परिवेशलाई नजिजबाट नियाल्दै-पुर्ण बहादुर भण्डारी,

परिवेशलाई नजिजबाट नियाल्दै –
पुर्ण बहादुर भण्डारी,

पुर्ण बहादुर भण्डारी,

हाल रोल्पा लिबाङ ।।।


धेरै समय रहन नसकुला थोरै समय भएपनि म रोल्पाली परिवेशसँग हुर्किरहेको छु । आज यहाँ छु । तर, भोली कहाँ हुन्छु मलाइ नि थाहा छैन । त्यति फुर्सद त हुँदैन । तर, म थोरै फुर्सदको समयमा धेरै बिषयवस्तुहरुलाई सम्झिरहेको हुन्छु र सम्झिएका ती समय सान्दर्भिक बिषयवस्तुहरुलाई एउटा लेखको रुपमा बाहिर ल्याएर लेखकको भुमिका पनि निर्बाह गर्छु । त्यो पनि कसैको वा कुनै बिषयवस्तुप्रति नकारात्मक आलोचना गरेर होइन, सकारात्मक दृष्टिकोण राखेर संदेशमुलक हुने गरी लेख्ने प्रयास गर्छु । कहिले बाढीपहिरो, कहिले कोरोना भाइस सम्बन्धी, कहिले पर्यटकीय स्थलहरुको बारेमा,कहिले बिज्ञान र प्रबिधि ,कहिले बदलिदो मानवीय जीवनशैली यस्तै यस्तै बिषयवस्तुहरुको बारेमा लेख्दै गर्दा आजसम्म शुभचिन्तक सबैबाट उत्तिकै साथ, सहयोग, माया, हौसला अनि सम्मान पनि पाइरहेको छु । यसर्थमा तपाईहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
आज म फेरी तपाईहरु सामु एउटा लेख तयार गर्दैछु सबैकुराहरु समेट्न नसकिएला । तर, केही अनि कोही कसैलाई जानकारी त अवश्य होलानी !

This image has an empty alt attribute; its file name is jaljala-hill.jpg

जलजला हिमाल ।।।
भ्रमण वर्ष २०२० चलिरहँदा देशमा एक सय आकर्षक गन्तव्य स्थलको रुपमा रोल्पाको सदरमुकाम लिबाङदेखि निकै टाढाको दुरीमा रहेको जलजला हिमालपनि त्यही एक सयको सूुचिमा परेको रहेछ । यो खुसीको कुरा हो । रोल्पाली परिवेशको पहिचान र शान हो भन्दा सायद खासै फरक नपर्ला । भनेकै जस्तो गरी तत्कालै भौतिक पुर्वाधार सेवा सुविधाका कुराहरु लगायत सबै व्यवस्थापन हुन नसक्ला । तर, एउटा पहिचानको रुपमा सहजै बिहानै उठने बित्तिकै झुल्किने घामसँगै आफ्नै घर आँगनमा हाँसिरहेको त्यो मुस्कानसँगैको सेतो हिमाल देख्न पाउनु निकै खुसीको कुरा हो । चाहे कठाङ्गदो त्यो चिसो मौसममा जमिरहेको हिउँ किन नहोस, चाहे चर्को घामसँगै बगिरहेको हिउँ किन नहोस् । तर, आन्तरिक र बाहिरबाट आउने पर्यटकहरुको आगमनले यो ठाउँ भनौ समग्र रोल्पाको शान बढिरहेकै छ । दीर्घकालीन सोचका साथ मुख्य कुरा यातायातलाई सहज बनाउदै यो ठाउँलाई व्यवस्थित गर्दै लैजाने हो भने भोली आर्थिक, सामाजिक रुपमा रोल्पालाई आत्म निर्भर, सक्षम बन्न सहयोग पुग्नेछ ।

This image has an empty alt attribute; its file name is p4.png


ढुङ्गे बगैंचा ( Rock Garden) ।।।।
त्यसैगरी सदरमुकाम लिबाङबाट करिव ९ किलोमिटरको नजिकैको दुरीमा रहेको ढुङ्गे बगैँचा (Rock Garden) यतिबेला सदरमुकामवासीहरुको लागी मात्रै होइन सबैका लागि मनोरञ्जन दिने आकर्षक र महत्वपूर्ण स्थलको रुपमा चिनिएको छ । सदरमुकामबाट यो रमणीय ठाउँ उचाइमा रहेकाले पनि यहाँबाट सदरमुकाम रहेको लिबाङ बजार, गुरुङ गाउँको होमस्टे, जलजला हिमाल लगायत वरिपरिका अग्ला होचा सुन्दर रमणीय डाँडाकाडाँहरुको सजिलैसँग अवलोकन गर्न सकिन्छ । आफ्नै विशेषता र पहिचानमा अबस्थित ढुङ्गे बगँैचाको यो ठाँउको सेरोफेरोलाई व्यवस्थापन गर्ने कामले यतिबेला सुरुका दिनभन्दा आजभोलि तीव्रता पाइरहेको देखिन्छ जस्का कारण घुम्न र मनोरञ्जन लिन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई केही सहज हुने देखिन्छ । विशेष गरी नगरपालिकाकै शान र रेखदेखको रुपमा चिनिने यो ठाउँलाई वरिपरि तारजाली लगाएर एरियालाई सुरक्षित राख्नु, रोल्पा जिल्लालाई चिनाउने महत्वपूर्ण स्थलहरुलाई सबैले देख्ने गरी राखिनु, दुर्लभ मानिएको जनावर हाब्रे (Red Panda)को तस्बिरलाई आकर्षक शैलीमा सजाएर सबैले देख्ने राखिनु, बसेर आनान्द लिनलाई शोफा आकारमा सजाएर ठाउँ ठाउँमा राखिनु, सिंडिहरु, प्रतिक्षालय, शौचालयको निर्माण भएको देखिनु, फोहोर व्यवस्थापनका लागि ठाउँ÷ठाउँमा डस्बिनहरु राखिनु, आफ्ना ठूला तथा साना सवारी साधनहरु लिएर अबलोकनसँगै मनोरञ्जन लिन जानेहरु सबैलाई सुरक्षित पार्किङ्ग स्थलको व्यवस्था हुनु देखिनु, बगैँचालाई सुन्दरता दिन विभिन्न जातका बिरुवाहरु लगाइएको देख्न पाइनु जस्ता थुप्रै कुराहरुले यस क्षेत्रलाई प्रर्वद्वन गर्नेतर्फ सबै क्षेत्रको चासो रहेको देखिन्छ । अहिले निर्माणकै क्रममा रहेको भ्यु–टावरको अन्तिम कार्य सकिएपछि यस ठाउँको महत्त्व झन बढ्ने देखिन्छ । स्व–स्फुर्त रुपमा आफै रमाइरहेका सजिएका वस्तुहरुलाई सरोकारवाला निकाय संघ संस्थाहरु सबैले आगामी दिनम अलिकति चासोका साथ व्यवस्थापन गर्दै लैजाने र प्रचारप्रसार गर्ने हो भने आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा यही ठाउँलाई ठूलो फाईदा पुग्ने र रोल्पाली परिवेशको इज्जत प्रतिष्ठा अन्तरास्ट्रिय स्तरमा समेत पुग्न गई पर्यटन प्रर्वद्वनमा थप सहयोग मिल्ने देखिन्छ ।

This image has an empty alt attribute; its file name is home-1024x576.jpg

गुरुङ गाउँको होमस्टे ।।।
सदरमुकामबाट निकै नजिकै दुरीमा रहेको गुरुङ गाउँको होमस्टे पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । आफ्नै भौगोलिकता, मौलिकता, सांस्कृतिक रहनसहन र परिवेशमा रमाइरहेको गुरुङ गाउँको यो सुन्दर अनि रमणीय स्थानमा अवस्थित होमस्टेले आफ्नो छुट्टै इज्जत, प्रतिष्ठा बोकेको पाइन्छ । यो स्थानबाट सदरमुकाम लिबाङ बजार, ढुङ्गे बगैँचाको भ्यू टावर, वरीपरीका रमणीय स्थानहरुको सजिलैसँग अवलोकन गर्न सकिन्छ । हरेक वर्षको पौष महिनाको १५ गते गुरुङ जातीहरुले मनाउने तमु ल्होसार पर्वले यहाँको मौलिक र सांस्कृतिक पन झलकाएको देखिन्छ । मेलापर्व र समय समयमा घुम्न मनोरञ्जन लिन जानेहरुको भिडभाडले यो ठाउँलाई शोभा बढाएको देखिन्छ । कुनै समय यातायात लगायतका कुराहरुको ब्यबस्थापन हुँदै जाने कुरा आफ्नो ठाउँमा छ । तर, तत्काल यो ठाउँमा पुग्न साना सवारी साधनहरुबाट मात्र सम्भव देखिन्छ । हिउँदमा र वर्षायाम मा समेत सवारी साधन लैजान सक्ने अवस्था रहेमा यो ठाउँको महत्व अझै बढी हुने देखिन्छ ।
राज्यले आफ्नो देशमा मात्रै होइन अन्तराष्ट्रिय स्तरमा समेत चिनिने गरी रोल्पामा पनि पर्यटकीय स्थलहरु छन । जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुरक्षितका साथ मनोरञ्जन दिलाउन सकिन्छ है भन्ने कुरा सुचिकृत गराउनु रोल्पालीहरुको लागी खुसीको कुरा हो । शान ,पहिचान अनि मौलिकतासँग जोडिएका कुराहरुलाई हास्यास्पद ठान्नु र सबै कुराहरुलाई हास्यास्पद ठान्नु र सबै कुरा राज्यले नै गरिदिन्छ हामीले केही गर्नु पर्दैन भनेर त्यही सोच अनि विचार राखिरहनु पक्कै पनि हाम्रो आफ्नै परिवेशलाई भुलेर अरु कुनै ठाउँको गुणगान गाउँंनु आफू खेलिरहेको घरआँगन भुलेको जस्तै अनुभुति हुनेछ । कोरोनाको महामारी चलिरहेको अहिले को अबस्थाको कारण सोंचेको जस्तो सहज तरिकाले विकास निर्माणका कामहरुले गति लिन सकिरहेका छैनन् । जस्ले गर्दा राज्यले बनाएका सोंच विचारलाई सहज तरिकाले अगाडि बढाउन सकिरहेको अबस्था छैन । यस्तो अबस्थामा हामी सचेत रहँदै राज्यलाई सहयोग गर्नु महत्वपूर्ण कुरा हो । देशमा लुकेर रहेका सामाजिक परिवेशसँगै महत्व र प्रतिष्ठा बोकेका बिषयवस्तुहरुको संरक्षण गर्दै बाहिरसम्म ल्याउने कोसिस गर्नु हामी सबैको दायित्व हो अनि मात्र हामी चिनिनेछौ र हाम्रो कला संस्कृति र त्यही परिवेशले हामीलाई चिनाउनेछ । आज म यस्तै सम्झिरहेको छु ।

You may also like