राजेन्द्र महतोले नाका थुन्न मधेसी सांसदलाई लिखित उर्दी पठाए

विरगन्ज ८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाका थुन्ने आन्दोलनमा सहभागी हुन मधेसका सांसदहरुलाई लिखित पत्र पठाएका छन्।

Rajendra-Mahato
फोटो :विरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो ।
मधेस आन्दोलनमा पछिल्ला दिनमा जनताको सहभागिता न्यून हुँदै गएपछि महतोले लिखित रुपमा पत्र काटेर यस्तो उर्दी जारी गरेका हुन् । वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महतोले  मधेस आन्दोलनमा सरिक हुन आग्रह गर्दै प्रमुख तीन दल तथा अन्य दलका मधेसी सांसदहरुलाइ पत्र पठाइएको बताए।
महत्तोले भने, तीन दलका सबै एक सय ५० जना मधेसी सांसदहरुलाइ आफुले लिखित रुपमै पत्र पठाएर मधेस आन्दोलनमा सहभागी हुन आग्रह गरेका छौं।
संसदीय दलमार्फत सबै सांसदको हातमा पुग्ने गरि पत्र पठाएको छु, उनले भने , तीन वटै दलका मधेसी सांसदहरु हिम्मत गरेर आ आफनो पार्टी परित्याग गरि मधेसीको अन्तिम लडाइमा आए मधेसी जनताले फुलमाला लगाएर स्वागत गर्छन् ।
उनले थपे , तर पार्टीको झण्डा बोकेर मधेस आन्दोलनमा आए भने जनताले मधेसमा छिर्न पनि दिदैनन्।  मधेसका माग पुरा गराउनका लागि जारी मधेस आन्दोलन मार्फत सरकार र तीन दललाइ अन्तिम धक्का दिने तयारी मधेसी मोर्चाले गरिरहेको उनले बताए।
चार महिना देखि जारी बन्दहडताल र तीन महिनाको नाकाबन्दीले सरकार र ठुला तीन दल गलिसकेको भन्दै अध्यक्ष महत्तोले भने ,‘सरकार र तीन दल भित्रभित्रै गलिसकेका छन् ,तर उनीहरुले बाहिर भने यो कुरा भन्न मात्र सकिरहेका छैनन्।’
काठमाण्डौ र पहाडका जनताले पनि मधेसको  माग जायज र उचित छ भन्न थालिसकेको भन्दै उनले भने ,‘ तर प्रधानमन्त्री केपी ओलीको खोकला राष्ट्रवादले समस्या झन जटील बनाएको छ ।’
सरकारले मधेस आन्दोलनसंग मुछेर भारतलाई बदनाम गराउने षडयन्त्र गरिरहेको भन्दै सदभावना अध्यक्ष महत्तोले भने ,‘ आन्दोलन मधेसीले गरेका हुन् , सामधान यहा खोज्नुको सट्टा  सरकार बार बार दिल्ली धाइरहेको छ । दिल्ली धाएर सरकारले मधेस आन्दोलनलाइ तुहाउने षडयन्त्र पनि गरिरहेको अध्यक्ष महत्तोले बताए ।
सरकारको पछिल्लो तीन बुँदे प्रस्ताव र संसदमा पेश संविधान संशोधन विधेयक दुवै काम न काजको भएको टिप्पणी उनले गरे । तीन बुँदे सरकारी प्रस्ताव र संशोधन विधयेक दुवैले मधेसको माग सम्बोधन गर्न नसक्ने भएको भन्दै अध्यक्ष महत्तोले भने ,‘संसदमा पेश भएको विधेयक अपुरो छ , यो ठग्ने काम बाहेक अरु केही होइन , यसको कुनै काम छैन ।’
सीमांकन बिनाको कुनै पनि सहमति मोर्चाले कसैसंग नगर्ने स्पष्ट पार्दै उनले मधेसका सबै माग प्याकेजमा सम्बोधन नभए सम्म आन्दोलन र नाकाबन्दी जारी नै रहने जिकिर गरे ।

सदभावना पार्टी पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाको वार्त टोली सदस्य एंव सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण , केन्द्रिय सदस्य निजामुद्धिन समानी र जिल्ला अध्यक्ष इमदाद गद्धी सुगाको पनि सहभागीता थियो ।

You may also like