सुनछहरी नृत्य तथा गायन तारा २०७४ हुने

रोल्पा समाचारदाता
माघ १३ गते, रोल्पा
रोल्पामा सुनछहरी कला केन्द्रको आयोजनामा ‘अग्रजको सम्मान ! नयाँलाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ सुनछहरी नृत्य तथा गायन तारा–२०७४ सम्पन्न हुने भएको छ ।

जिल्ला समन्वय समिति रोल्पाको हलमा कलाकेन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कार्यक्रमका बारेमा कला केन्द्रका अध्यक्ष दीपिन थापाले जानकारी गराउनुभएको हो । माघ २८ गतेबाट रोल्पा जिल्लाका १० वटा स्थानीयतहमा पहिलो चरणको कार्यक्रमबाट नृत्य तथा गायन ताराको आरम्भ गरिने बताउनुभयो । उहाँले रोल्पा जिल्लामा पहिलो पटक स्थानीयतहमै कार्यक्रम गरी छनौट गरि दोस्रो चरणदेखि रोल्पाको लिबाङमा सञ्चालन गरिने समेत बताउनुभयो । सो कार्यक्रम रोल्पा नगरपालिका लगायत अन्य गाउँपालिकामा समेत सहयोगका लागि विभिन्न कार्यक्रम तथा प्रस्तावना पेश गरेको बताउँदै सो कार्यक्र सम्पन्न गर्नका लागि ७ लाख बजेट खर्च हुन सक्ने अनुमान गरिएको छ ।

रोल्पा जिल्लाका सम्पूर्ण मिडियाबाट कार्यक्रमको बारेमा जानकारी गराई दिन र सफल पारिदिनका लागि समेत कला केन्द्रले अपेक्षा समेत गरेको बताएको छ । सुनछहरी नृत्य तथा गायन विधाका तारा २०७४ प्रथमलाई ५०/५० हजार, द्वितीयलाई २५/२५ हजार, तृतीयलाई १५/१५ हजार र सात्वनालाई १०/१० हजार पुरुरस्कार प्रदान गरिने सुनछहरी कला केन्द्रका सचिव टेकेन्द्र सेनले जानकारी दिनुभयो ।
कला संगीत तथा नृत्य विधामा रुची राख्ने सबै कलाकार तथा गायककारहरुलाई यस कार्यक्रममा भाग लिएर रोल्पा जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि समेत आग्रह गरिएको छ । रोल्पा जिल्लाका मौलिक तथा लोक सँस्कृतिलाई जगेर्ना गर्दै विभिन्न अन्य विधालाई समेत विकास र विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले बताएको छ । साथै यस ताराले रोल्पा जिल्लाका कला एवं प्रतिभाको सम्मान तथा विकास र प्रवद्र्धंन हुने कुरामा समेत लक्ष्य लिएको छ । सँस्थाका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ रोल्पाका सहसचिव कमान पुनमगरले रोल्पा जिल्लाका सम्पूर्ण सामुदायिक रेडियो एवं स्थानीय पत्रपत्रिकामा कार्यक्रमको बारेमा प्रचार–प्रशार गरिने र मिडियाको सहयोगबाट मात्रै कार्यक्रम सम्पन्न हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिकले कार्यक्रमलाई व्यवस्थित गराउन र कार्यक्रमको बारेमा छिटो र छरिटो रुपमा सूचना प्रदान गर्नका लागि कार्यक्रमको मिडिया संयोजक राखेर अगाडि बढाउनु सबै मिडिया र मिडिया कर्मीलाई जानकारी गराउने अनुरोध गर्नुभयो । साथै उहाँले रोल्पा जिल्लाका सबै मिडियामा सूचना प्रशारण तथा प्रकाशनमा प्राथमिता दिनसमेत कला केन्द्रलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा सनस्टार साप्ताहिकका कार्यकारी सम्पादक नविन लोचन, सामुदायिक रेडियो मालाश्रीका मार्केटिङ म्यानेजर लोकेन्द्र चन्द, सामुदायिक रेडियो जलजलाका घनश्याम केसी, रोल्पा खवरका पहलमान घर्तीमगर लगायतको अन्य पत्रकारहरुको समेत सहभागिता रहेको थियो । कलाकेन्द्रका अध्यक्ष दिपीन थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव टेकेन्द्र सेनले गर्नुभएको थियो ।
रोल्पा जिल्लामा विगतको बर्षमा सामुदायिक रेडियो जलजलाको आयोजनामा जलजला तारा सम्मन्न गरेको थियो भने हाल लोक दोहोरी प्रतिष्ठान सुनछहरी उपशाखाको आयोजनामा सुवर्णावती तारा सञ्चालन भईहरेको छ ।

You may also like