आयल निगमलाई ‘क्रस’ गर्दै तेल किन्ने बैधानिक बाटो खुल्यो

nepal_oil_corporationरविन्द्र घिमिरे, काठमाडौं ६ पुस । सरकारले अत्यावश्यक प्रयोजनका लागि उद्योग, आयोजना र विभिन्न महत्वपूर्ण संस्थाहरुलाई तेल आयात गर्न बाटो खुला गरेको छ । यसरी तेल आयात गर्दा अब बैधानिकरुपमै आयल निगमको भर पर्नुपर्ने छैन ।

मन्त्रिपरिषद बैठकले उद्योग कलकारखाना, कूटनीतिक नियोग, जलविद्युत् लगायत ठूला विकासे आयोजना, विद्यालय, कलेज, अस्पताल, तारे होटेल, सञ्चारगृह र ‘क’ वर्गका बैंकलगायतलाई आफ्नो प्रयोजनका लागि तेल आयात गर्न दिने अनुमति दिएको होे ।

शुक्रबार गरिएको नयाँ निर्णयअनुसार वाणिज्य विभागले आइतबारदेखि त्यस्ता निकायहरुलाई अनुमति दिनेसम्बन्धी प्रक्रिया अघि बढाएको छ । तीन महिनासम्म यो निर्णय लागू हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गर्नासाथ निर्णय कार्यान्वयनमा जानेछ ।

आफुहरुकै प्रस्तावमा अत्यावश्यक र ठूला उपभोक्तालाई आफैं तेल ल्याउन अनुमति दिने निर्णय भएको वाणिज्य मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले बताए ।

कसरी आयात गर्ने ?

सरकारले तेल आयातका लागि अत्यावश्यक सेवा सञ्चालन गर्नेहरुलाई तेल आयातको अनुमति दिनेछ । कुनै महत्वपूर्ण निकायले आफ्ना च्यानलहरु प्रयोग गरेर तेल आयात गर्न चाहेमा उनीहरुले वाणिज्य विभागमा अनुमतिका लागि आवेदन दिनुपर्नेछ ।

निवेदनसँगै आफ्ना तालुक निकायहरुबाट सिफारिस पनि संलग्न गराउनुपर्नेछ । होटल उद्योगहरुले उद्योग विभाग, जलविद्युत आयोजनाले उर्जा मन्त्रालय, विद्यालय र कलेजले शिक्षा विभाग, बैंकहरुले राष्ट्र बैंक, कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालय लगायतबाट प्रयोजन खुलाएर तेल आयात अनुमतिको सिफारिस लिनुपर्नेछ ।

वाणिज्य विभागलाई कति तेल आयात गर्ने र कसरी खपत गर्ने भन्ने योजना पनि सँगै बुझाउनुपर्नेछ । आवेदनसँगै ती निकायले विभागमा राजश्ववापत ५ हजार १ रुपैयाँ पनि तिर्नुपर्नेछ ।

सबै प्रक्रिया पुरा गरेपछि विभागले तीन महिनाका लागि आयात इजाजतपत्र जारी गर्नेछ । त्यसपछि ती निकायले तेल आयात गर्न ‘एलसी’ खोल्न सक्ने विभागका महानिर्देशक शम्भुप्रसाद कोइरालाले बताए ।

प्रक्रिया टुँगिएपछि अन्य सामग्री आयात गरेजस्तै सामान्य प्रक्रियाबाट भन्सार तिरेर तेल पनि भित्राउन सकिनेछ ।
तेल आयात गर्दा सम्बन्धित उद्योग, आयोजना वा संस्थाहरुले नेपाली ट्यांकरहरु प्रयोग गर्न सक्नेछन् ।

भारतीय आयल कर्पोरशेन (आइओसी) सँग तेल खरिद गर्न भने नेपाल आयल निगमसँग ‘नो अब्जेक्सन लेटर’ पनि लिनुपर्नेछ ।

अन्य कम्पनीहरुसँग तेल खरिद गरेर ल्याउन भने आयात इजाजतपत्र मात्रैले पुग्ने आयल निगमले जनाएको छ ।सरकारले यसअघि तेल आयात गर्न इच्छुक २२ वटा नेपाली कम्पनीहरुलाई पनि तेल आयातको अनुमति दिएको छ । तर, पेट्रोलिमेक्सबाहेक कम्पनीले अहिलेसम्म तेल ल्याउन सकेका छैनन् । पेट्रोलिमेक्सले भने भारतबाट हवाइ इन्धन ल्याइरहेको छ ।

लोडसेडिङ बढ्दै गरेका बेला तेलको संकटले उद्योग, ठूला आयोजना, होटल लगायत नराम्रोसँग प्रभावित भएपछि सरकारले आफैं तेल आयात गर्न सक्ने अनुमति दिएको हो ।

विद्यालय तथा सञ्चालकहरुले बस सञ्चालन गर्न भारतबाट तेल ल्याउने अनुमति दिन पटक-पटक विभिन्न निकायमा लबिङ गरेका थिए ।

तर, भारतीय भन्सारहरुले नेपाली इन्धन ट्यांकरहरुलाई सीमा क्षेत्रमा रोक्ने क्रम जारी रहेकाले उद्योग र अत्यावश्यक सेवा प्रदायकका तेल ट्यांकर पनि सहजै भित्रिन नसक्ने वाणिज्य अधिकारीहरु नै बताउँछन् ।

You may also like