“अब चुनाव कुनै पनि हालतमा सर्दैन” प्रधानमन्त्री शेरबहादुर देउवा

मानसिंह बिक
रोल्पा ७ मसिर


प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन निर्धारित समय हुने बताउँदै निर्वाचन कुनै पनि हालतमा नरोकिने र नसर्ने बताउनुभयो । उहाँले सरकार निर्वाचन गराउनको लागि निरन्तर लागिपरेको बताउँदै समयमै निर्वाचन सम्पन्न हुने उल्लेख गर्दै कुनै पनि आशंका नगर्नका लागि सबैलाई अनुरोध गर्नुभयो ।
चुनावी सगर्मी उत्कर्षमा पुगेको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवा रोल्पा लिबाङ टुडिखेलमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयोः–“कुनै पनि हालतमा चुनाव सर्दैन, के.पी. ओली.ले निर्वाचन सम्पन्न भएको २१ गते पछि पनि निर्वाचन सर्छ, देउवाले सार्दैछन् भन्छन कि ?”
उहाँले बाम एकतालाई लक्षित गर्दै भन्नुभयोः–“रुसमा लेनिनवाद अन्त्य भयो, चिनमा माओवाद अन्त्य भयो नेपालमा कसरी कम्युनिष्ट सरकार बन्दछ ?” कम्युनिष्ट सरकार मन पराउनु हुन्छ भनेर सहभागी जनतातिर प्रश्न गर्नुभयो ।
उहाँले नेपाली कांग्रेस लोकतन्त्रको लागि २००७ सालबाट निरन्तर संघर्ष गर्दै लोकतन्त्रका लागि लडिरहेको बताउँदै यस पटक पनि कांग्रेसको सरकार बन्नमा कोही कसैले रोक्न नसक्ने बताउनुभयो ।
निकै हतारमा रोल्पा आउनु भएका प्रधामन्त्री शेरबहादुर देउवाले रोल्पा र रोल्पालीको पीडा आफूलाई जानकारी भएको बताउँदै रोल्पा जिल्लालाई नमूना जिल्ला बनाउने घोषणा गर्दै प्रतिवद्धता व्यक्त गर्नुभयो । भन्नुभयोः–“मलाई तपाईहरुको पीडा थाहा छ, मैले नमूना जिल्ला घोषणा गर्दछु, र बनाउनका लागि पहल गर्दछु ।”
कार्यक्रममा राप्रपाका नेता एवं पूर्व मन्त्री तथा बालाराम घर्तीमगरले आफू प्रतिनिधि समानुपातिक उमेद्वार भएकाले गर्दा विजयी बनाउनको लागि अनुरोध गर्नुभएको थियो । साथै रोल्पा जिल्लाको विकासमा लागि परेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सँस्थापक रोल्पा जिल्ला सभापति सुरेन्द्र हमाल, पूर्व राज्य मन्त्री भिमकुमारी बुढामगर, पूर्व सांसद लेखनाथ आचार्य, रोल्पा क्षेत्र नं. १ प्रदेशसभा सदस्य शेरबहादुर महरा, रोल्पा क्षेत्र नं. २ का प्रदेश सभा सदस्यका उमेद्वार खगेन्द्र प्रकाश हमाल, प्रदेशसभा समानुपातिक उमेद्वार मनोजमणि आचार्य, टिकाकुमारी थापा, नेपाली कांग्रेस रोल्पाका पूर्व सभापति माधव आचार्य लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा परिवार दल रोल्पाका अध्यक्ष बसन्त शर्मा, जिल्ला सदस्य खिमबहादुर कुवर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।
नेपाली कांग्रेस रोल्पाका सभापति एवं प्रतिनिधि सभा सदस्यका उमेद्वार अमरसिंह पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसभापति किशोर आचार्यले सञ्चालन गर्नुभएको थियो भने नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्ण्णबहादुर घर्तीमगरले स्वागत गर्नुभएको थियो ।
यसै चुनावी सभालाई संवोधन गर्नका लागि नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराई पनि रोल्पामा आउने भन्ने प्रचार गरेपनि भट्टराई रोल्पामा आउनु भएन । नेपाल साँस्कृतिक संघले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममो सामुदायिक रेडियो मालश्री, रेडियो होलेरी, रेडियो स्वर्गद्वारी लगायत प्रत्यक्ष प्रशारण समेत गरेका थिए ।

You may also like