विष्णु पौडेलको बालुवाटारको जग्गा रोक्का

काठमाडौं, १५ वैशाख । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले किनेको प्रधानमन्त्री निवास बालुवाटार परिसरमा किनेको आठ आना जग्गा रोक्का गरेको छ ।

भूमिसुधारमन्त्री पद्मा अर्यालले व्यक्तिको नाममा रहेको बालुवाटारको सरकारी जग्गा सबै रोक्का भएको बताइन् । बालुवाटारभित्र रहेका जति कित्ता रोकिएको भन्दै उनले त्यो कित्ताभित्र विष्णु पौडेलको छोरा नवीन पौडेलको जग्गा पनि पर्ने बताइन् ।

मन्त्री अर्यालले प्रधानमन्त्री निवास परिसर (ललिता निवासको)मा रहेको पौडेलका छोरा नवीनको नामको जग्गा वैधानिक भएको बताएकी छिन् ।

‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ’, मन्त्री अर्यालले भनिन्, ‘मोहीको जग्गा किनेकोले वैधानिक छ । मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन ।’

मालपोत कार्यालयको अभिलेखले भने उनको भनाइ खण्डन गरेको छ ।

अहिले पौडेलको नाममा भएको कित्ता मोही भनिएकी माया प्रजापतिको नाममा देखिएको छ ।

पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको भूमिसुधारमन्त्री अर्यालले पुष्टि गरेकी हुन् ।

आयोगले प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा सरकारी भएको बताएको छ । मोहीबाट उनीहरूको नाममा आएको जग्गा २०६१ सालमा पौडेलको नामा सरेको छ ।

उक्त कित्ताको ८ आना जग्गा ढकाल र सुवेदी बाट पौडेलले जम्मा ४ लाखमा किनेको डिल्लीबजार मालपोत कार्यालयको अभिलेखमा देखिन्छ ।

You may also like