणामहरुपनि राप्ती र बबई जस्तै निकै फरक फरक आउने गर्छन । नेतृत्वको उक्त निर्णयको प्रभाव र असर सारा राज्य तथा नागरिकहरुले भोग्नु पर्छ । प्रचण्डले आफ्नो राजनैतिक पाइला थोरै दायाँ चाल्दा तथा परिस्थिति अनुसार उक्त पाइलाहरु थोरै बायाँ चाल्दा त्यसका दुबै प्रकारका नतिजाहरु मुलुकले भोगेको छ । गणतन्त्र, समाबेसीता, धर्म निरपेक्षता सग संसदीय ब्यबस्थालाई सम्झौतामा स्वीकार गरेपछि , प्रचण्डले आफ्नो राजनैतिक जिवनमै दुईवटा भयानक गल्तीहरु गरे । ती गल्तिहरुकै परिणामले मुलुकको स्थायित्व, प्रणालीगत सुधार तथा ब्यबस्थापनमा मुलुकलाई निकै पछाडि पुर्यायो । किनभने संसदीय ब्यबस्थामा प्रचण्ड कच्चा खेलाडी हुन् ।
गल्ती नम्बर (१) विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरकर्ता वा शान्ति प्रक्रियाका सेनानी गिरिजाप्रसाद कोइराला र प्रचण्ड हुन् भने यो प्रक्रियामा अन्यको भुमिका भएतापनि त्यो मुख्य थिएन, उनिहरु केवल शान्ति प्रक्रियाका फड्के किनाराका साक्षिमात्रै हुन् । पहिलो संविधानसभाको निर्बाचन पश्चात तत्कालीन माओवादीले जितको उन्मादमा बहलिएर शान्ति प्रक्रियाका एउटा सेनानी तथा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा आविस्कार गर्दै उनको विकल्पमा अन्य गोटि चाल्न खोज्नु प्रचण्डको ऐतिहासिक गल्ती थियो । त्यही गल्तिको परिणामस्वरुप करिब १० बर्षसम्म सङ्क्रमणकाल लम्बिएर मुलुकले ठूलो मूल्य चुकायो । यो गल्तिलाई प्रचण्ड स्वयंले पनि स्वीकार गरेर, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा स्वीकार नगर्नु आफ्नो ठूलो भुल भएको बताउदै आएकाछन् ।
यदि पहिलो संविधानसभाको निर्वाचन पछि प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा स्वीकार गरेर, आफैंले राष्ट्रपतिको उम्मेदवारको प्रस्ताव गरि निर्बाचित गराउने र प्रचण्ड आफू कार्यकारी प्रधानमन्त्री बनेको भए शान्ति प्रक्रिया, शान्ति सम्झौताका हस्ताक्षरकर्ताको ऐतिहासिक मिलन तथा सहकार्यले मुलुकले नयाँ पथ कोर्ने थियो । सायद, कटुवाल काण्ड जन्मने थिएन, प्रयाप्त जनमत हुदाहुदै प्रचण्डले ९ महिनामै प्रधानमन्त्रीबाट राजिनामा दिने अबस्था आउथेन, निर्धारित तिथिमिती भन्दा केही ढिलो भएपनि त्यही संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुनेथियो र दोस्रो संविधानसभाको अस्थिर भारी मुलुकले बोक्नु पर्दैनथियो । सायद, प्रचण्डको शसक्त उपस्थितिले मुलुकको शासकीय स्वरुप पनि जनता बाट प्रत्येक्ष निर्बाचित राष्ट्रपति र संसदबाट निर्बाचित संसदीय प्रधानमन्त्री रहने गरि मिश्रित शासकीय स्वरुपलाई संविधानले स्वीकार गर्ने निश्चित थियो । यी सबै प्राप्त भैसकेका उपलब्धिहरुलाई प्रचण्डको एउटा भुलले तुहाईदियो ।

गल्ती नम्बर (२) फरक पृष्ठभुमि, फरक सङ्गठन, फरक रुप, फरक रङ्ग भएका जनताको बहुदलीय जनवाद (जवज) र माओवादलाई मिसाई जनताको जनवाद नामको हिजडा कार्यदिशा निर्माण गरि निकै हतारमा डबल नेकपा न्वारन गर्न हौसिनु प्रचण्डको राजनैतिक जिवनकै अर्को सबैभन्दा ठूलो गल्ती थियो । संविधान जारी भएर संसदीय ब्यबस्थासग सम्झौता गरिसकेपछि एमाले र माके दुबैले छुट्टाछुट्टै पान पसल थाप्नु कार्यक्रमिक दृष्टिकोणले उपयुक्त त थिएन, तरपनि आधा शताब्दीदेखि एकले अर्कालाई निषेध गरिरहेका यी दुई शक्तिहरुको एकीकरण सिद्धान्तले भन्दा पनि पात्र, प्रवृत्ति ,स्कुलिङ र कार्यशैलीको कारण यति छिटै आत्मीय हुन सक्थेन । परिणामस्वरूप यो अढाइ बर्षसम्ममा एकताले पुर्णता नपाउदै बिग्रहको अबस्थामा आइपुगेको जस्तो देखिन्छ । संविधान कार्यन्वयन गरि स्थिर बाम सरकारको चाहनालाई सम्बोधन गर्न तत्कालीन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता नभई कार्यगत एकता वा बाम तालमेल र सहकार्यलाई प्रचण्डले जोड दिनुपथ्र्याे र समय (परिस्थिति मजबुत हुँदै गएको खण्डमा कम्तिमा एक निर्वाचनको कार्यकाल पूरा हुँदा परिक्षणले मजबुत बनाएको खण्डमा आउँदो निर्वाचनको दौडान स्पस्ट कार्यबिभाजन सहित पार्टी एकता गरि निर्बाचनमा होमिएको भए, आजको कलह र बिग्रहको अबस्थामा न त पार्टी जान्थ्यो, न त देशले यो अकर्मण्यता भोग्नु पर्थ्यो ।
प्रचण्डले के.पि. ओलीको राजनैतिक आचरण र संस्कार यसभन्दा अघि बि. स. २०७२÷०७३ मा संविधान जारी पछि तत्कालीन एमाले माओवादी गठबन्धनबाट के. पि. प्रधानमन्त्री भएको कार्यकालमै भोगिसकेका थिए । त्यतिबेलाको सत्तासाझेदारी सम्झौतालाई केपिले उल्लंघन गरि,, राजनैतिक रूपमा ह्युमिलेट गरेपछि प्रचण्डले केपि सगको गठबन्धन टुटाएर काङ्ग्रेस सग चुनावी सरकार गठन गरेका थिए । त्यतिबेला आत्मकेन्दृत ब्यक्तिबादको दह्रो जवाफ दिने बलियो धरातलमा उभिएका थिए प्रचण्ड । सत्ता समर्थनलाई सहजै फिर्ता लिई अनुकुलको गठबन्धन बनाएर ब्यक्तिबादी अहङ्कारलाई धुलो चटाउन सजिलो ठाउँमा थिए प्रचण्ड । तर पार्टी एकताको नाउँमा डबल नेकपाको न्वारनपत्रमा हस्ताक्षर गरेपछि आफुले चाहेर मात्रै आत्मकेन्द्रित दम्भपूर्ण अहङ्कारलाई भत्काउन निर्णय लिनसक्ने अबस्थामा छैनन् प्रचण्ड । यदि प्रचण्डले निर्णय लिईहालेभने केपि सरकारको बैशाखी त भाचिने नै छ,, तर त्यसपछिको अस्थिरता र अन्यौलताले राजनैतिक दुर्घटना निम्तिन सक्ने खतराको भय पनि उत्तिकै छ । त्यसैले अर्को हतारमा गरेको गल्तिको महसुस र समिक्षामा छन् अहिले प्रचण्ड ।
नेपालका समकालीन पात्रहरु मध्य राजनैतिक जोखिम मोलेर जस्तोसुकै बोल्ड निर्णय लिनसक्ने, गतिशील र इमानदार नेता हुन् प्रचण्ड । इमानदार यसमानेमा कि, उनले आफुले गरेका गल्तिहरुलाई मनन गर्दै सार्बजनिक समारोहमा ती गल्तिको स्विकार मात्रै गर्दैनन् ,, क्षमायाचना र आत्मालोचना समेत गर्ने इमानदारीता प्रकट गर्दै आएका छन् । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा स्वीकार नगर्नु आफ्नो ऐतिहासिक गल्ति भएको कुरा आफैंले सार्बजनिक रूपमा बताउने प्रचण्डले, भोलिका दिनहरुमा स्पष्ट लय, गति, कार्यक्रम र भुमिका बिना हतारमा डबल नेकपा जन्माउने कागजमा हस्ताक्षर गर्नु आफ्नो अर्कोभुल भएको कुरा स्वीकार गर्न सायद कन्जुस्याइँ गर्नेछैनन् ।
प्रचण्ड यस मानेमा पनि समकालीन अन्य पात्रहरुभन्दा बढी इमानदार छन कि, उनले गणतन्त्रको नारालाई बेबिकिङसँग साटेनन । यदि २०६३ माघ १ गते बनेको अन्तरिम संसद मार्फत कृष्ण बहादुर महाराको नेतृत्वमा अंतरिम सरकारमा सहभागी तत्कालीन बिद्रोही माओवादीले गणतन्त्रलाई बेबिकिङसँग साट्ने भित्री चलखेलको दृश्य पछि अन्तरिम सरकारबाट बाहिरिइ अन्तरिम संविधान संशोधन मार्फत संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्नेछ भन्ने रोडम्याप स्पष्ट पार्न दबाब नदिएको भए अहिलेको गणतन्त्रको ठाउँमा बेबिकिङ्ग हुने निश्चित थियो । प्रचण्ड यति सम्म इमानदार भए कि उनि दुई दुई पटक प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीबाट बाहिरिदा कसैले पनि राजिनामाको माग सहितको नारा लगाउनु परेन । कटुवाल काण्डमा, कार्यकारी प्रमुखको निर्णयलाई राष्ट्रपतिले उल्टाइदिएपछी द्वैध सत्ता जन्मने खतरा भन्दै नैतिकताको आधारमा राजिनामा दिएको बताएका प्रचण्डले दोस्रो कार्यकालमा शेर बहादुर देउवासँगको आधा आधा समय सरकार संचालन गर्ने सहमती अनुसार सम्झौताको मितिमै राजिनामा दिए । इतिहास हेर्ने हो भने यति सहजरूपमा नेपालमा कसैले सत्ता छोडेका छैनन ।
प्रचण्ड आफू किङ्ग बन्नु भन्दा पनि किङ्ग मेकरको भुमिकामा बढी रहे । पहिलो संविधान सभाको परिणाम पश्चात, सङ्कटमा परेको तत्कालीन एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नु राजनैतिक बाध्यता थियो । त्यस समयको अबस्थामा बाहेक अन्य सम्पुर्ण अबस्थामा तत्कालीन एमालेले प्रचण्डलाई कहिल्यै स्वीकार गरेन, बरु प्रचण्ड आफैंले झलनाथ खनाललाई एक कार्यकाल र के.पि. ओलीलाई दुई कार्यकाल प्रधानमन्त्री पदमा प्रस्ताव गरि उक्त प्रधानमन्त्री पदमा निर्बाचित गराए तर उनिहरुको समर्थन र प्रस्ताव प्रचण्डले कहिल्यै पाएनन् । त्यसैले पनि होला, प्रचण्डले राजीनामा दिएर शेरबहादुर देउवालाई पुर्ब सहमति अनुरुप सत्ता हस्तान्तरण गरेपछि “प्रचण्ड जत्तिको राजनैतिक इमानदार नेता अरु भेटिन मैले“ भनेर देउवाले भनेका थिए । के.पि. ओलीको पहिलो कार्यकालमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमतीलाई केपिले नमानेपछी केपिले चलाएको डुङ्गाबाट खुट्टा झिकेर त्यसलाई पल्टाई दिए । बेइमानहरुलाई दिएको जवाफ थियो त्यो । २०७४ को निर्वाचन गठबन्धन र पार्टी एकताको घोषणा हुँदा दुई अध्यक्षले समान अबधिकालागी आलोपालो सरकारको नेतृत्व गर्ने लिखित प्रस्तावलाई पुनः केपिले उल्लंघन गरेर पार्टीलाई ब्यक्तिबादमा सिमित बनाउन खोजेपछि अहिलेको यो सङ्कट देखिएको छ ।
अहिलेको नेकपा एकता बास्तविक नभएर कथित हो । यहि कथित एकताको नाउँमा फस्नु नै प्रचण्डको गल्ती हो । पहिलो कार्यकालमा केपि ओलीको शासकीय क्षमता, कार्यशैली र व्यबहार सबै भोगेका प्रचण्डले यो अपरिपक्व निर्णय हतारमा नगर्नुपर्थ्यो, जसले राज्यको आमूल परिबर्तनकारी आन्दोलनको बिसर्जन गराएर केपि ओलीलाई जङ्ग बहादुरको पथमा हिडाल्न मलजल मात्रै गर्यो । केपीले माओवादी आन्दोलनलाई कहिल्यै स्वीकारेनन, बरु सड्क र जङ्गलमा माओवादीले गणतन्त्रको नारा लगाउदा तिनकुने चोकमा उभिएर केपिले “बयलगाढा चढेर अमेरिका पुग्ने” कथा सुनाइरहे । २०७४ को चुनावमार्फत जसरी पनि सत्तारोहणको तृष्णा मेट्न केपिलाई अरुको बुईचढ्न वा बैशाखी टेक्न बाध्यता थियो । अहिले अबलम्बन गरिएको निर्वाचन प्रणालीको कारण आफू एक्लै बहुमतमा नपुग्ने, यदि देउवा प्रचण्ड गठबन्धन कायम भै रहे निर्वाचन मार्फत तत्कालीन एमाले पहिलो दल बनेता पनि सत्ताबाट फुस्किने अबस्थालाई पुर्ण बिराम दिई आफ्नो सत्तारोहणको सुनिश्चितताको निम्ति बामगठबन्धन र पार्टी एकताको नारा अगाडि सारे । प्रचण्डलाई आम कार्यकर्ता र नागरिकको चाहना अनुरुप स्थिर सरकारका लागि बाम गठबन्धन स्वीकार गर्नु बाध्यता र आबश्यकता दुबै थियो । त्यही परिवेशले जुराएको गठबन्धन, पार्टी एकतामा पुग्दा सम्म बलियो बन्न सकेन । समाज, समय र परिस्थितिको मागलाई ब्यक्ती केन्द्रित स्वार्थ सिद्दिको हतियारको रूपमा प्रयोग गर्न खोजिए सबैले दुस्ख पाँउछन । अहिले त्यही दुस्ख भोगिरहेको छ हाम्रो देशले । अबको केही महिना केही बर्षपछी सार्बजनिक समारोह मै प्रचण्डले आफ्नो दोस्रो गल्तिलाई रिअलाईज गर्छन सायद ।
प्रचण्डका अबका सम्भावित विकल्पहरु
बिकल्प नम्बर (१) एक थरीले वकालत गरे झै बर्तमान सरकार खड्ग प्रसाद ओलीको बिजयले बनेको होईन, तत्कालीन बाम गठबन्धनको बिजयबाट बनेको हो । बाम गठबन्धनको बिजयको जस ब्यक्ती बिशेषलाई होईन, स्थिरताको मृगतृष्णा पालेका आम मतदाता र मतदाताको प्यासलाई स्वस्तिकछापमा बदल्न अहोरात्र खटिने कार्यकर्तालाई जान्छ । यदि अहिले कुप्रचार गरिए जस्तै ब्यक्तिलाई केन्द्रमा राखेर ब्यक्तिलाई सरकारको नेतृत्व गर्ने जिम्मा जनताले दिएको हो भने, अहिले अबलम्बन गरिएको शासकीय स्वरुपलाई हटाएर प्रत्येक्ष निर्बाचित कार्यकारी प्रमुख हुने ब्यबस्था अङ्गिकार गर्नुपर्छ । यहि शासकीय स्वरुपको लागि करिब ८ बर्षसम्म संविधानसभाभित्र प्रचण्ड लड्दैगर्दा, खड्गप्रसादहरु वेस्ट मिनिस्टर प्रणालीसँग सम्झौतागरी अगाडि बढे । परिणामत शासकीय स्वरुपको संवैधानिक ब्यबस्थामा नोट अफ डिफेन्स लेखी अगाडि बढ्न प्रचण्ड बाध्य भए । त्यसकारण अहिलेको संसदभित्र झापाका खड्गप्रसाद र कन्चनपुरका रामप्रसाद सबैको हैसियत बराबरी हो । दलिय ब्यबस्थामा दलको विधि, नीति र प्रक्रिया मुख्य हुन्छ ।
अहिले नेतृत्वको बिचमा देखिएको यो जटिलता भनेको दार्शनिक नभएर प्रवृत्तिगत नै हो । साबिकको माओवादी र एमाले धारलाई विघटन गरि नयाँ नेकपा जन्माएको भन्ने तत्कालीन भनाई केवल कथित हो । नेतृत्वको बिचमा एकताको दौडान भएका लिखित सहमतिको कार्यान्वयनमा अबरोध भए पश्चात दुई अध्यक्षात्मक प्रणाली पनि राजनैतिक रुपले स्वत बिघटित भएको ठहर्छ । खड्गप्रसाद र मुख्यतया पुर्ब एमाले घटकले प्रचण्ड र पुर्ब माओवादी घटकलाई सत्ताको बैशाखीको रूपमा प्रयोग गरिरहने, तर प्रचण्डलाई पार्टी वा सरकारको नेतृत्वमा कहिल्यै पनि जान नदिने रणनीति सधैं गरिरहने छ । निर्वाचन आयोगमा नेकपा एमाले ब्युतिएको र प्रचण्डलाई जवजको भारी बोकाएर भरिया बनाउने प्रपन्च रचिएको अबस्थामा, महाधिवेशनबाट पनि कुनै पार लाग्ने अबस्था देखिदैन। दर्जन संख्याका कमिटीमा निकास, बहस र छलफल समेत हुन नसकेको अबस्थामा पार्टीको जम्बो हजारौं कार्यकर्ताको भिडले मुद्दाको भावात्तेजना बाहेक समाधान गर्दैन । तसर्थ यो विषम घडिमा प्रचण्डले अब सत्ता र शक्तिको हस्तान्तरण नभई पुस्तान्तरणको मुद्दालाई बहसमा लैजानुपर्छ । शक्तिको पुस्तान्तरण गरि जनताको नजरमा आदर्श नगुमाएको, कर्मठ, जुझारु, क्रान्तिकारी, दार्शनिक र साङ्गठनिक नयाँ पुस्तालाई अगाडि सारी आफुले नाउँ मात्रैको कथित अध्यक्ष पदबाट राजिनामा दिनुपर्छ । यो महाअभियानमा प्रचण्डले एउटा मुद्दालाई भने भुल्नु हुँदैन । त्यो के भने, खड्ग प्रसाद जस्ता पार्टी नेताको भुलभुलैयामा परेको तर अधिकाङ्स कार्यकर्ता तथा जनताको माग र मृगतृष्णा रहेको प्रत्येक्ष निर्बाचित शासकीय स्वरुप (जसलाई संविधान निर्माणको दौडान प्रचण्डले आफ्नो फरक मतको रूपमा नोट अफ डिसेन्ट लेखी जिवन्त तुल्याएका छन् ) को मुद्दालाई आगामी महाधिवेशन बाट पारित गराई, त्यसलाई यो प्रतिनिधिसभा बाटै संविधान शंसोधन गरी कार्यान्वयनको बाटोमा लग्न भुमिका निभाउनु पर्छ । अगाडि सारेको नयाँ पुस्तालाई यो सर्तमा शक्ति हस्तान्तरण गर्नुपर्छ । प्रचण्डले आफ्नो राजनीतिक जिवनमा उठान गरेका प्रायः राजनीतिक मुद्दाहरु सम्बोधित भएको तर नेपाल जस्तो मुलुकमा अतिआबश्यक रहेको प्रत्येक्ष निर्बाचित कार्यकारी हुने शासकीय स्वरुप प्राप्त हुन नसकेको अबस्थामा , बर्तमान संसदबाट दुईतिहाईले पारितहुने सुनौलो अबसरलाई आफुले शक्ति पुस्तान्तरण गरेरै भएपनि गुम्न दिनु हुँदैन । माहाधिबेशनमा उक्त मुद्दा सायद पारित नहुने कुनै सम्भावना छैन । किनभने स्वार्थ नबोकेका कार्यकर्ताहरु स्वतन्त्र र बिबेकसम्बत निर्णय गर्न चुक्दैनन । प्रचण्डको सबैभन्दा उपयुक्त र सुरक्षित अवतरणको बाटो सायद यहि हुनेछ ।
विकल्प नम्बर (२) यदि पार्टी भित्रको समस्या र कित्ताकाटले पहिलो विकल्पमा जान कुनै हालतले सम्भव भएन भने, बयलगाढामा सवाररत बर्तमान गठबन्धनवाट बाहिरिई पुर्ब सहकर्मीहरुलाई एकीकृत गर्दै नयाँ धार जन्माउनुपर्छ । सत्य के हो भने, नेपालमा बामपंथी जनमत करिब दुईतिहाईको छ । मुख्य बाम नाउँधारी घटकहरु मिल्दा त्यसको नतिजा २०७४ को आम निर्वाचनले पुष्टि गरिदिएको छ, तर के चाहिँ सत्य होइन भने, बामपंथी बिचार र आदर्श बोक्ने यती ठूलो जनमत न त एमाले, न त माओवादी नै, कसैका पेवा होइनन । २०६४ को निर्वाचनताका धुलो परेर झण्डै झण्डै विघटनमा परेको साबिकको एमाले र साउनेभेल जसरी उर्लिएको साबिकको माओवादीकोको आकार र हौसियत २०७० सम्म आउदा ठ्याक्कै उल्टियो । मुद्दा, कार्यक्रम र नेतृत्वमा जसले क्रान्तिकारिता र इमानदारीता देखाउछ, त्यही धार तर्फ बामपंथी मत ढल्कदै गरेको इतिहास छ । यदि यहि गति र मति कायम भै रहे, अबको एक वा दुई निर्वाचन पछि नेपालको बामपंथी जनमत अर्को ध्रुबमा ध्रुबिकृत भएर बैकल्पिक बामशक्ती उदयहुने सुनिश्चित छ । जसको मौका कुरेर बिप्लव बसिरहेका छन् ।
प्रचण्डको नेतृत्वमा जनयुद्ध संचालनगर्ने योद्धाहरु किरण, गौरवहरु एउटा मोर्चामा रहि क्रान्तिकारी बहस चलाइरहेका छन् भने बिप्लव, प्रकाण्डहरुले रणनीतिक उद्देश्यमा अझैपनि बेइमानी गरेका छैनन् । गोपाल किराँती साइलाहरु अर्को क्याम्प चलाईरहेका छन् भने जनयुद्धको एउटा चर्चित योजनाकार बाबुराम भट्टराई चाहिँ परिस्थितिले लखेट्दै लखेट्दै महन्त ठाकुरलाई नेता मान्ने बाध्यताको घरभित्र चौथो नम्वरमा चेपिएर र हेपिएर बस्न बाध्य भएका छन् । बाबुरामको ओरालो यात्रा सुरुमा भावावेसको थियो भने अहिले अस्तित्व र बाध्यताको हो । यो कसरी पनि पुष्टि हुन्छ भने, यदि बाबुरामले साच्चिकै बामपंथ छोडेका हुन्थे भने,२०७४ को निर्वाचनको पुर्ब सन्ध्यामा प्रचण्ड, केपीको चुनाबी गठबन्धन घोषणा हुँदा हतार हतार हस्ताक्षर गर्न बाबुराम कमलादी आउदैन थिए । प्रचण्ड र केपीको संयुक्त मुट्ठीमा बाबुरामले पनि हैसे गरेका थिए । तर गोर्खाको बाबुरामको निर्वाचन क्षेत्र, बाबुरामलाई छोड्न प्रचण्ड केपी घटक तयार नभएपछि आफ्नो अस्तित्व रक्षाको निम्ति उनी काङ्ग्रेसको शरणमा पुगे । अन्ततः काङ्ग्रेसको सहयोगले निर्वाचन जिते पनि । यहि ओरालो यात्राले अहिले बाबुरामलाई महन्त ठाकुरको कोखमा पुर्याएको छ । बाबुराम सहित जनयुद्धकालिन सम्पुर्ण शक्तिलाई एकताबद्द गरि नयाँ जीवन दिएको खण्डमा अबको बामपंथी धारको नेतृत्वगर्ने युगिन अबसर पुनः प्रचण्डको काधमा आउनसक्छ ।
विकल्प नम्बर (३) यदि माथिका दुई मध्य कुनै पनि विकल्पमा हाम फाल्न प्रचण्डले आट गरेनन भने, प्रचण्डको आत्मसमर्पण हो । यो अबस्था भनेको जनयुद्धकालिन ओझपुर्ण प्रचण्डपथलाई, ओलिपथले हत्या गर्नु हो । यो अबस्था भनेको गोन्जालोपथको यात्रा हो । ओलीपथले जनयुद्धकालिन पात्रहरुलाई अनेकन मुद्दामा बल्झाई बल्झाई सदरखोर र डिल्लिबजारको यात्रामा पुर्याउने छ, जसको ट्रेलरको रूपमा ओलिपथले सुरुवात गरेको पुर्ब सभामुख महरा काण्ड नेपाली राजनीतिमा ताजै छ ।
यो तेस्रो विकल्प भनेको जनयुद्ध र यसले स्थापित गरेका मुद्दाहरुको अबसान तथा गणतन्त्रका असली योद्धाहरुको अपमान हो भने आदर्श गणतन्त्रको नारालाई बयलगाढा चढेर अमेरिकाको यात्रा देख्ने दोषिचस्माको आँखा अघि गणतन्त्रको चाबी बुझाउनु जस्तै असान्दर्भिक अबस्था हो । जसले अल्पकालीन रूपमा ओलिपथलाई फाइदा पुर्याएपनि त्यसको दीर्घकालीन र रणनैतिक फाइदा बिप्लबपथले उठाउने छ । तसर्थ, बिपरित धार र दिशामा बगेका राप्ती र बबई हरु गङ्गानदिमा नपुग्दै बर्दियाबाट अस्थायी ड्याम मार्फत कुलेसोद्वारा बाकेतिर राप्तिमा झार्न खोज्दा ड्याम फुट्ने, बाढी आउने र त्यसले प्राप्त उपलब्धिहरु बढार्ने खतराहुन्छ । हतारमा परिक्षणगर्दाको परिणती मेलम्ची सुरुङ्को बिष्फोटले देखाएको छ । तसर्थ, गणतन्त्रको नायक, राज्यको पुनर्संरचना, समाबेसी, समानुपातिक, धर्मनिरपेक्षताका प्रणेता तथा जनयुद्धका कमाण्डरले पहिलो र दोस्रो बिकल्प भित्र बाटै निकास खोज्दा नै सान्दर्भिक हुनेछ र अनिमात्रै अहिलेका उपलब्धिहरुको रक्षा भै बादरको हातबाट नरिवल फुस्कनेछ ।

You may also like