मनकारी सहयोगदाताहरुको आर्थिक सहयोगबाट रक्त सञ्चार सेवा केन्द्रको दीगोपन हुन्छः रक्त सञ्चार अर्थ संकलन उपसमिति संयोजक भिम बहादुर बुढामगर

मनकारी सहयोगदाताहरुको आर्थिक सहयोगबाट रक्त सञ्चार सेवा केन्द्रको दीगोपन हुन्छः रक्त सञ्चार अर्थ संकलन उपसमिति संयोजक भिम बहादुर बुढामगर

This image has an empty alt attribute; its file name is v2.jpg


रोल्पा जिल्लाको रोल्पा अस्पताल रेउघासँगको सहकार्यमा र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको अगुवाइमा रक्त सञ्चार सेवा केन्द्र रोल्पा अस्पताल रेउघामा सञ्चालन भएको छ । उक्त सेवा सञ्चालनले रगत आवश्यक परेका बिरामी, बिरामीका आफन्तजनहरु र अस्पताललाई समेत रगत आपूर्तिमा सहज भएको छ । अस्पताल रेउघामा सञ्चालित सेवा केन्द्रलाई दीर्घकालीन सञ्चालन हुन्छ कि हुँदैन भन्ने प्रश्न नागरिक स्तरबाट उठिरहेको बेला जिल्ला शाखाले सेवा केन्द्रलाई दीर्घकालीन सञ्चालन गर्नका लागि आवश्यक आर्थिक सङ्कलन गरी अक्षयकोष स्थापनाका लागि जिल्ला शाखाका कोषाध्यक्ष भिमबहादुर बुढामगरको संयोजकत्वमा अर्थ सङ्कलन उपसमिति गठन भई अर्थ सङ्कलन अभियान सञ्चालन भएको छ । उपसमितिका संयोजक बुढामगरसँग अभियानसम्बन्धित विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका उपसम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 स्वागत छ, रोल्पा समाचारमा ।
 धन्यवाद छ रेशम जी, तपाई र तपाईहरूको पत्रिका रोल्पा समाचार राष्ट्रिय साप्ताहिकलाई ।
 कुन कार्यमा व्यस्त हुनुहुन्छ ?
 रोल्पा जिल्लामा, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले रोल्पा अस्पतालसँगको सहकार्यमा भर्खरै मात्र २०७८ श्रावन ८ गते रक्त सञ्चार सेवा केन्द्र उद्घाटन गरी सञ्चालनमा आएको छ । त्यसको दीगो व्यवस्थापन तथा अक्षयकोष निर्माण गर्न नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले मेरो संयोजकत्वमा अर्थ सङ्कलन उपसमिति गठन गरी जिम्मेबारी दिएको छ र सोही जिम्मेवारी बहनको सिलसिलामा सिङ्गो टिम लागेका छौं ।
 अभियानसम्बन्धी बताइदिनुस् न ।
 रोल्पा जिल्लाको रोल्पा अस्पतालमा विशेषज्ञ सेवासहित ५० शैयाको अस्पताल बन्दैछ भने प्रत्येक स्थानीय तहहरूमा पनि १५ शैयाका अस्पतालहरू बन्दैछन् । यो हाम्रो लागि सुखद् पक्ष हो । यसरी अस्पताल तथा स्वास्थ्य संस्थाहरू सबल बन्दै गर्दा तथा विशेषज्ञ सेवा प्रबाहमा रगतको आपूर्ति अपरिहार्य रहन्छ । विगत वर्षमा रगतको अभाबमा बिरामीले ज्यान गुमाउनु परेका तीता अनुभवहरू ताजै छन् । जनसमुदाय तथा सरोकारवालाहरूबाट पनि उत्तिकै जोड्दार माग आएको र आवश्यकतालाई समेत मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले रोल्पा अस्पतालसँगको सहकार्यमा र स्थानीय तहहरूको सहयोगमा रोल्पा अस्पतालमा रक्त सञ्चार सेवा केन्द स्थापना गरेको छ ।
उक्त रक्त सञ्चार सेवा केन्द्रको दीगो व्यवस्थापनका लागि अक्षयकोष निर्माण तथा थप बृद्धि गर्न नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले उपसमिति निर्माण गरी जिम्मेवार बनाएको छ । रोल्पा जिल्लामा क्रियाशील पत्रकारहरू बिच छलफल गरी यस अभियानलाई व्यापक प्रचार प्रसार गर्ने गरी अनुरोध गरिएको छ । देश विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरूलाई यो अभियान बारे जानकारी गराउने र सबैको साथ सहयोग लिने प्रयत्न गरेका छौं ।
रगत जो कोहीलाई पनि आवश्यक पर्न सक्दछ । यसको व्यवस्थापन तथा सहयोगका लागि सम्पूर्ण व्यक्ति, समूह तथा कार्यालयहरूलाई विनम्र अनुरोध गर्दछौं ।
यो एक सच्चा मानव सेवा गर्ने तथा पुण्य कमाउने अवसर हो । रक्त दान जीवनदान, जीवन दान महादान भन्ने भावलाई सबैले आत्म बोध गर्नुपर्छ । यसमा सम्पूर्ण मानवतावादी मनहरू एक ठाउँमा एकीकृत हुनुपर्दछ

 अभियानको उद्द्वेश्यहरू के के हुन् ?
 रक्त सञ्चार सेवा केन्द्रलाई दीगो व्यवस्थापन गर्नु नै प्रमुख उद्वेश्य हो । रक्त सञ्चार सेवा केन्द्रलाई व्यवस्थापन तथा सञ्चालन गर्ने नियमित आर्थिक स्रोत नभएकाले अक्षयकोष स्थापना गरी उक्त रकमको व्याजबाट प्राप्त हुन आउने रकमबाट प्राविधिक तथा कर्मचारीको तलव व्यवस्था गर्ने, अपुग सामग्री तथा उपकरणहरूको खरिद गर्ने, रक्त दान महादान भन्ने सचेतना फैलाउने, आफ्नै भवनको व्यवस्था गर्ने, बिरामीलाई सहज रूपमा रगतको आपूर्ति गर्ने र यो पवित्र कार्यमा सबैको जिम्मेवार तथा कर्तव्य बोध गराउने आदि यस अभियानको उद्वेश्यहरू हुन् ।
 अभियानलाई प्रभावकारी बनाउन कस्ता योजना बनाउनुभएको छ ?
 यस अभियानलाई प्रभावकारी बनाउन व्यापक प्रचारप्रसार गर्ने र सोका लागि सञ्चारकर्मीबाट महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको छ । “सकेको सहयोग गर्ने” यस कार्यमा सकभर कसैलाई नछुटाउने तथा सबैको सहयोगलाई समेट्ने प्रयत्न गरिनेछ । तथापि ठूला रकमका दानी महानुभावहरूका सूची तयार गरी अनुरोध गर्ने । देश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबैनीमा विभिन्न माध्यममार्फत सन्देश पु¥याउने र अनुरोध गर्ने । सरकारका विभिन्न तहमा सहयोगका लागि आग्रह गर्ने । राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी, उद्योगी, व्यापारी, किसान, मजदुर सबैको साथ सहयोगमा अगाडि बढ्ने । दानी महानुभावहरूलाई सम्मान गर्ने । कम्तिम रु २० को अक्षयकोष स्थापना गर्ने आदिजस्ता योजनाहरू रहेका छन् ।
 अक्षयकोषका सञ्चालनका लागि कति रकम आवश्यक हो ?
 कम्तिमा रु २० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुपर्दछ भन्ने रहेको छ, त्यसभन्दा जति बढी गर्न सकियो त्यति नै रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा सहज हुनेछ ।
 अर्थ सङ्कलन उपसमितिले आर्थिक स्रोत पहिचान गरेको छ ?
 हामीले स्रोत पहिचानसहितको प्रस्तावना तयार गरेका छौं । यसको लागि सम्पूर्ण महानुभावहरूबाट चन्दा, दान सङ्कलन गर्ने, सरकारका विभिन्न तहहरूमा अनुरोध गरी सहयोग सङ्कलन गर्ने आदि रहेका छन् ।
 रक्त सञ्चार सेवा केन्द्र सञ्चालनमा वार्षिक खर्च कति हुने अनुमान छ ?
 स्थापना गर्दा सुरुमा लगभग १५ लाख लागेको छ भने थप सामग्री तथा उपकरणहरू खरिद गर्नुपर्नेछ । उपकरण खरिदबाहेक वार्षिक रूपमा रु ५ लाख खर्च लाग्ने अनुमान रहेको छ ।
 अभियानमा आवश्यक रकम जम्मा हुन्छ भन्ने आधारहरू के के हुन् ?
 सर्बप्रथम त यो एक मानव कल्याण कार्यको सुरुवात हो । यस कार्यमा सहयोग गर्नु पुण्य कमाउनु हो । मरेर पनि अमर रहने कार्य हो किनकी सहयोगी दाताहरूका सूचीलाई शिलालेखमा लिपिबद्ध गर्नेछौं । रगतको आवश्यकता भोलि जो कोहीलाई पनि पर्न सक्छ र यसको अभावमा बिरामीको ज्यान नजाओस् भन्ने हो । उक्त सहयोगी रकमको प्रयोग अधिकतम् र उचित किसिमले हुनेछ । यस हिसाबले पनि यो कार्य हामी सबैको लागि गर्नैपर्ने कार्य भएकोले यसमा सहयोग नगर्ने भन्ने प्रश्न नै आउँदैन भन्ने लागेको छ ।
 सहयोगीदाताहरूलाई यस उपसमितिले कस्तो प्रकारका सम्मान राखेको छ ?
 यसमा विभिन्न किसिमका सम्मानका कार्यक्रमहरू राखेको छ, जसको विवरण निम्न रहेका छन्, जसमा रु ४ ९९९ सम्म सहयोग गर्ने सहयोगीदातालाई स्मारिकामा नाम प्रकाशन गर्ने, रु ५ हजारदेखि रु ९ हजार ९९९ सम्म सहयोग गर्ने सहयोगीदातालाई रेडियोबाट नाम प्रसारण गर्ने र स्मारिकामा नाम प्रकाशन गर्ने, रु १० हजारदेखि २४ हजार ९९९ सम्म सहयोग गर्ने सहयोगीदातालाई प्रमाणपत्रसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने र स्मारिकामा प्रकाशन गर्ने, रु २५ हजारदेखि रु ४९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई प्रमाणपत्रसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रशारण गर्ने, स्मारिकामा प्रकाशन गर्ने र शिलालेखमा नाम लेख्ने, रु ५० हजारदेखि रु ९९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई गोल्डेन फ्रेमको प्रमाणपत्रसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने, स्मारिकामा प्रकाशन गर्ने र शिलालेखमा नाम लेख्ने, रु १ लाखदेखि रु २ लाख ९९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई गोल्डेन फ्रेमको प्रमाणपत्रसहित दोसल्ला ओढाई सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने, स्मारिकामा प्रकाशन गर्ने र शिलालेखमा नाम लेख्ने, रु ३ लाखदेखि रु ४ लाख ९९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई बाजागाजासहित नगर परिक्रमा, गोल्डेन फ्रेमको प्रमाणपत्रसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने, स्मारिकामा प्रकाशन गर्ने र शिलालेखमा नाम लेख्ने, रु ५ लाखदेखि रु ५ लाख ९९ हजार ९९९ सम्म सहयोग गर्ने दातालाई बाजागाजासहित रथमा नगर परिक्रमा, गोल्डेन फ्रेमको प्रमाणपत्रसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने, स्मारिकामा प्रकाशन गर्ने र शिलालेखमा नाम लेख्ने, रु १० लाखदेखि १९ लाख ९९ हजार ९९९ सम्म नगद वा जिन्सी सहयोग गर्ने दातालाई कोठाको नाम दिने, बाजागाजासहित रथमा नगर परिक्रमा, गोल्डेन फ्रेमको प्रमाणपत्रसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने, स्मारिकामा प्रकाशन गर्ने र शिलालेखमा नाम लेख्ने, रु २० लाखमाथि नगद वा जिन्सी सहयोग गर्ने दातालाई भबनको नाम दिने, बाजागाजासहित रथमा नगर परिक्रमा, गोल्डेन फ्रेमको प्रमाणपत्रसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने, स्मारिकामा प्रकाशन गर्ने र शिलालेखमा नाम लेख्ने । सरकारका तह, कार्यालय, संघसंस्थालाई गोल्डेन फ्रेमको प्रमाणपत्रसहित सम्मान गर्ने, रेडियोबाट नाम प्रसारण गर्ने, स्मारिकामा प्रकाशन गर्ने र शिलालेखमा नाम लेख्ने ।
 विगतदेखि नै सामाजिक अभियानको क्रममा अर्थ सङ्कलनको के कस्तो सिकाइ आर्थिक उपसमितिले लिएको छ ?
 मानवीय कार्य गर्ने नेपाल रेडक्रस सोसाइटी रोल्पाले विभिन्न समयमा अर्थ सङ्कलन गरेको छ । उक्त कुरालाई केलाउँदा सम्पूर्ण सरोकारवालाहरूलाई यसबारे राम्रो जानकारी गराउने तथा बुझाउन सकेको खण्डमा यस अभियानमा सफल हुन सकिने सिकाइ रहेको छ ।
 रक्त सञ्चार सेवा केन्द्र स्थापनामा सहयोगी निकायको भूमिका कस्तो रहयो ?
 निकै सकारात्मक भूमिका रहेको छ, जसले गर्दा निर्धारित समयमा सो रक्त सञ्चार सेवा केन्द्र स्थापना ग¥यौं । खास गरी रोल्पा नगरपालिकासहित १० वटै स्थानीय तहहरूको सकारात्मक सहयोगले नै रक्त सञ्चार सेवा केन्द्र स्थापना सकिएको हो । स्थानीय तहबाहेक अरू क्षेत्रको सहयोगका लागि अब प्रयास गर्दैछौं ।
 अभियानलाई स्वदेश तथा विदेशमा पु¥याउन समन्वयको व्यवस्था कस्तो गर्नुभएको छ ?
 उपसमितिले देश विदेशमा समन्वय गर्ने गरी दक्ष तथा अनुभवी व्यक्तित्वहरूलाई समेटेर अगाडि बढेको छ । यसका लागि विभिन्न सामाजिक सञ्जाल लगायतका माध्यमबाट समन्वय गर्नेछ ।
 रक्त सञ्चार सेवा केन्द्रको दीर्घकालीन सञ्चालनका लागि स्थानीय तहहरूको भूमिका कस्तो रहन आवश्यक देखिन्छ ?
 राम्रो प्रश्न गर्नुभयो । रेडक्रस सरकारकै सहयागी निकाय हुनुको नाताले यसले स्थापना गरेको रक्त सञ्चार सेवा केन्द्र पनि सरकारकै सफलता हो । जनतालाई सहज रूपमा स्वास्थ्य सेवा पु¥याउनु सरकारको दायित्व हो, यो रक्त सञ्चार सेवा केन्द्र जनताकै सेवाका लागि हो । तसर्थ यस कार्यमा स्थानीय तहबाट जिम्मेबारीपूर्वक सहयोग प्राप्त भइरहेको छ र यसको निरन्तरताका लागि पनि निरन्तर सहयोग हुने कुरामा हामी विश्वस्त छौं ।
 आर्थिक पारदर्शितालाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
 अर्थ सङ्कलन उपसमितिमा रेडक्रसको कार्य समितिभन्दा बाहिरका विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्वहरू रहेकाले यो कार्य पूर्ण रूपमा पारदर्शी हुनेछ । सम्पूर्ण कारोबार बैंकिङ कारोबार हुनेछ । आर्थिक कारोबारोको लेखा परीक्षण हुनेछ । अर्थ सङ्कलन अभियान हाललाई ६ महिनाका लागि सुरुवात गरेका छौं । सङ्कलित रकम विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भइरहेछन् । ६ महिनामा एकमुष्ट सार्वजनिक पनि गर्नेछौं ।
 अभियानका चुनौतिहरू केके हुन सक्छन् ?
 काम गर्ने क्रममा चुनौतिहरू पनि स्वाभाविक रूपमा हुन्छन् । यसैगरी हाम्रो यस अभियानमा पनि विभिन्न चुनौतिहरू त छन् । निर्धारित समयमा रकम जम्मा गरिसक्नुपर्ने, रकम तथा अन्य सहयोगका लागि निरन्तर समन्वय तथा भेटघाट समय समयमा गरिरहनुपर्ने । यसको आवश्यकता र महत्वको बारेमा प्रष्ट बुझाउनुपर्ने आदि ।

 उपसमितिको तर्फबाट जिल्लास्थित सरोकारवालालाई के भन्न चाहनुहुन्छ ?
 रक्त सञ्चार सेवा केन्द्र स्थापना गरेका छौं । यसको दीगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरी रक्तदान सेवालाई प्रभावकारी बनाउनका लागि सरोकारवाला सबैको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको छ । रक्त दान, जीवन दान भएकाले यसको व्यवस्थापन र सञ्चालनका लागि सबैले आ–आफ्नो क्षमताअनुसार साथ र सहयोग गर्न हार्दिक अपिल गर्दछु ।
 अन्तिममा, केही कुरा छुटेका छन्, कि ?
 अन्तिममा, रोल्पा अस्पताल रेउघासँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रलाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि अक्षयकोष स्थापनार्थ गठित अर्थ सङ्कलन उपसमितिको विचार आम सरोकारवालासम्म पु¥याउने अवसर दिनुभएकोमा पत्रिकाको सम्पूर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

You may also like