गंगादेवा गाउँपालिका रोल्पामा एकै दिन ४२ जनामा कोरोना भाइरस पुष्टि

गंगादेवा गाउँपालिका रोल्पामा एकै दिन ४२ जनामा कोरोना भाइरस पुष्टि
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is korna-1.jpg


रोल्पा, गंगादेव गाउँपालिकामा ४३ जनाको पीसीआर जाँच गर्दा ४२ जनालाई आज कोरोना पोजिटिभ देखिएको छ । एकै पटक गरिएको परीक्षणमा धेरै संख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको यो जिल्लामा पहिलो पटक हो ।
गाउँपालिकाबाट स्वाब सङ्कलन गरी भैरहवा पठाइएको पीसीआर जाँच गर्दा शुक्रबार पोजिटिभ देखिएको हो । पोजिटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय रहेको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो ।
गाउँपालिकाको लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो । सुरुमा कोरोना पोजिटिभ देखिएकाको कन्ट्याक्टमा रहेका गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । स्वाब परीक्षणबाट सबै जसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ । गाउँपालिका उपाध्यक्ष, ३ नं. वडाअध्यक्ष, विभिन्न विषयगत शाखाका कर्मचारी र स्थानीयको स्वाब परीक्षण गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय वैशाख १२ गतेदेखि नै सिल गरिएको थियो ।

गाउँपालिकामा गाउँपालिका कार्यालय, सबै वडा कार्यालय र विद्यालय बन्द भएका छन् । कोरोना पोजेटिभ देखिएकाहरु मध्ये कतिपयमा रुघाखोकी, हाछ्यू र ज्वोरो आउने लक्षण देखिएपनि कतिपयमा कुनै लक्षण देखिएको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो । कोरोना भाइरसको दुई चरणका खोप लगाएका व्यक्तिमा पनि पोजिटिभ देखिएको छ । भाइरस सङ्क्रमितहरु आ–आफ्नो घर, कोठा र क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन् । कोरोनाको खोप लगाइदिन खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजिटिभ देखिएको छ । दोस्रो चरणको खोप लगाई दिन खटिएका स्वास्थ्यकर्मीलाई पनि पोजेटिभ देखिएको छ । समुदायमै कोरोना फैलिसकेको अनुमान सरोकारवाला निकायहरुले गरेका छन् । कोरोना पोजेटिभ देखिएका ४३ जनासँग गाउँपालिकाका धेरै सेवाग्राही समेत कन्ट्याक्टमा रहेका छन् । ४२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गर्नेतर्फ पहल गरिरहेको गाउँपालिका अध्यक्षको भनाइ छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सङ्क्रमणबाट जोगाउन सूचना जारी गरेको छ । जिल्ला प्रवेश नाका खुंग्री र होलेरीमा हेल्थ डेस्क व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भीडभाड नगर्न र स्वास्थ्यको मापदण्ड पालना गर्ने गरी निर्णय सार्वजनिक गरेका छन् । जिल्लाका सबै विद्यालय बन्द छन् । पूर्व निर्धारित सबै परीक्षा स्थगित गरिएका छन् । दश वटा पालिकामा कम्तिमा एउटा आइसोलेसन केन्द्र संचालन गर्न भनिएपनि त्यस अनुरुप कार्य हुन सकिरहेको छैन् । वैदेशिक मुलुक भारत र सहरी क्षेत्रबाट गाउँ फर्किएका समेत क्वारेन्टाइनमा बसेका छैनन् । कोरोना लक्षण सहितका विरामी स्वास्थ्य संस्थामा पुगेपनि स्वाब संकलन गर्ने व्यवस्था नगरेको भन्दै नागरिकबाट गुनासो व्यक्त गरेका छन् ।

You may also like