रोल्पाको सुनिल स्मृति गाउँपालिकाका पदाधिकारी छ लाख बोकेर भारत भ्रमणमा, सेवाग्राही आक्रोसित

रोल्पा, २९ चैत ।  साविकको सुवर्णावती गाउँपालिकाको नाम बदलेर सुनिल स्मृति गाउँपालिका राखियो । तत्कालीन माओवादीका तर्फबाट जितेका गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीको प्रस्तावमा नाम बदलिएको थियो । तर, त्यसको विरोधमा केही वडा अध्यक्षले भिन्नमत  लेखे ।

निकै विवादका बीच सहिद सुनिलको नाममा गाउँपालिका त बन्यो तर काम उही पुरानै ढर्राको । अझ बढी नाङ्गिएर काम भएको छ । नाममा विवाद गर्ने कतिपय वडा अध्यक्ष पनि खानपिनका मामलामा ऐक्यबद्धता जनाएका छन् ।

जनताले निर्वाचनमा मतदान गरेर जिताएका जनप्रतिनिधिहरुले नैं जनविरोधी काम गरे भने भोट हाल्नेको मन कस्तो हुँदो हो ? यो प्रश्नको जवाफ यतिबेला रोल्पाका सुनिल स्मृति गाउँपालिकाका जनतासँग छ । उत्तर के ? आक्रोश, विरोध ।

सुनिल स्मृति गाउँपालिकाका अध्यक्षसहित प्रशासकीय अधिकृत, अन्य वडाका अध्यक्ष एवम् पदाधिकारीहरु यतिबेला जनताका काम गर्न छोडेर मोजमस्तीका लागि छ लाख रुपैयाँ बजेट पास गर्दे भारत भ्रमणमा छन् । उनीहरु चैत २१ गतेदेखि नै कामकाज छोडेर विकास निर्माण तथा अन्य जनसरोकारका खर्चिनु पर्ने बजेट दुरुपयोग गर्दै भारत जाँदा स्थानीय जनता भने मर्कामा परेका छन् ।

जिल्लाका बिभिन्न टाढा टाढाको ग्रामीण भेगबाट आएका जनताको काम गर्ने जनप्रतिनिधिहरु कार्यालयमा नहुँदा दुःख मनाउ गर्दै रित्तोहात घर फर्किनु पर्ने बाध्यता छ । सेवाग्राहीहरु कार्यालयमा पुग्दा कार्यालय सहयोगीमात्र भएकाले गुनासो सुन्ने व्यक्ति पनि नहुँदा उनीहरु अक्रोशित हुँदै घर फर्किनु पर्ने बाध्यता भएको हो । गणतन्त्रमा यो भन्दा गैरजिम्बेवारीपना के होला ? एक सेवाग्रहीले आक्रोश व्यक्त गरे ।

जनयुद्धमा धेरैले जनताले ज्यान गुमाएको रोल्पा जिल्लामा शहीदका नाममा विद्यालय, गाउँपालिका, वडा आदि निर्माण भएता पनि जनताले अझै आफ्नो गाउँमा सिंहदरबार आएको अनुभूति गर्न पाएका छैनन् । पाएका छन् छत पुरानै मुखिया प्रवृत्ति । प्रधानपञ्च र पञ्च मन्त्रीको चरित्र ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाको  नाम जनयुद्धका महान् शहीद तथा तत्कालीन ब्रिगेड कमाण्डर किम बहादुर थापा सुनिलको नामबाट नामाङ्कन गरिएको हो । तत्कालीन सरकारले सुनिललाई कायरतापूर्ण हत्या गरेको थियो ।

सुनिल आफैं मात्र मारिएनन्, उनका श्रीमती र छोरीले पनि तत्कालीन प्रहरीबाट धेरै हैरानी खेपे ।

महान सहिदका नाम राख्ने, लुट्ने, आर्थिक उपार्जन गर्ने कार्य गर्दा माओवादी पनि राजनीतिक व्यापारी भएको भन्दै जनतामा चर्चा हुने गरेको छ ।

रोल्पाका माओवादीका नेताहरु धेरैजसो राजनीतिक लाभ लिनेमा पर्छन । अधिकांश नाम चलेका नेता र तिनका परिवारहरु आर्थिक मामलामा वदनाम ठहरिएकाले त्यसको प्रभाव तलैसम्म परेको जिल्लाका कांग्रेसी नेताहरु भन्ने गर्छन । रोल्पामा कांग्रेसभन्दा माओवादी नेता बढी भ्रष्ट भएको जनताले पनि भन्ने गरेका छन् ।

You may also like