१२ औं राष्ट्रिय जनगणना नेपालको एउटा ऐतिहासिक अवसरको रुपमा लिनुपर्छः जिल्ला जनगणना अधिकारी डोर बहादुर बस्नेत

१२ औं राष्ट्रिय जनगणना नेपालको एउटा ऐतिहासिक अवसरको रुपमा लिनुपर्छः जिल्ला जनगणना अधिकारी डोर बहादुर बस्नेत

राष्ट्रिय जनगणनाबाट नेपालको नीति, योजना, नागरिकको स्तर, आगामी योजना तयको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रिय जनगणना प्रत्येक दश वर्षको अन्तरालमा राष्ट्रिय जनगणना संघीय सरकारले विगतदेखि गर्दै आएको छ । जनगणना समय अनुकुल विधिहरु पनि परिमार्जन सहित हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ तयारी देशभरि तीव्र गतिमा भइरहेको छ । सोही क्रममा मिति २०७७ साल चैत्रको ३ गते जिल्ला स्तरीय जनगणना कार्यालय औपचारिक उदघाटन गरेर जिल्लामा जनगणनाको आधारभूत तयारी अगाडि कार्यालयले बढाएको छ । जनगणजनासँग सम्बन्धित विषयमा जिल्ला जनगणना अधिकारी डोर बहादुर वस्नेतसँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
धन्यवाद ।
 कुन कार्यमा व्यवस्त हुनुहुन्छ ?
कार्यालय भर्खरै स्थापना भएकोले कार्यालय व्यवस्थापन, जनशक्ति व्यवस्थापन र विभिन्न सरोकारवाला निकायसँग समन्वय जस्ता कार्यहरुमा म व्यस्त छु ।
 जिल्ला कार्यलयको कार्य तालिमका कसरी तय भएको छ ?
केन्द्रीय तथ्याङ्क विभागले नै जिल्ला जनगणन कार्यालयले सम्पादन गर्नुपर्ने कार्यहरुको कार्य तालिमका तय गरिदिएको हुँदा सोही अनुसार समयमै काम सम्पन्न गर्ने गरी जिल्ला कार्यालय तयारीमा जुटेको छ ।
 राष्ट्रिय जनगणना २०७८ को हालसम्मको उपलब्धिहरु बताइदिनुहोस्, न ?
केन्द्रीय स्तरमा विभिन्न चरणहरुका तालिमहरु सम्पन्न भएका छन् । सोही क्रममा प्रदेश र जिल्ला जनगणना अधिकारी र सहायक जनगणना अधिकारीको तालिम सम्पन्न भई प्रदेश र जिल्लामा खटि सकेको अवस्था छ । प्रदेश र जिल्लामा गरी जम्मा ८७ वटा कार्यालयहरु स्थापना भएका छन् । प्रदेश र जिल्ला जनगणना कर्यालयहरुलाई आवश्यक जनशक्ति व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको अवस्था छ ।
कुन–कुन आधार यस पटकको जनगणना हुँदै छ ?
यस पटकको जनगणना आधारहरु निम्न अनुसार छन्, जसमा तथ्याङ्क ऐन, २०१५, राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६, राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ हुन् ।
 जनगणना कुन–कुन संरचनामा जनगणनाको तयारी हुँदै छ ?
यस पटकको जनगणना संघीय स्तरमा केन्द्रीय तथ्याङ्क विभाग, सातै प्रदेशमा प्रदेश जनगणना कार्यालय, जिल्ला स्तरमा ८० वटा जिल्ला जनगणना कार्यालय (धेरै जनसंख्या भएका जिल्लामा एक भन्दा बढि जिल्ला जनगणना कार्यालय रहने) र ३४९ वटा स्थानीय तहमा स्थानीय जनगणना कार्यालय रहने व्यवस्था छ । रोल्पा जिल्लामा १ जिल्ला जनगणना कार्यालय र ४ वटा स्थानीय तहमा स्थानीय जनगणना कार्यालय रहेका छन् ।
जिल्लामा कुन–कुन तहका कति जना कर्मचारीको आवश्यक छ ?
रोल्पा जिल्लामा जिल्ला जनगणना कार्यालयमा १ जना जिल्ला जनगणना अधिकारी, १ जना सहायक जिल्ला जनगणना अधिकारी, १ जना लेखापाल, १ जना सह लेखापाल, २ जना गणक, २ जना खरिदार, २ जना कार्यालय सहयोगीको व्यवस्था छ । जिल्लामा ७ जना कर्मचारीको अवाश्यकता छ । ति मध्ये जिल्ला जनगणना अधिकारी केन्द्रबाट खटाएको अवस्था छ भने अन्य कर्मचारी अन्य कार्यालयबाट काजमा ल्याउने तयारी भइरहेको छ ।
 मातृभाषिक नागरिकको बसोबास भएको हुँदा स्थानीय कर्मचारीको आवेदन ल्याउन के–के पहल गर्नुभएको छ ?
स्थानीय नागरिकको आवेदनका लागि जिल्ला जनगणना समन्वय समितिमा छलफल सम्बन्धमा विभिन्न कार्यालयका प्रमुख ज्यूहरु तथा सञ्चारकर्मीहरुसँग छलफल गरिएको, कार्यालय प्रमुखहरुको बैठकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल तथा सूचना प्रवाह गरिएको, कार्यालय स्थापना सम्बन्धि सूचना धेरै सेवा ग्राहीहरु आउने कार्यालयको सूचना पाटीमा टाँस गर्ने व्यवस्था गरिएको, कार्यालयमा अनलाइन दरखास्त लिने र अनलाइन इन्ट्रि गरिएको छ । स्थानीय नागरिकको सहभागिताका लागि अनौपचारिक छलफलहरु समेत गरिएको छ ।
 पर्याप्त स्थानीय उम्मेदवारबाट आवेदन नआएमा कर्मचारीको व्यवस्थापन कसरी गर्ने व्यवस्था छ ?
पर्याप्त आवदेन नआइ कर्मचारी अभाव भएमा स्तथानीय स्तरमा कार्यरत शिक्षक तथा कर्मचारीहरु काजमा ल्याई काममा लगाइनेछ ।
 हालसम्म जिल्लाबाट कति जनाले अनलाइन आवेदन भरेका छन् ?
अनलाइन आवेदन देशभरबाट गर्न सकिने भएकोले कुन जिल्लाबाट हालसम्म कति जानले गरेका छन् भन्न अहिले भन्न कठिन छ तर केन्द्रीय तथ्याङ्क विभागसँग सम्र्पक गरी यो विवरण पाउन सकिन्छ जस्तो लाग्छ । चैत्रको ५ गतेदेखि जिल्ला जनगणना कार्यालयबाट अनलाइन आवेदन लिने र अनलाइनमा इन्ट्रि गर्ने कार्य भइरहेको छ । कार्यालय भर्खरै स्थापना भएकोले यहाँबाट आवेदन दिने संख्या थोरै रहेको छ ।
 कुन–कुन आधारमा कर्मचारी छनौटको व्यवस्था छन् ?
कर्मचारी छनौटको आधारहरु निम्न छन्, जसमा नेपाली भाषाका अतिरिक्त स्थानीय भाषा बोल्न, बुझ्न र अरुलाई बुझाउन सक्ने, जनगणना तथा सर्वेक्षणमा सहभागी भएको वा तालिम लिएको, तथ्याङ्क वा जनसंख्या विषय लिई स्नातकोत्तर तह अध्ययरत वा उत्तिर्ण गरेको व्यक्ति, गणका लागि १२ कक्षा उत्तिर्ण वा प्रमाणपत्र तह उत्तिर्ण, सुपरिवेक्षकका लागि स्नात तह उत्तिर्ण हुन् ।
 कार्य क्षेत्रमा खटिएका कर्मचारीको जीवन विमा सहित अन्य के–के सुविधाहरुको व्यवस्था भएका छन् ?
कार्य क्षेत्रमा खटिएका कर्मचारीको जीवन विमा सहित घाइते भएमा उपचार खर्च बढिमा रु ५० हजार, तलबको ५० प्रतिशत जनगणना निश्चित रकम उपलब्ध हुनेछ ।
 कर्मचारी विरामी वा अन्य कारणले विदामा बस्नुपर्ने बाध्यत्मक अवस्थामा वैकल्पिक कर्मचारीको व्यवस्था कसरी गर्नुभएको छ ?
जनगणना कार्यको सन्र्दभामा कार्यालयको काम भन्दा गणकको काम महत्वपूर्ण भएकोले कार्य क्षेत्रमा खटिने सुपरिवेक्षक र गणक विरामी परेमा वा अन्य कारणले काम गर्न असमर्थ भएमा स्थानीय शिक्षक तथा कर्मचारी परिचालन गर्न सक्ने गरी तयारी गर्दै छौं ।
 यस पटकको जनगणना सुपरिवेक्षक र गणक कति दिनसम्म कार्य क्षेत्रमा काम सम्पन्न गर्नुपर्ने व्यवस्था छ ?
यस पटकको जनगणनामा सुपरिवेक्षकले २० दिनमा घर परिवार सूचिकरणको कार्य र गणकले १५ दिनमा मुख्य गणना कार्य सम्पन्न गर्ने छन् ।
 जिल्लामा सरोकारवाला निकायहरुको भूमिकालाई कसरी नियाल्नुभएको छ ?
म जिल्लामा आएकै दिन जिल्ला जनगणना समन्वय समितिका े बैठक गरियो । यसमा प्रमुख जिल्ला अधिकारी ज्यूको महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । समितिको सबै सदस्यहरुबाट जनगणनाका लागि आवश्यक सक्दो सहयोगको आश्वासन व्यक्त गनुभएको छ । त्यसैगरी कार्यालय प्रमुखहरुको बैठकमा पनि सहभागी हुने अवसर प्राप्त भयो र त्यहाँ पनि मैले आफ्ना कुराहरु राखे र सबैबाट सहयोग तथा सल्लाहका लागि अनुरोध गरेको थिएँ । त्यहाँ पनि सबैको सहयोगप पाउन सक्ने अवस्था मैले देखेँ । जिल्ला र स्थानीय तहसम्म विभिन्न समन्वय समिति र सहजीकरण संयन्त्र भएकोले यसको प्रभावकारी परिचालनबाट जनगणना कार्यलाई सफल बनाउन सघाउ पुग्ने म विश्वष्ट छु ।
 सरोकारवाला निकायहरुसँग कार्यालयले गरेको अपेक्षाहरु के–के हुन् ?
जिल्ला स्थित सरोकारवाला निकायहरुसँग जिल्ला गनगणना कार्यालयको अपेक्षा निम्नि अनुसार छन्, जसमा जनशक्ति व्यवस्थापन तथा परिचालनमा सहयोग, सञ्चार क्षेत्र तथा नागरिक समाजका अगुवाहरुबाट जनगणनाको बारेमा सूचना प्रचार प्रसारमा सहयोग, नागरिक सचेतना गर्न सहयोग, सबैको सहभागीता गराउन सहयोग, जनगणना कार्यमा खटिने कर्मचारी, सुपरिवेक्षक तथा गणकको सुरक्षाको उचित प्रबन्ध गर्न, सुपरिवेक्षक तथा गणकलाई गणना कार्यमा सहयोग ।
 जिल्लाबासीहरुलाई कार्यालयको तर्फबाट के भन्नु हुन्छ ?
तथ्याङ्क संकलन योजना निर्माणका लागि, योजना निर्माण विकासका लागि, विकास जनताका लागि हुने भएकोले राष्ट्रिय जनगणना जस्तो महत्वपूर्ण महान अभियानमा सम्पूर्ण जिल्लाबासीहरुलाई सरिक भई आफ्नो घर दैलोमा आउने सुपरिवेक्षक तथा गणकलाई जनसंख्यिक, सामाजिक तथा आर्थिक सम्बन्धि पारिवारिक र व्यक्तिगत सत्य तथ्य विवरण दिई राष्ट्रिय जनगणना कार्यलाई सफल बनाउन सहयोग गर्नु हुन अनुरोध गर्दछु । तपाईहरुले दिएका विवरणहरु तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहनेछन् ।
 अन्तिममा केही कुरा छुटेका छन्, कि ?
जनगणना लगायतका राष्ट्रिय अभियानमा सफल बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । रोल्पा जिल्लामा तपाई लगायत सबै सञ्चारकर्मीहरुको यस राष्ट्रिय अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान रहने छ । सही सूचनाको माध्यमबाट सरकार र जनताको बिचको सुमधुर सम्बन्ध स्थापित गर्न सेवा प्रवाहलाई प्रभावकारी बनाउन र जन सहभागीता अभिवृद्धि गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण स्थान हुने भएकोले आगामी दिनमा यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछु । मलाई राष्ट्रिय जनगणना सम्बन्धि विचार राख्ने अवसर दिनु भएकोमा तपाई र पत्रिका परिवारप्रति आभार व्यक्त गर्दछु । राष्ट्रिय जनगणना अभियानलाई सफल बनाउनका लागि जिल्ला स्थित सरोकारवाला निकायहरु लगायत जिल्लाबासीहरुलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाकहका लागि अनुरोध गर्दछु ।

You may also like