“निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ ।”

आगामी मंसिर १० गते रोल्पामा सम्पन्न हुँदै गरेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको सन्दर्भमा निर्वाचनको तयारीको अवस्था, मतदाता शिक्षा, आचारसंहिता लगायतका विषयमा रोल्पाका निर्वाचन अधिकारी लिलु गिरीसँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका प्रतिनिधिले गरेको समय सान्दर्भिक कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

हजुरलाई रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समय नजिकिदै गर्दा हजुर के कार्यमा व्यस्त हुनुहुन्छ ?

यो अवसरका लागि यहाँलाइ धन्यवाद । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगको तर्फबाट जिल्ला स्तरमा विभिन्न प्रकारका व्यवस्थापकीय कार्यहरु गर्ने गर्दछ । ती मध्ये जनशक्ति व्यवस्थापन, सामग्री व्यवस्थापन, मतदाता शिक्षाका कार्यक्रमको सञ्चालन र समन्वयका कामहरु मुख्य हुन् । यी मध्ये जनशक्ति व्यवस्थापनतर्फ हामीले कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएर खटनपटनको कार्य अन्तिम चरणमा पुगेको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि पहिलो चरणको तालिम कार्यक्रम सम्पन्न भइसकेको छ । यसो भन्नुको अर्थ हामीले आधा जति मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाइ तालिम प्रदान गरिसकेका छौ । अब अर्को चरणको तालिम छिट्टै हुँदैछ र चार गतेसम्ममा हामीले यी सबै कार्यहरु गरिसक्छौँ ।
सामग्री व्यवस्थापनको सन्दर्भमा हामीले निर्वाृचनका लागि आवश्यक सबै सामग्री प्राप्त गरिसकेका छौ र ती सामग्रीहरुलाइ हरेक मतदान केन्द्रमा पठाउन सकिने गरी प्याकेट निर्माण गरिरहेका छौ । यो कार्य पनि अन्तिम चरणमा पुगिसकेको छ ।
मतदाता शिक्षाका लागि हामीले मतदाता शिक्षा स्वंसेवक छनौट गरी मतदाताको घरदैलो र बस्तीबस्तीमा पठाइसकेका छौ । उहाँहरुले मतदाताहरुलाई कसरी मताधिकारको प्रयोग गर्ने भन्ने विषयमा सिकाइरहनुभएको छ । यसै गरी विभिन्न सञ्चार माध्यमहरुबाट मतदाता शिक्षका सामग्रीहरु प्रशारण तथा प्रकाशन भइरहेका छन् । जिल्लामा नमुना मतदान, सडक नाटक र सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । साथै सरोकारवाला विभिन्न पक्षहरुसँग सम्पर्क, समन्वय र छलफल गर्ने कार्य पनि हामीले आवश्यकता अनुसार गरि नै रहेका छौ ।

 तयारीको अवस्था कस्तो छ ?

मैले अघि नै निवेदन गरिसकेँ कि हामीले निर्वाचका लागि गर्नुपर्ने मतदान पूर्वका अधिकांश कार्य पूरा गरिसकेका छौं । मंसिर गते भित्रमा जनशक्ति तालिमप्राप्त र मतदान केन्द्रतर्फ प्रस्थानका लागि तयारी हालतमा हुनेछ । मतदान केन्द्रमा प्रयोग हुने मतपत्र, मतदाता नामावली, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीहरु दुरुस्त छन् र केन्द्रगत रुपमा प्याक गरिसकिएको छ । मतदाता शिक्षा पनि निरन्तर चलिरहेको छ र छोटोमा भन्दा हामी निर्वाचनलाई मतदान केन्द्रसम्म पुर्याउने र मतदान गर्ने दिनको प्रतिक्षामा छौँ ।

यसअघि सम्पन्न भएका निर्वाचन र अब सम्पन्न हुन लागेको निर्वाचनको फरकपन बारेमा जानकारी गराईदिनुहोस्, न ?
 स्वतन्त्र एम्पाएर र व्यवस्थापकको भूमिकामा रहने सम्मानित निर्वाचन आयोगको कर्मचारीको ठाउँबाट हेर्दा मैले पहिले र अहिलेका निर्वाचनमा खासै ठूलो र तात्विक अन्तर देखेको छैन । किनभने आखिर सबै प्रकारका निर्वाचन सम्पन्न गर्नका लागि हामीले प्रायः उस्तै प्रकारका कार्यहरु र भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर यसअघिका निर्वाचनभन्दा यो निर्वाचन केही कुरामा नितान्त फरक छ । जस्तैः नेपालको इतिहासमा पहिलो चोटी संघात्मक शासन प्रणाली बमोजिमको चुनाव गर्दैछौ र यो चुनावले प्रदेशसभाको निर्माण गर्दैछ । यसको मतलब यो संघात्मक शासन प्रणालीलाई संस्थागत गर्ने पहिलो निर्वाचन हो । त्यस्तै यो निर्वाचनले नेपालको इतिहासमा पहिलोपटक राज्यको जनप्रतिनिधिमुलक अंग व्यवस्थापिकामा विभिन्न सम्ुदायका एकतिहाइ महिलाको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्थालाइ कार्यान्वयन गर्दैछ । यसको अर्थ अब बन्ने व्यवस्थापिका पहिलेभन्दा बढी समावेशी हुनेछ ।
व्यवस्थापकीय दृष्टिले हेर्दा यसपटक हामीले एकैचोटी दुइवटा निर्वाचन सम्पन्न गर्दैछौ ः प्रतिनिधिसभा र प्रदेशसभाको । त्यसमाथि पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै पद्धतिको प्रयोग पनि यी दुवैका लागि एकसाथ गर्दैछौँ । त्यस्तै प्रत्येक मतदाताले मताधिकारको प्रयोग गर्दा तीनवटा कागजमा छापिएका चारवटा मतपत्र र तीनवटा मतपेटिकाको प्रयोग गर्नुपर्ने अवस्था छ । यो चुनावपछि मतदाताले एकसाथ संघीय प्रतिनिधिसभा र प्रदेश सभाको निर्माण गर्नुहुनेछ । त्यसैले विगतका निर्वाचनभन्दा यो निर्वाचन व्यवस्थापन गर्न केही जटिल त अवश्य छ ।

जटिल भन्नुभयो, अबको निर्वाचनमा मतादाताहरुले कति ठाउँमा र कसरी मतदान गर्नु पर्दछ ?बताइदिनुस् न ।

धन्यवाद महत्वपूर्ण प्रश्नका लागि । यो निर्वाचनमा मतदाताले चार ठाउँमा मतसंकेत गनुर््हुनेछ । मतदाताले मतदानकेन्द्रमा नाम रुजु् गरी अघि बढेपछि प्रतिनिधिसभा सदस्य निर्वाचनको हरियो रंगको मतपत्र प्राप्त गर्नुहुनेछ । उक्त मतपत्र लिएर उहाँहरु हरियो रंगको छेकाबारा लगाइएको गोप्य मतदान कक्षमा गइ आफूलाइ मन परेको कुनै उम्मेदवारको एउटा मात्र चिन्हमा स्वस्तिक छाप लगाउनुहुनेछ र त्यसलाइ पट्याएर हरियो रंगकै स्टिकर टाँसेको मतपेटिकामा खसाउनुहुनेछ ।
त्यसलगत्तै नजिकै बसेको कर्मचारीले सेतो कागजमा कालो मसीले चिन्ह छापिएको अर्को मतपत्र दिनुहुनेछ । सो मतपत्र लिएर मतदाता नजिकैको गोप्य मतदान कक्षमा गइ कुनै एउटा मात्र चिन्हमा मतसंकेत गरी कालो स्टिकर टाँसिएको अर्को मतपेटिकामा खसाउनु हुनेछ । त्यसपछि मतदातालाई प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको ठूलो आकारको रातो रंगको मतपत्र दिइनेछ । मतदाता सो मतपत्र लिएर रातै रंगको छेकाबाराले बनाइएको गोप्य मतदान कक्षमा जानुहुनेछ । उक्त मतपत्रमा निर्वाचन चिन्हका दइवटा समूह छन् । माथिपट्टि प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका र तल्लो खण्डमा प्रदेशसभाका लागि समानुपातिक चुनाव चिन्ह । यो मतपत्र राजनीतिक दललाई भोट दिने मतपत्र हो र मतदाताले आफूलाइ मन परेको दललाइ माथिल्लो खण्डमा एक र तल्लो खण्डमा एक गरी दुइ ठाउँमा स्वस्तिक छाप लगाउनुहुनेछ । यो कागज एउटैमा छापिए पनि दुई वटा मतपत्र हो । त्यसैले माथिल्लो खण्डमा एक र तल्लो खण्डमा एक छाप मात्र लगाउनु पर्छ माथि मात्रै वा तल्लो खण्डमा मात्रै दुइ छाप लगाएमा त्यो मत बदर हुन्छ । यसपछि मतदाता मतदान केन्द्रबाट बाहिर निस्कनु हुनेछ र उहाँको मतदानको कार्य सम्पन्न हुनेछ ।

भनेपछि मतदाता निकै अल्मलिने र मत धेरै बदर हुने जस्तो देखियो त ?
हो केही जटिल त छ तर मतदाताले एउटा मतपत्रमा मतसंकेत गरी बाकसमा खसाएपछि मात्र तत्तत् स्थानमा नै अर्को मतपत्र प्राप्त गर्ने र गोप्य मतदान कक्ष पनि अलग अलग हुने हुँदा मतदाता अल्मलिने अवस्था हुँदैन । नामावली रुजु गर्ने र नङमा मसी लगाउने काम सुरुमा एक ठाउँमा गरेपछि अर्को पटक गर्नु नपर्ने र मतदाता क्रमसँगै मतदान गरेपछि मात्र बाहिर निस्कन सक्ने गरी मतदान केन्द्रको निर्माण गरिने भएकोले त्यस्तो अलमल नहोला ।
जहाँसम्म मत बदर हुने कुरा छ, समानुपातिक मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुई ठाउँमा मतसंकेत गर्नुपर्ने भएकोले मतदाता झुक्किने सम्भावना बढी रहन्छ । निर्वाचन आयोगद्वारा सञ्चालित विभिन्न मतदाता शिक्षाका कार्यक्रम र राजनीतिक दल र उम्मेदवारहरुका प्रचार अभियानहरुले यसलाइ कम गर्नेछन् । र, ठूलो संख्यामा मत बदर हुनेछैन ।

मतदाताले निर्वाचनको दिन मतदान गर्न जानुपूर्व र मतदान गर्दैगर्दा के के कुरामा ख्याल गर्नुपर्छ ? बताइदिनुस् न ।
निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न र मत बदर हुन नदिन मतदाताले केही कुरामा ध्यान दिनुपर्दछ । मतदातकेन्द्रमा जानुपूर्व हरेक मतदाताले आफ्नो पहिचान खुल्ने कागजात लिएर मतदान केन्द्रमा गइ मंसिर आठ र नौ गते मतदाता परिचयपत्र लिनुपर्छ । साथै मतदाताले मतदानको दिन मतदान केन्द्रमा जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जाने, कुनै कारणले उक्त परिचयपत्र नभएमा नागरिकता, लालपूर्जा जस्ता पहिचान खुल्ने सरकारी प्रमाणपत्र साथमा लिएर मतदान केन्द्रमा जाने, समयमै मतदान केन्द्रमा पुग्ने जस्ता कुरामा ख्याल गर्नुहुनेछ । साथै मैले कुन उम्मेदवार र कुन दललाई मत दिन्छु र कति ठाउँमा कसरी मतसंकेत गर्छु भन्ने विषयमा स्पष्ट मानसिकता बनाएर मतदान केन्द्रमा प्रवेश गरियो भने अलमल हुँदैन ।
मतदानको दिन मतसंकेत गर्दा मतदाताले हरियो मतपत्रमा कुनै एउटा चिन्हमा मात्र र कालो रंगको मतपत्रमा पनि कुनै एक चिन्हमा मात्र मतसंकेत गर्नुपर्छ । रातो रंगको मतपत्रमा भने माथिल्लो खण्डमा एक र तल्लो खण्डमा एक गरी जम्मा दुइ ठाउँमा मात्र मतसंकेत गर्नुपर्छ । किनभने यो एउटै कागज भए पनि दुईवटा मतपत्र तल माथि गरी छापिएका छन् । मतसंकेत गर्दा स्वस्तिक छापको प्रयोग गर्नुपर्छ, ल्याप्चे लगाउनु हुँदैन । साथै चुनाव चिन्ह भएको कोठाभित्र पर्ने गरी मात्र स्वस्तिक छाप लगाउनु पर्छ, कोठा बाहिर वा मतपत्रको अन्य कुनै भागमा छाप लगाउनु हुँदैन । त्यस्तै मतपत्र लिँदा ल्याप्चे लगाएको औँलाको मसी नजिकै रहेको कपडामा राम्रोसँग प्ुछेर मात्र मतपत्र समात्नु पर्दछ, ताकि मतपत्रमा मसी नलागोस् र मत बदर नहोस । अनि मत संकेत गरिसकेपछि उक्त मतपत्रलाई नलत्पतिने गरी राम्ररी पट्याएर मतपेटिकामा खसाउनु पर्छ, बाहिर छोडेमा सो मतपत्र बदर हुन्छ र आफ्नो मत खेर जान्छ ।

जिल्लामा निर्वाचन आचारसंहिता पालनाको अवस्था कस्तो छ र अनुगमनको व्यवस्था कसरी गरिएको छ ?
छिटफुट घटना बाहेक आचारसंहिता परिपालनामा सरोकारवाला सबै पक्षले जिम्मेवारीपन प्रस्तुत गरिरहन्ुभएको छ । एकाध ठाउँमा उल्लघंन भएका गुनासो हामीलाई प्राप्त भएकामा हामीले सरोकारवाला पक्षलाई सचेत गराइसकेका छौँ र सुधार पनि भएको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा आचारसंहिता अनुगमन समिति रहेको छ, केन्द्रीय अनुगमन टोली पनि जिल्लामा आएर निरन्तर अनुगमन गरिरहेको छ । त्यसैगरी आन्तरिक र विदेशी संस्थाहरुले पनि स्वतन्त्र ढंगले पर्यवेक्षण गरिरहेका छन् । निर्वाचनमा सहभागी दलहरुबाट पनि आचारसंहिता परिपालनाप्रति जिम्मेवारीपन प्रकट भएको मैले पाएको छु ।

गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी भएन भन्ने गुनाँसो छ नि, के भन्नुहुन्छ ?
मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने समयावधि निकै छोटो भएकाले मतदाता शिक्षा अपेक्षित रुपमा प्रभावकारी नभएको भन्ने गुनासो प्रति म असहमत छैन र कम समयकै कारण दल र उम्मेदवारहरुलाई पनि प्रत्येक मतदाताहरुको घरदैलो सम्म पुग्न निकै कठिन भइरहेको हामी अनुमान सक्छौँ ।
यति हुँदाहुँदै पनि मतदाता शिक्षा स्वंवेवकहरु बस्ती बस्तीमा पुगिरहेका छन् । प्रत्येक स्थानीय तहमा अध्यक्ष ज्यूहरुको अध्यक्षतामा मतदाता शिक्षा समन्वय समितिहरु गठन भइ क्रियाशील छन् । जनप्रतिनिधिहरुको नेतृत्व र सरोकारवाला अन्य दल एवं पक्षहरुको संलग्नता रहने हुनाले पक्कै पनि यी समितिहरु पहिलेभन्दा बढी सक्रिय छन् । कानुनले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई मतदाता शिक्षा स्थानीय समन्वयकर्ता र वडा सचिवहरुलाई सुपरिवेक्षक तोकेको छ र उहाँहरुले मतदाता शिक्षा कार्यक्रमको समन्वय र सुपरिवेक्षण गरिरहनुभएको छ । जिल्लामा प्रमु्ख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मतदाता शिक्षा जिल्ला समन्वय समितिले पनि समग्र रेखदेख र समन्वयको काम गरिरहेको छ । त्यसै गरी जिल्लामा सञ्चालित सबै एफ.एम. रेडियोहरुबाट मतदाता शिक्षा सम्बन्धी विभिन्न सन्देस, सूचना र शिक्षामूलक सामग्रीहरु प्रशारण भइरहेका छन् । तीमार्फत जिल्लाभर मतदाता शिक्षा घरघरमा पुगेको छ भने निर्वाचन आयोगबाट अन्य संचार माध्यम र तेस्रो पक्ष मार्फत पनि विभिन्न शिक्षामूलक सामग्री र कार्यक्रमहरु मतदाता सम्म पुर्याइरहेकोले गर्दा समयसीमाका बाबजुद पनि मतदाता शिक्षाप्रति आशावादी हुने प्रयाप्त आधार छन् र यो आफ्नै सीमाभित्र प्रभावकारी छ भन्ने मेरो भनाइ छ ।

निर्वाचनको समयमा आम सञ्चारमाध्यमसँग निर्वाचन कार्यालयले गरेका अपेक्षाहरु केकस्ता छन भनिदिनुस् न ?
सञ्चार जगत राज्यको चौथो अंग हो भनिन्छ । शासन सञ्चालनका हरेक पक्ष र कार्यहरुमा सञ्चार जगतको निर्णायक भूमिका रहन्छ । समाजमा ज्ञान निर्माण गर्न र शिक्षा प्रवाह गर्न सञ्चार माध्यमले जति भूमिका अन्य कुनै पक्षले पनि सक्छ जस्तो मलाइ लाग्दैन । निर्वाचनको सन्दर्भमा निर्वाचनलाइ सफल तुल्याउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउने र मतदातालाई सहयोग पुग्ने गरी सञ्चार माध्यमहरुले सूचना र समाचार सम्प्रेषण गर्नुपर्दछ । निर्वाचनसँग सम्बद्ध र सम्प्रेषणा गर्नुपर्ने सूचना वा सामग्रीलाई अधिकाधिक प्राथमिकता दिनुपर्छ भने आचारसंहिताको परिपालनामा पनि उत्तिकै जिम्मेवार र जवाफदेही हुनपर्छ भन्ने मेरो भनाइ रहेको छ । यसप्रति रोल्पाका सबै सञ्चार माध्यम र सञ्चारकर्मी मित्रहरु सचेत हुनुहुन्छ भन्ने मेरो विश्वास छ । यहाँहरुले निर्वाचनको माहौल निर्माण गर्ने हिसावले आचारसंहिताभित्र रहेर भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
 अन्त्यमा म रोल्पावासी सम्पूर्ण मतदाताहरुलाई मतदाता शिक्षा प्रति उत्सुक रहन, आफ्नो मतप्रति विवेकवान हुन र ढुक्क भएर मतदानमा सहभागी हुन हार्दिक अनुरोध गर्दछु । साथै राजनीतिक दल, उम्मेदवार र सरोकारवाल सबैलाई सक्दो सहयोग र सक्रिय सहभागिताका लागि विनम्र आह्वान गर्न चाहन्छु् । अनि जिल्ला निर्वाचन कार्यालयलाई मतदातासम्म पुग्न सहयोग गरिदिनुभएकोमा यहाँप्रति पनि हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद ।

You may also like