तिहार र मेरी दिदी

तिहार र मेरी दिदी


This image has an empty alt attribute; its file name is khemraj-sarma.jpg

खेमराज शर्मा
सुनिलस्मृति गाउँपालिका–घोडागाउँ रोल्पा ।।।

वर्ष दिनमा एक पटक मनाइने रमाइलो साँस्कृतिक पर्व हो, तिहार । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाइन्छ, जसलाई यमपञ्चक पनि भनिन्छ । पहिलोदिन कागको पूजा गरेर तिहारको आरम्भ गरिन्छ । त्यसपछि घरपालुवा जनावर कुकुरको पूजा गर्ने गरिन्छ । अनि गाई र चौंथो दिनमा गोरुको पूजा गर्ने गरिन्छ । पाँचौं दिनमा भाइ अर्थात मान्छेकै पूजा गरेर समापन गरिन्छ ।

धार्मिक दृष्टिकोणले अन्य अर्थ लागेपनि यी चारैथरि पशुपन्छीहरू मानव जीवनसँग सन्निकट छन् । कागलाई सन्देश दाता चराको रुपमा पुजिन्छ । कुकुर घरपालुवा जनावरमा निकै स्वामिभक्त र सन्तोषी जनावरमा पर्दछ । त्यसैगरि धार्मिक र कृषिकर्ममा गाईको ठूलो महत्व छ । गोरु पनि कृषि कर्मकालागि नभै नहुने जनावरमा पर्दछ । यसरी पशुपन्छी लगायत मानिसको समेत पूजा र सम्मान गर्ने पर्व हो, तिहार ।
हाम्रो धर्म संस्कृतिले नदीनाला, पृथ्वी, आकाश, वन जंगल, सौर्यमण्डल आदिको पूजा गर्न सिकाएको छ । त्यसैगरि सम्पूर्ण जीवजिवात्मा लगायत मान्छेकै पूजा र सम्मान गर्ने परम्परा कायम गरेको छ । तिहार शरद ऋतुमा पर्छ । यस ऋतु अन्य ऋतुहरुमध्ये सबैभन्दा सफा, शान्त र सुन्दर हुन्छ । नेपालको हावापानीमा न जाडो न गर्मी अर्थात समशितोष्ण याम र सुरम्य वातावरमा पर्ने यस चाडको विशिष्ट महत्व छ ।

आफ्नै लोक वाजाहरू बजाएर मनाइने लोक संस्कति देउसीभैलो, मारुनी जस्ता नाँच गानले वर्षभरिका दुःख, पीडा बिर्सन सकिन्छ । बारीका काल्ना करेसाभरि पहेँलै फूलेको शयपत्रीको सुन्दरताले धर्ती साँच्चिकै स्वर्णमय देखिन्छ । माहुरीको भुन्भुनावट, चराहरुको भिर्विरावट र सफा खोलाहरुको कल्ककलावटले प्रकृति नै नाचगान मखमस्तमस्त भए झै लाग्छ । यस्तो अपूर्व र सुयाममा पर्ने यस पर्व अघि नै किसानको उरिम र धन्सार अनाजले भरिपूर्ण हुन्छ ।


म र मेरो भाइको एकमात्र दिदी हुनुहुन्थ्यो, शोभा सुवेदी । मेरी दिदी उमेरले २० वर्ष जेठी हुनुहुन्थ्यो, म भन्दा । दिदी मेरो बिचमा जन्मिएका सबै दाइ–दिदीहरू पाँचभाविना खसेका हुनाले हामी तीन दिदी–भाइ मात्र थियौं । दश वर्ष अघि आजकै दिन अर्थात लक्ष्मी पूजाको अघिल्लो दिन दाङ, तुल्सीपुरमा बस्दै आउनुभएकी मेरी दिदीका हातमा टीका लगाउनलाई घरबाट हिंडेको थिएँ । आधा घण्टा जति पैदल हिंडेपछि दिदी खस्नुभएको खबर पाएँ, फोनबाट । थचक्क भुइँमा बसेँ । मेरो बाटो अगाडिका सारा रुख बिरुवाहरुमा मेरी दिदीको अनुहार देखेँ । तिहार भनेपछि केटाकेटी झैं चञ्चल र हुरुक्क हुने मेरी दिदी भाइलाई टीका लगाउन पाउने खुसीले शयपत्री बनेर फुल्थिन् । बाँचुञ्जेली सकेसम्म हात खाली राखिदिएनांै दिदीको दुइै भाइले ।


तीनदिन मात्र बढी बाँचेको भए त्यस साल दिदीको हात मेरो निधारमा पुग्ने थियो ।
अभाव र पीडाको पन्तुरो बोकेर यमपञ्चकै दिन यमलोकको यात्रा गरेकी थिइन् मेरी दिदी । जबजब तिहार नजिकिन्छ तबतब मलाई सताउँछ तिम्रो अभाव र सम्झनाले ।
दिदी ! तिम्रो निष्क्रमणपछि रित्ता छन्, हाम्रा निधार पनि । तिम्रो अनुपस्थितिले फोडिन छाडे दैलामा दुश्मनरुपी ओखरहरू । भाइको दिर्घायुको लागि लगाउने तेलको धारा पनि सुकेर बन्द भैसक्यो दिदी । भाइको खुसी र ऐश्वर्यकालागि तिम्ले मूलढोकामा चढाउने गरेको शप्तरङ्गी वाशुधाराहरू सप्पै बन्द भए दिदी मेरो जीवनभरका लागि ।


ढकमक्क शयपत्री फुलेको देख्दा म इष्र्या गर्छु फूलको बोटसित । म छटपटाउँछु तिम्रो संझनाले । “म मरेपछि भाइको निधारमा अरुलाई हात लगाउन नदिनू’’भनेकी थियौं । मैले तिम्रो आज्ञा शिरोधार्य गरेको छु । आज तिमीलाई सम्झनु पर्ने दिन । मैले के पो दिन सक्छुर दिदी तिमीलाई ! मेरी दिदी तिमीलाई श्रद्धा सुमन !

You may also like