आ.व. २०७५–०७६ चार सय घर फुसको छानोमुक्त बन्दै

 

 

सुलिचौर– रोल्पा

सुनिलस्मृति गाउँपालिका कार्यालय सुलिचौर रोल्पाले यस आर्थिक वर्ष २०७५–०७६ मा करिव ४ सय घर फुसको छानो विस्थापन गर्दै छ । ति चार सय घरपरिवार फुस छनोमुक्त हुँदा अब विभिन्न प्राकृतिक प्रकोपबाट खतरामुक्त बन्ने भएका छन् ।

गाउँपालिकाको आठ ओटै वडाहरुमा फुस छनोमुक्तको सूचिमा परेका घरपरिवाहरुको घर घरमा जस्तापाता पठाएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । गाउँपालिकाको प्रत्येक वडाहरुमा फुसका छानो भएका घरहरुको पहिचान गरि यस वर्षमा करिव एक वडामा ५० घरधुरीका दरले ४ सय घरधुरी फुसको छानोमुक्त गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । साथै गाउँपालिका कार्यालयले प्रत्येक वडाबाट फुसको छानो भएका घरहरुको नामावली गाउँपालिकामा सिफारिस गरि पठाउन समेत वडा कार्यालयहरुलाई निर्देशन गरेको छ । वर्षातको मौसममा र हिउँदको मौसममा आगोको कारण सम्पूर्ण सम्पति खरानी बनेको मैले हेर्न सक्दैन त्यसैले यो कार्यक्रमलाई अगाडि ल्याएको हुँ अध्यक्ष घर्तीले भन्नुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा २ सय घर फुसको छानोमुक्त बनाएको थियो भने यस आर्थिक वर्ष ४ सय घर फुसको छानोमुक्त बनाउने तयारी गरेको गाउँपालिका कार्यालयले बताएको छ ।

गाउँपालिकाले अगाडि सारेको कार्यक्रम अहिले राष्ट्रिय कार्यक्रम बनेको छ यसैले मलाई गर्व लागेको छ अब कुनै पनि गरीव जनता घर ओताउन नपाएर रुनुपर्ने अवस्था रहँदैन वर्षाै औं दिनसम्म दुख कष्टबाट कमाएको सम्पति वर्षातको कारण र हिउँदको आगोले जलेर नष्ट हुने छैनन् गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो । यस कार्यक्रमका लागि ५ नं. प्रदेश नेपाल सरकारबाट एक करोड बजेट विनियोजन भयो । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुनद्धारा समृद्ध रोल्पा, सुरक्षित जनता आवास कार्यक्रमबाट शहिद परिवारहरुको फुसको छानोमुक्तको निम्ति सहयोग गरेको गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष घर्तीले धन्याद समेत व्यक्त गर्नुभयो । साथै आगामी दिनमा गाउँपालिकामा फुस छनोमुक्तको निम्ति विभिन्न सहयोगी निकायहरुलाई सक्दो सहयोगका लागि गाउँपालिका अध्यक्ष घर्तीले अनुरोध गरेको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like