आगलागीबाट त्रिवेणी र रुन्टीगढी गाउँपालिकामा ४२ घरगोठ जले, हावाको कारण पुनः आगो मानव वस्तीमा प्रवेशको त्रास

आगलागीबाट त्रिवेणी र रुन्टीगढी गाउँपालिकामा ४२ घरगोठ जले, हावाको कारण पुनः आगो मानव वस्तीमा प्रवेशको त्रास
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is f1.jpg


रोल्पा, त्रिवेणी गाउँपालिका २ नं. वडा पिराले गाउँमा ३ सय हेक्टर भन्दाबढी जंगलमा आगलागिबाट ४२ वटा घरगोठ जलेका छन् । आगो नियन्त्रणका लागि सरोकारवाला निकायहरु सक्रिय भूमिका निर्वाह गरेपनि हावाको कारण मानव वस्ती आगो पुनः प्रवेश गर्छ कि भन्ने त्रासमा बसेका छन् ।
गाउँमा फुसका छाना भएका २६ वटा घर सबै जलेका छन् । सोमबारबाट यस वडाका विभिन्न ५ वटा सामुदायिक वनमा आगो लाग्न सुरु गरेको थियो । मंगलबार साँझ ७ः०० बजेदेखि मानवीय वस्तीमै आगो प्रवेश गरेको थियो । सोही वडाको बर्तिबाङ गाउँ, चेत्रे गाउँमा र यसै गाउँपालिकाको ३ नम्वर वडामा गरी ४२ वटा घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । साथै आगलागिबाट १६ वटा बाख्रा, ७ वटा गाई, एउटा बङ्गुर जलेर मरेका छन् । साविक नुवागाउँ गाउँ विकास समितिका १, २, ३, ४ वडामा आगो फैलिएको हो । आगलागीबाट आफ्नो घर नष्ट भएपछि ३५ घरपरिवार खुल्ला आकाशमुनि दैनिकी बिताउन बाध्य भएका छन् ।
अग्नी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा र गाउँपालिकाले चिउरा, चाउचाउ, त्रिपाल जस्ता राहत सामाग्री वितवरण गरिरहेको नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डि.वी. घर्तीमगरले बताउनुभयो । त्रिवेणी गाउँपालिकाबाट सुरु भएको आगलागी रुन्टीगढी गाउँपालिकाको ९ नम्वर वडाको सर्पाल र गुनाम गाउँको जंगलमा पुगेको छ । सर्पाल र गुनाम लगायत ठाउँका ३ सय बढी घर आगलागीको जोखिममा रहेका छन् । आगलागी भएको वस्तीमा खानेपानी, विजुली बत्ती, अवरुद्ध भएको छन् । वस्तीमा लागेको आगो नियन्त्रण आएको भएपनि जंगलमा लागीरहको आगो नियन्त्रणमा अझै पनि आउन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाको सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष कुमार के.सी.ले बताउनुभयो । हावाको कारण आगो पुनः मानव वस्तीमा फर्किन सक्ने त्रास कायमै रहेको छ । अग्नी आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीयबासी सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

You may also like