एक कल फोनले यसरी भेटियो डीएसपीबाट लुटिएको पेस्तोल

काठमाडौं ८ पुस । कीर्तिपुुरको चाल्नाखेलमा ग्यास उद्योगमा भएको तोडफोडका क्रममा डीएसपीबाट लुटिएको हतियार भेटिएको छ ।

प्रहरीका अनुसार डीएसपीबाट लुटिएको हतियारसहित विकेश कार्की पक्राउ गरेका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलका अनुसार कार्की अहिले प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप छानविन भइरहेको छ ।

मंगलबार चाल्नाखेलमा रहेको एभरेष्ट ग्यासको उद्योगमा तोडफोड गर्ने क्रममा डीएसपीको पेस्तोल लुटिएको थियो ।

प्रहरीले घटना लगतैबाट हराएको पेस्तोल खोजी गरेपनि भेटिएको थिएन । तर, सीसीटीभी फुटेजका आधारमा शंकास्पद मानिसहरुको सूची बनाएर अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानका खटिएका प्रहरी जेमबहादुर थापालाई बुधबार राई थरका युवकले फोन गरे । उनले प्रहरीको खोजी सूचीमा आफ्नो रहेको भन्ने सुनेको र आफूलाई डर लागिरहेको सुनाए । उनले लगतै फोन राखे ।

प्रहरीले उनलाई फोन गरेर खोजी सूचीमा नाम भएको भन्दै घटनाबारे बताउन भन्यो । ‘उनले एउटा नम्बर दिए’ पोखरेलले भने-‘फोन गर्दा त्यो नम्बर विकेशको रहेछ । उनलाई बोलायौं र आएर उनले हतियार भएको स्वीकार गरे ।’

विकेशले आफैं हतियार ल्याइदिने बताएका थिए । तर, प्रहरीसँगै उनको घरमा पुग्यो । उनले घर भित्रबाट हराएको पेस्तोल झिकेर प्रहरीलाई बुझाए ।

उनलाई अहिले कीर्तिपुर प्रहरीले हिरासतमा लिएको छ । प्रारम्भीक वयानका क्रममा उनले आफूले खोलामा पेस्तोल भेटेको बताएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2015/12/366330/#sthash.Mfv3CvH0.dpuf

You may also like