रोल्पाली विजित जनप्रतिनिधिहरुलाई एल.बि मगरको शुभकामना पत्र

माननीय रोल्पाली विजित प्रतिनिधि ज्यूहरु-
अथाह ईमान्दार र श्रद्धालु रोल्पालीवासीको हार्दिक शुभकामना र बधाई !!बधाई लेख्ने मेरो अब्बल क्षमता नहोला तर, पटक पटक जब रोल्पालीहरु तपाईंको जितको लागि, कुशल नेतृत्व छनोटको लागि आहोरात्र खटेर सिंहसानमा पुर्याउछन् अपेक्षाकृत परिवर्तन र विकासको लागि । तर, रोल्पाली नेताहरु कहि न कहि हौसिएका, मात्तिएका, विर्सिएका, चिप्लिएका र चुकेका चै पक्कै हो। पाँच वर्षमा एकचोटि रोल्पा आउदा तपाईहरु देखेको हुनुपर्छ-
रोल्पालीहरु छाती माथी ढुङ्गा राखी हासिरहेका , बाचिरहेका तर पनि नेतृत्वको समर्थनको लागि जाडोले कठ्याङग्रिएर ढकुरे छाती कमाउदै ताली बजाउदै थिए। नमरुन्जेल मान्छेको आश हुन्छ,अपेक्षा हुन्छ,सायद रोल्पालीहरु अझै पनि अपेक्षाकृत परिणाम खोजिरहेका छन्। नेतृत्वसँग तपशिलका समस्याको समाधान होृ्स् भन्ने कामना गरिरहेछन् –
१. रोल्पाको सामुदायिक विद्यालयहरुको अवस्था चिन्ताजनक र दयनीय छ। प्राथमिक विद्यालयको अनुमतिले माध्यमिक विद्यालय संचालन गर्नुपर्ने वाध्यता छ; विद्यालयमा २ जना दरवन्दी छ, ५ जना निजी शिक्षकहरु छन; निजी शिक्षकको तलव उठाउन अभिभावकहरु हातका चुरी, बाला बेच्नुपरेको छ; निजी शिक्षकहरु समयमै तलव नपाएर शिक्षा क्षेत्रमा उदासिन हुँनुपरेको छ। के रोल्पालीहरुले नि:शुल्क गुणस्तरीय शिक्षा नपाउँनुमा दस वर्षे जनयुद्धको सराप छ?
२.रोल्पा दशवर्षे जनयुद्धको सिकार बन्यो, धेरै युद्धाहरु जन्मे, सहिद बने; भयङ्कर भयावह परिस्थितिको सामना गर्दै रोल्पा बलेको थियो; चम्केको थियो; होस्टेमा हैसे गर्दै साम्यवाद र समाजवादको नाराहरु गुन्जायमान हुन्थ्यो । रोल्पा सुनेर दुनिया तर्सिन्थे। विकास, निकास र परिवर्तनमा पनि चमत्कार हुन्छ भन्ने थियो। तर, अचेल रोल्पाली देखि कोहि डराउदिन भेडा भन्छन् ! रोल्पा अझै किन रातो छ? रोल्पा किन चिप्लो छ? किन अँध्यारो छ रोल्पा? किन धुलाम्य हुन्छ? रोल्पाले अपेक्षाकृत परिणाम किन पाएन? किन उस्तै छ?
३. नेपालमा कार्यकर्तामुखि नेता, कार्यकर्तामुखि पार्टीको हावी भएको छ। आफ्नो पार्टीले देश बेच्दा पनि ताली पड्काउने र अरुक‍ो पार्टीले राम्रो गर्दा पनि खुट्टा तान्ने प्रवृत्ति छ। रुखमा ऐँजेरु पसेको छ, रुखले अक्सिजन दिन छोड्यो; सुर्यमा कहिले खग्रास त कहिले खण्डग्रास ग्रहण परिरहेको छ; हसियाँमा राम्रो पायन छैन, हतौडाले गिट्टी फोर्न सक्तिन; कलमको निप छैन, भाचिएको छ; हलोमा फाली छैन, गाइले घाँस देख्दैन।
त्यसैले, स्वतन्त्रले सातो नै खाइदियको छ,,पार्टि भित्र ऐजेरु आइदियको छ। घङ्गारुको लठ्ठीले धरानको खोला बगरमा फूल फलायो, काठमाडौंमा डोजर चलायो, के रोल्पाको धारोले पानी चुहाउछ? के रोल्पाली सधै भुइमान्छे बनिरहने हो? रोल्पा सधै ऐँठन परिरहने हो? रोल्पालीहरुले कुशल नेतृत्व पाउन सकेनन् वा बन्न सकेनन् ; रोल्पा कहानेर चुक्यो ?
४. चुनाबताका रोल्पाली युवायुवतीहरुलाई गाडिका गाडि ओसारिन्छ, खुशि मान्दै एक दिन भए पनि परिवार संग भेट हुने चाहना सहित गाउँ फर्कन्छन् तर, भोलि पल्ट त्यो युवा?
स्वदेशी तथा विदेशि युवा गाउँ फर्काउने निति किन बन्दैन? किन बेरोजगार बने युवाहरु? युवाहरुलाई गाँउमै भुलाउने ललिपप छैन? रोल्पामा महिला र वृद्धहरु मात्र छन्। महिलाहरु हलो जोतिरहेेछन्। वृद्धहरु बीउ छरिरहेछन्। बच्चाहरु खेत खनिरहेछन्।
यी सब देखेर रोल्पाली नेताहरुलाई बाहिरी नेताहरुले गिज्याइरहेछन् होला; रोल्पाको प्रगति भन्दा दुर्गति र यथास्थिति देखेर खूब मरन्च्याचे हासो हास्न मन लाग्दो हो। के रोल्पा हासोको पात्र मात्र बनिरहने हो? रोल्पालीहरु अझै अपेक्षाकृत परिणाम पर्खिरहेका छन्; तारेपहरमा झुन्डिएका वस्तीहरुमा बेचैन र निकृष्ट छन्; नेतृत्वको इशारामा गोली ठोक्नेहरु अचेल मुग्लानमा रोइरहेका छन्; स्थानिय तहको चुनावमा भोट दिनेहरु अचेल पश्चाताप गरिरहेछन्! संघ र प्रदेशको भोट दिनेहरु नारस र पछुतो अवश्य गर्ने छैनन्।भरभर्दो र विश्वासिलो नेतृत्व खोजिरहेका थिए ; त्यसैले, हिजोका दिनको आत्मालोचना र आत्मामुल्याङकन गरी समृद्ध रोल्पा, खुशी रोल्पाली बनाउने प्रतिवद्धतालाई मनन गर्दै सदैव सेवकमा कतिवद्धको लागि हार्दिक शुभकामना! विजित अविजित सबै संग समन्वय र सहकार्य गर्दै रोल्पालीहरुलाई तपाईहरुको आवश्यकता थियो भनेर प्रमाणित गरिदिनुहोला। हार्दिक बधाई !!
एल.बी मगर
रोल्पा!!!

   
 

You may also like