स्थानीय तहमा कर्मचारीको चरम अभाव, प्राविधिकलाई प्रशासनको जिम्मा

रोल्पा- रोल्पाको माडि गाउँपालिकाका ३ वटा वडापालिकामा हेल्थ पोष्टका अहेबहरुले सचिबको काम गरिरहेका छन्। कर्मचारी अभावका कारण यहाँ प्राबिधिकलाई प्रशासनिक कामको जिम्मेवारी दिईएको हो। उता थवाङ गाउँपालिकाका बिभिन्न वडामा पनि कर्मचारी नभएपछि करारमा नियुक्ति गरिएका पशु र कृर्षि प्राबिधिकलाई सचिबको जिम्मेवारी दिईएको छ। पछिल्ला दिनमा सरकारले गरेको कर्मचारी समायोजनले रोल्पाका स्थानीय तहहरु कर्मचारी बिहिन भएका हुन।

आर्थिक बर्षको अन्तिम हुनै लाग्दा वडा र स्थानीय तहमा कर्मचारी प्रयाप्त नहुँदा जनप्रतिनिधि दिक्क बनेका छन। ‘हाम्रो सात वडा मध्य ३ वटामा सचिब नभए पछि हेल्थपोष्टका अहेबलाई प्रसाशनको जिम्मेवारी दिदै सचिब बनाएका छौ,’ माडि गाउँपालिकाका प्रमुख नन्दबहादुर पुनले भने ‘गाउँपालिकामा पनि प्रयाप्त कर्मचारी छैनन्। समायोजन भएर जानेहरु गईरहेका छन् तर आउनेहरुको नामोनिसान छैन। हामीलाई कर्मचारी अभाब भएको त धेरै भयो।’

बस्ति स्तरबाट योजना छनौटमा सहयोग गर्नेदेखि दैनिक कामकाज ठप्प हुँदासम्म पनि माथिल्लो निकायले कर्मचारी ब्यबस्थापन गर्न नसक्दा स्थानीय सरकारहरु अस्त ब्यस्त बन्दै गएका छन। ‘हाम्रो पाँच बडा मध्य एउटामा स्थानीय निकायका खरिदार बाहेक अरु सबै खालि छ। चार वडामा कृर्षि र पशु प्राबिधिकलाई सचिबको जिम्मेवारी दिएका छौ।’ थवाङ गाउँपालिकाका प्रमुख बीरबहादुर घर्तीले भने ‘गाउँपालिकामा पनि कर्मचारी अभाब उस्तै छ। योजना सम्पन्न गर्न समस्या सुरु भएको छ। जनप्रतिनिधि सकसमा छौ।’

कर्मचारी समायोजनको पत्र पाए पछि रमाना लिएर कर्मचारी हिड्न थाले पछि रोल्पाका स्थानीय तह रित्तिदै गएका हुन। लुङग्री गाउँपालिकाको सात वडा मध्य चारवटा खालि रहेका छन भने अरु दुई जना एक दुई दिनमा रमाना बुझेर जादैछन। ‘एकातिर वडा सचिब खालि छन अर्को तिर गाउँपालिकामा पनि कर्मचारी अभाब उत्तिकै छ। समायोजनले गाउँपालिका नै रित्तिने भयो।’ लुङग्री गाउँपालिकाका प्रमुख दुर्गाबहादुर खड्काले भने ‘प्रमुख प्रशासकीय अधिकृत पनि छैनन्। वडा कसले हेर्ने, गाउँपालिका कसले हेर्ने हो बिजोग छ।’

उता सुगम मानिएको रोल्पा नगरपालिकामा पनि कर्मचारीका अभाव उस्तै छ। दुई वडामा सचिब नभएको यहाँ लामो समय यता लेखा नियमित नहुँदा अर्को समस्या थपिएको छ। ‘अन्यत्र जस्तो त्यति धेरै दु:ख नभएपनि कार्य सम्पादनमा असजिलो भईरहेको छ।’ नगरप्रमुख पूर्ण केसिले बताए। परिवर्तन गाउँपालिकामा पनि दुई वडा खालि भईसकेको छ भने प्रमुख प्रशासकीय अधिकृत र लेखापालको पनि संघमा समायोजन भई सकेकाले केहि दिनमा गाउँपालिकाले समस्याको सामना गर्दै छ। ‘सुरुदेखि अहिलेसम्म कर्मचारी पुरा त कहिले भएनन् अब झनै समस्या आउन थाल्यो।’ गाउँपालिका प्रमुख निमकान्त डागिले बताए।

जिल्लाका रुन्टीगढी, सुनछहरी, सुनिलस्मृती, त्रिबेणी र गंगादेब गाउँपालिकामा पनि वडा सचिब र गाउँपालिकामा कर्मचारीको चरम अभाव रहेको छ। ‘समस्या सुरु भईसक्यो। जाने धेरै आउने कम भए पछि कार्य सम्पादनमा असहजता आएको छ। एउटा सचिवले दुई वडाको जिम्मेवारी लिदा जनतालाई सहज सेवा प्रबाह गर्न गाह्रो भएको छ।’ सुनिलस्मृती गाउँपालिकाका प्रमुख गुर्णेन्द्र घर्तीले बताए। उता रुन्टीगढी गाउँपालिकामा अहिले २ वडामा सचिव छैनन्। गाउँपालिका प्रमुख बालाराम बुढाका अनुसार अरु चार जनाको पनि समायोजन भईसकेको छ। ‘समायोजन भएका साथीहरु जानु भयो भने त वडा संगै गाउँपालिका पनि रित्तिने अबस्था छ।’

रोल्पाका स्थानीयहरु लोकसेवाबाट निजामति प्रवेश गर्ने संख्या निकै कम भएका कारण पनि समस्या थपिएको हो। रोल्पामै जन्मिएका रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसिले यहाँ स्थानियहरुको लोकसेवामा लगाव नभएका कारण पनि कर्मचारी अभाब भएको बताउँछन्। उनि भन्छन ‘पहिलो कुरा आज पनि रोल्पालाई द्धन्द्धकै आखाले हेर्ने गरेका कारण कर्मचारी आउन नचाहेको हुन सक्छ। दोस्रो कुरा स्थानीयहरुलाई पढियो भने लोकसेवा आयोगमा भनसुन बिना नै जागिर पाईन्छ भन्ने बुझाईएको छैन। स्थानीयहरु नै नभएपछि कर्मचारी समायोजनमा रोल्पामा कर्मचारी अभाब भएको हो।’

आर्थिक बर्षको अन्तिम हुनै थाल्दा बजेट बैङ्कखातामा राखेका स्थानिय तहमा कर्मचारी अभाब हुन थाले पछि ठूलो रकम फ्रिज जाने सम्भाबना बढेर गएको छ। अर्को तिर बजेट सकाउने नाममा अनियमितता हुने त्रास पनि उत्तिकै बढेर गएको छ। त्यसो त समायोजनको सुचि हेर्ने हो भने जिल्लाका अस्पताल र स्वास्थ्य चौकिहरु पनि केहि समयमा स्वास्थ्यकर्मी बिहिन हुने अबस्थामा रहेका छन।

स्रोतः https://nagariknews.nagariknetwork.com/news/75256/?fbclid=IwAR3h-ufvGHCWBCAXnD4XGyhwY3iRK-9fW2O8vsPyzhE5m8ASv5_v9dhLorU#/.XMVtUexxLsU.facebook

You may also like