विश्व वातावरण दिशव २०७५ रोल्पामा पनि बाख्रा वितरण समेत गरियो

राेल्पा समाचारदाता

असार १४ राेल्पा २०७५


विश्व वातावरण दिवस २०७५ को अवसरमा बागेश्वरी प्राथमिक विद्यालय रोल्पा नगरपालिका ४ त्रिटिकोटमा बृक्षा रोपन गरि मनाइएको छ । सो विद्यालयमा विभिन्न बोट विरुवा वृक्षारोपन र विविध कार्यक्रम गरी मनाइएको हो ।

जिल्ला वन कार्यालय रोल्पाको आयोजनामा र सालघारी बदघेरी सामुदायिक वन उपभोक्ता समितिको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले विकासका नाममा वन तथा वातारणमा असर पार्न नहुने र विकास गर्दा भएको क्षतिलाई न्यूनिकरण गर्नका लागि पुन फेरी बृक्षारोपन गर्नुपर्ने बताउनुभयो । गाउँका बास्तविक सुन्दरता कायम गर्नका लागि स्थानीय जनताहरु नै सहभागि बन्नु पर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसीले वनक्षेत्रलाई आत्मनिर्भरका लागि एउटा राम्रो स्रोत भएकाले त्यसलाई सबैले ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले नेपालको जंगलको चर्चा भए पनि विदेशबाट काठ आयात गर्ने परम्परालाई अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले वन संरक्षण तथा सम्बद्र्धन गरी रोल्पा जिल्लामा केही सकरात्मक अभ्यास भइरहेकोले अब त्यसलाई नगर कार्यापालिकाले नीति तथा कार्यक्रममा समेत एक घर एक फलफूल खेती, एक घर एक विरुवा लगायतको कार्यक्रम लिएको बताउनुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला गञ्जबहादुर महराले वनलाई जनताको जीवन स्तर परिवर्तनको क्षेत्र बनाउनु पर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले बन क्षेत्रबाट जनताको जीवन स्तर परिवर्तनको क्षेत्र बनाउने नीति लिएकोले त्यस क्षेत्रमा अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा सालघारी बढघरी सामुदायिक वन उपभोक्ता समिति रोल्पा नगरपालिका ४ त्रिटिकोटले कुल आम्दानीको ३५ प्रतिशत रकमले विपन्न वर्गलाई आयआर्जन सहयोग, वन व्यवस्थपान लगायतको कार्यक्रम गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यष राबहादुर बुढाथोकीले बताउनुभयो । सो कार्यक्रमबाट कार्यक्रममा समुदायिक वनका विपन्न सदस्य गीता पुनमगर र सरिता विष्टलाई पाठी सहितको बाख्रा वितरण गरिएको थियो । यसैगरी बागेश्वरी मा.वि. त्रिटिकोटमा अध्ययरत पुष्पराज विष्ट, गौसरी विष्ट, प्रतिभा गुरुङ, सविन परियार, विर्सना डाँगी, बलविर पुनमगर, थामबहादुर परियार, सन्तोष पुन, अस्मिता विष्ट, तिलकुमारी विष्ट, विष्णु गुरुङलाई विद्यालय पोशाक समेत प्रदान गरिएको थियो । यस्तै विभिन्न कार्यक्रम सञ्चालन गरिहेको सहसचिव ओविलाल थापाले समेत बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रोल्पाका अध्यक्ष मानसिंह डाँगी, ४ नं. वडा अध्यक्ष नवराज आचार्य, निर्वाचन कार्यालय रोल्पाका प्रमुख लिलु गिरी, नेकपाका रोल्पाका प्रतिनिधी फविन्द्र आचार्य, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्मा लगायतको विभिनन सामाजिक क्षेत्रमा कार्यरत प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । औपचारिक कार्यक्रम समापनसँगै बागेश्वरी प्राथमिक विद्यालय त्रिटिकोटको विद्यालयको परिसर भित्र बृक्षारोपन गरिएको थियो । सो बृक्षारोपन कार्यक्रममा चिउरी, बकैनो, इपीलिपी लगायतका विरुवाहरु लगाएएको थियो ।
जिल्ला बन कार्यालय रोल्पाका प्रमुख एवं जिल्ला बन अधिकृत मोहन प्रसाद श्रेष्ठले बृक्षोपनका लागि विभिन्न कार्यक्रम गरिएनि त्यसलाई संरक्षणको अभाव भएकोले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले वन क्षेत्रलाई समुदायको जीविकोपार्जनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । जिल्ला वन कार्यालय रोल्पाका जिल्ला बन अधिकृत मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन जिल्ला बन कार्यालय रोल्पाका भरत श्रेष्ठले सञ्चालन भएको थियो भने स्वागत जिल्ला बन कार्यालय रोल्पाका सिद्धान्त वरालले स्वागत गर्नुभएको थियो ।

You may also like