भेरीको छाल

 


–चन्द्र जि.एम.

प्रियासी !
तिमीलाई माया गर्ने यो मुटु
र मुटुलाई बोकेर हिड्ने यो शरीर
एक साथ बगेको छ यो भेरीमा ।
जब यो छातिमा बल्यो प्रेमको आगो
न छेक्न सक्यो उमेरको पर्खालले
न छेक्न सक्यो लकडाउनको साङ्लोले
न छेकेको हो भेरीको छालले
मात्र मान्छे भित्र सदियौ देखि वगिरहेको
जातको अर्को भेरी बौलाए पछि
प्रेम बोकेर बगेको हो यो शरीर ।
हो प्रिय
म तिमीलाई यति धेरै प्रेम गर्छु की
सोचको सिमाना भन्दा धेरै
वीचारको गहिराई भन्दा धेरै
सायद समयको आयु भन्दा धेरै
र त कथित जातको विभेदलाई मार्न
प्रेम सँगै बगेको हो भेरीमा
लाग्छ
मैले फूलसँग प्रेम गरेको हु
किन की, फूलको कुनै जात हुँदैन
जसको पनि आँगनमा फुलिदिन्छ फूल
जसको पनि शीरमा सजिदिन्छ फूल
लाग्छ
मैले मुटु सँग प्रेमको हो
सायद मुटुको पनि कुनै जात हँुदैन
एउटै रंग हुन्छ मुटुको
एउटै धत्कन हुन्छ मुटुको
तर फुल भन्दा ठूलो जात भए पछि
मुटु भन्दा ठुलो जात भए पछि
हारेको हो मेरो यो फुल जस्तै मुटुले
र केवल यो युगलाई
केही यादहरुको इतिहास छोडेर
बगेको छु जातको छाल मिसिएको भेरीमा ।
मलाई राम्ररी याद छ
सबै मान्छ,े मान्छे जस्तै बाँच्न
सबै रगत, रगत जस्तै बग्न
सबै पानी, पानी जस्तै पिउन
बन्दुक बोकेका हुन मेरा बा ले
रगत बगाएका हुन मेरो दाई ले
आशु पिएकी हुन मेरी आमाले
गणतन्त्र बोकेको यो देशको शीरमा
यउटै प्रश्न छोडेको छु भेरीको छाललाई
मेरो बुवाको बन्दुक कुन जातको हो ?
मेरो दाईको रगत कुन जातको हो ?
मेरो आमाको आशु कुन जातको हो ?
यो सरकारको आँखा कुन जातको हो ?
र स्वयं यो देश कुन जातको हो ?

You may also like