अपाङ्गता अधिकार विषयक सरोकारवालालाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

लिबाङ–रोल्पा


अपाङ्गता अधिकार विषयक सरोकारवाला निकायहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रमले जिल्लाका सरोकारवाला निकायहरुलाई अपाङ्गता अधिकार विषयमा थप ज्ञान अभिवृद्धिमा सहयोग पुग्ने भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका कार्यालय रोल्पाको प्रमुख पुर्ण के.सी.ले अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशीकरणबाट नै राज्यको मुलधारमा ल्याइनुपर्ने जोड दिनुभयो । सीप, शिक्षा, व्यवसायीमा थप आर्थिक सहयोग गरिए अपाङ्गता भएका व्यक्तिहरु राज्यको मुलधारमा आउने धारणा व्यक्त गर्नुभयो । नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको निम्ति विशेष नीति सहित अगाडि बढ्ने प्रतिवद्धता समेत प्रमुख अतिथि नगर प्रमुख के.सी.ले व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि रोल्पा नगरपालिका कार्यालय रोल्पाको नगर उपप्रमुख मनकुमारी घर्ती र नगरपालिका प्रशासकीय अधिकृत सावित्रा पुन थापा, वडा अध्यक्षहरु लगायत सरोकारवाला निकायहरुको आतिथ्यता थियो ।

कार्यक्रममा अपाङ्गता अधिकार विषयक सरोकारवाला निकायहरुलाई राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ५ नंं. प्रदेशको अध्यक्ष देविदत्त आचार्य र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ५ नं. प्रदेश सल्लाकार एवं द्धोभाषे प्रतिमा शर्माले सहजिकरण गर्नुभएको थियो । स्थानीयतहबाट प्रदान गरिने अपाङ्गता परिचय पत्रको निम्ति ५ नं. प्रदेश सरकारबाट नमूना कानुन उपलब्ध भएपनि जिल्लाका धेरै स्थानीयतहरुमा कानुन तथा निर्देशिकाको अभावमा अपाङ्गता परिचय पत्र वितरण नहुँदा अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेका छन् । स्थानीयतहबाट अपाङ्गता परिचय उपलब्ध नहुँदा समाजिक सुरक्षा भत्ता उपलब्धबाट अपाङ्गता भएका व्यक्तिहरु बञ्चित बन्न बाध्य भएका छन् । जसले जिल्लाका धेरै स्थानीयतहरुमा ठूलो मात्रको वजेट फिर्ता जाने कार्यक्रमको निस्कर्ष समेत निकालेको छ । कार्यक्रममा सहभागि अपाङ्गता भएका व्यक्तिहरुले जिल्लाका प्रत्येक स्थानीयतहहरुमा सहायता कक्षा स्थापना गरी सञ्चालन गर्नेपर्ने जोड दिएका छन् । समाजिक विकास मन्त्रालय ५ नं. प्रदेश सरकारको आर्थिक सहयोग, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ५ नंं. प्रदेशको आयोजना र अपाङ्ग कल्याण समाज नेपाल रोल्पाको संयोजनमा अभिमुखिकरण कार्यक्रम आयोजना कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ५ नंं. प्रदेशको अध्यक्ष देविदत्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रमको सञ्चालन अपाङ्ग कल्याण समाज नेपाल रोल्पा जिल्ला अध्यक्ष दिनेश आचार्यले गर्नुभएको थियो ।

You may also like