सुनिलस्मृति गा.पा. वडा नं. ३ मिझिङमा अझै पानी, मठ मन्दिर दलितहरुलाई रोक

रोल्पा समाचारदाता
मिझिङ, रोल्पा
असार ४


रोल्पामा जातीय छुवाछुत मुक्त वडाहरु धमाधम घोषणा भइरहेको बेलामा कतिपय यस्ता वडाहरु पनि छन् अझै पनि दलितहरुलाई पानी, मठमन्दिर प्रवेशमा रोक लगाइन्छ । यस्को नमूना उदाहरण सुनिल स्मृति गाउँपालिका वडा नं. ३ मिझिङमा अझै यो प्रथा कायम रहेको दलितहरुले गुनासो गरेका छन् । यो सँस्कारबाट सबै मिलेर आफूहरुलाई मुक्ति दिनका लागि दलित समुदायले अपिल गरेका छन् ।


सुनिलस्मृति गाउँपालिका ३ नंं. वडा कार्यालको आयोजना तथा दलित मुक्ति मञ्च मिझिङको समन्वयमा जातीय छुवाछुत विभेद अन्त्य अभियान २०७६ मा अन्तरक्रिया कार्यक्रम यस्तो प्रक्रिया दिएका हुने ।
दलित अधिकारकर्मी रिमबहादुर दमाई आक्रोशित हुँदै भन्नुभयोः–“ यो कस्तो चलन हो, हामीले सिलाएको र बनाएको सामानहरु मठ मन्दिरमा सजिन्छन् तर हामीलाई गाउँका विष्टहले पानी भर्दा पनि उनीहरुले पानी भर्न आउँछन् उनीहरुले सकेपछि मात्रै हामीले भर्ने गर्दछाँै, अनि हामीलाई धेरै अन्याय भयो अझै पनि पानी भर्नलाई यस्तो समस्या ”
यस्तै अधिकारकर्मी टेकबहादुर विश्वकर्माले सम्मान मै पनि विभेद भएको बताउनुभयो । उहाँले भन्नुभयोः–“ गैर दलितहरुलाई हामी भन्दा उमेरले सानो भएपनि नमस्कार गर्नु पर्दछ तर हामी उमेरले बाजे भएपनि हामीलाई कसैले नमस्कार गर्दैनन् । हामीले बनाएको त्रिशुलहरु त्यही गाउँको मन्दिरमा चढाउँछन् तर हाम्रो समुदायका पुजारी, धामीहरुलाई बाहिर मात्रै बसाल्दछन् । ”
सो अन्तरक्रिया कार्यक्रमबाट सबै सार्वजनिक स्थलहरुमा जातीय छुवाछुत भएमा संविधानले दिएको अधिकार प्रयोग गरेर कारवाहीको दायरामा लिने वडा अध्यक्ष जेदबहादुर विष्टले बताउनुभो । उहाँले जातीय छुवाछुतमुक्तका लागि दलित–दलित बीचमा हुने विभेद पनि अन्त्य गर्नका लागि लागि पर्ने पर्ने बताउँदै दलित र गैर दलित बिचविभेद विरुद्धमा सबैको सहयोगबाट मात्रै सम्भव हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा सुनिलस्मृति गाउँ कार्यपालिका सदस्य तुलसी सुनारले नेपाल सरकारको कार्यक्रम भएकाले जातीय छुवाछुतमुक्त गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले दलितहरुको पनि समग्र विकास गर्नका लागि वडा सकार नै लाग्नु पर्ने बताउनुभयो ।


यसैगरी दलित अधिकारकर्मी एव संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मानसिंह विश्वकर्माले दलितहरु अझै पनि उत्पीडनमा रहेको बताउँदै यसको अन्त्यका लागि स्थानीयहरुले भूमिका खेल्नु पर्ने बताउनुभयो । साथै मुख्य प्रशिक्षकको रुपमा रहनुभएका अधिकारकर्मी विश्वकर्माले भन्नुभयोः–“रोल्पाको मिझिङमा अझै पानी धारा, मठ, मन्दिर लगायत सार्वजनिक स्थानमा छुवाछुत भएको सुन्दा दुख लागेको छ यसलाई हल गर्न वडा सरकारको भूमिका हो ।” प्रशिक्षणको क्रममा उहाँले यो सिंगो राज्यले पनि राष्ट्रिय नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्नु पर्ने बताउँदै वडा सरकारले निर्मम भएर जातीय छुवाछुत गर्नेहरुलाई सरकारबाट पाउने सुविधामा विचार गर्न अनुरोध गर्नुभयो । उहाँले थप्दै भन्नुभयोः–“इच्छाशक्ति भएमा सबै हुन्छ, विगतमा खुला दिशामुक्त, साक्षरता गा.वि.स. घोषाणा गर्दा पनि गाविसबाट दिने सुविधामा पनि रोग लगाएको होइन वर्तमानमा जनप्रतिनिधी हुनुहुन्छ, त्यसैले सेवाग्रहीलाई तपाईको घरमा जातीय छुवाछुत छ भनेर दिने सेवा सुधिामा रोग लगाइन्छ भन्न सक्नु पर्दछ । ”
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य दुर्गाबहादुर विष्ट, नेपाली कांग्रेस रोल्पाका सदस्य दिउवीर विष्ट, नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा अध्यक्ष बमहादुर पुनमगर, राजमो रोल्पाका प्रतिनिधी एवं अभियान्ता आकाश गिरी, पत्रकार तथा अभियान्ता दिपेश पराई विष्ट, पत्रकार भरत नेपाली, दलित अधिकारकर्मी झपेन्द्र नेपाली, धनबहादुर नेपाली, रिमबहादुर दमाई, टेकबहादुर विश्वकर्मा लगायतले मनतव्य राख्नुभएको थियो । बक्ताहरुले मिझिङलाई जातीय छुवाछुत वडा घोषणा गर्नका लागि सबै लाग्नु पर्ने र वडा सरकार नै बढी जिम्मेवार बन्नका लागि अनुरोध गर्नुभएको थियो । अझै पनि मिझिङका सार्वजनिक स्थलहरुमा जातिय छुवाछुत भएको बताउँदै त्यसका अन्त्य हुनुपर्ने बताउनुभयो । सबैले म जातीय विभेद पनि गर्दैन र गर्न पनि दिन्न भनि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
वडा स्तरीय दलित समुदायका बीचमा अन्तरक्रिया गर्ने, दलित र गैर दलित समुदायको बीचमा अन्तरघुलन कार्यक्रम गाउँपालिकाका अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने लगायतका कामहरु गर्दै अभियानलाई अगाडि बढाउने दलित मुक्ति मञ्च मिझिङका अध्यक्ष झपेन्द्र नेपालीले बताउनुभयो ।
जातीय विभेद विरुद्धका अभियानमा निकै सक्रिय धिरोज घर्तीमगरले मानव मानव बीचमा अझै पर्खाल खडा हुनु मिझिङका लागि राम्रो नभएकाले आफूहरु सचेत रुपमा अन्त्यका लागि लागेको कुरा बताउँदै त्यसमा वडा कार्यालय उदाशिनता झै देखिएको गुनासो गर्नुभयो । उहाँले दलितहरुका लागि गैर दलित समुदायले पनि अभियानलाई जारी राखेको बताउनुभयो ।

You may also like