सुनिलस्मृति गाउँपालिकामा प्रधानाध्यापक भत्ता शत प्रतिशत वृद्धि

सुनिलस्मृति गाउँपालिकामा प्रधानाध्यापक भत्ता शत प्रतिशत वृद्धि
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा


रोल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले प्रध्यानाध्यापक भत्ता शत प्रतिशतले वृद्धि गरेको छ । गाउँपालिकाका प्रधानाध्यापकहरुलाई कार्य सम्पादनमा भत्ता वृद्धिले प्रोत्साहित गरेको छ ।
यस गाउँपालिका शिक्षा शाखाको बैठकबाट निर्णय भएकाले आ.व. २०७७÷०७८ को चौथो कार्यपालिका बैठकबाट अनुमोदन गर्दै प्रधानाध्यापक भत्तालाई बढाएको हो । गाउँपालिकाको समग्र विकासको लागि सबैभन्दा पहिले शिक्षा आवश्यक पर्ने र शिक्षा सुधारमा विद्यालय प्रशासनको भूमिका अहम भएकाले प्रध्यानाध्यापकहरुलाई प्रोत्साहनसँगै प्रधानाध्यापक भत्ता बढाइएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । गाउँपालिकाले कोरोना भाइरसको कारण लामो समय बन्द रहेका विद्यालयहरु असोज ११ गतेदेखि जोरविजोर प्रणालीबाट सञ्चालन गर्दै आएको छ । चौथो कार्यपालिका बैठकबाट विद्यालयको अवस्था हेरी सिकाइ सहजिकरण गर्न विद्यालय व्यवस्थापन समितिको बैठकबाट आफ्नो अनुकुलतामा विद्यालय सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मा गाउँपालिकाले दिएको छ । साथै विद्यालयको योजना निर्माणमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु उपभोक्ता समितिमा रहि काम गर्नलाई समेत कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिका प्रेस संयोजक आशिष भारद्वाजले जानकारी दिनुभयो ।

You may also like