यसरी बित्छ मुख्यसचिवको एक दिन

somlal-subediनेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी आजभोलि निकै व्यस्त बनेका छन् । राजनीतिक नेतृत्वले गरेका निर्णय र कर्मचारीतन्त्रको तालमेल मिलाउनु पनि पर्ने र प्रत्येक साता बस्ने ‘क्याबिनेट मिटिङ’को संयोजन गर्नुपर्ने भएकाले पनि उनको व्यस्तता बढेको हो । आफ्नो समय कसरी व्यवस्थापन गर्छन् त, देशका कर्मचारी प्रशासनका प्रमुख व्यक्ति रु सुवेदीले आफ्नो दैनिकी नयाँ पत्रिकाका सागर पण्डितलाई सुनाए :

साउनदेखि मुख्यसचिवको जिम्मेवारी समालेपछि मेरो नियमित दिनचर्या पनि फेरिएको छ । कहिलेकाहीँ आइपर्ने आकस्मिक काममा अन्यत्र जानुपर्दाबाहेक म आजभोलि अधिकांश समय कार्यालयमा नै बिताउँछु । कार्यालयमा पर्ने कामअनुसार मेरो रुटिन पनि दिनहुँजसो फेरिन्छ ।
सामान्यतया म बिहान ६ बजेसम्ममा उठिसक्छु । नित्यकर्म सकेपछि केही समय ‘एक्सरसाइज’का लागि छुट््याउँछु । पहिले म बिहान आधादेिख एक घन्टासम्म नियमित ‘मर्निङवाक’ जान्थेँ, तर अहिले ‘मर्निङवाक’का लागि समय निकाल्न सकेको छैन । तैपनि, म घरमै सामान्य ‘एक्सरसाइज’ गर्छु ।
त्यसपछि मात्र म चिया पिउँछु । प्रत्येक बिहान कालो चियाबाट मेरो दिन सुरु हुन्छ । बिहानै चियासँग अरू केही लिन्नँ । चिया पिउँदा मसँग हातमा पत्रपत्रिका पनि हुन्छन् । देशको समग्र अवस्थाबारे ‘अपडेट’ हुन प्रत्येक दिन म पत्रपत्रिका पढ्छु ।
आवश्यक परेमा र समयले साथ दिएको खण्डमा म महत्त्वपूर्ण ‘डकुमेन्ट’ तथा प्रस्तावहरू पनि बिहान नै हेर्छु, त्यससँग सम्बन्धित अन्य विषयको पनि अध्ययन गर्छु । बिहान म भेटघाटलाई खासै प्राथमिकता दिन्नँ । तर, अत्यन्त महत्त्वपूर्ण भेटघाटका लागि भने अरू विकल्प हुँदैन । कहिलेकाहीँ भने बिहानै मिटिङका लागि निस्किनुपर्ने हुन्छ । घरमा कालो चिया खाएपछि मात्र म त्यस्ता मिटिङमा जान्छु ।
मलाई घरबाहिरको खाना खानुनपरे हुन्थ्योजस्तो लाग्छ । त्यसैले, सकेसम्म म घरमै खाना खाएर बाहिर निस्किन्छु । बिहान नौ बजेको कार्यक्रममा जानुपर्ने दिनमा पनि म साढे आठ बजे नै घरमा खाना खाएर निस्किन्छु । त्यहाँभन्दा अगाडि नै घरबाट निस्किनुपर्‍यो भनेचाहिँ घरमै खाना खान सम्भव हुँदैन । त्यस्ता दिनमा मेरो खानाको कुनै टुंगो हुँदैन ।
कुनै विशेष कार्यक्रममा जानुपर्नेछैन भने म सामान्यतया पौने नौ बजे खाना खान्छु । खानामा मलाई सामान्य दालभात, तरकारी मन पर्छ । गाउँघरमा जन्मँे, हुर्केँ । त्यसैले पनि होला, मलाई बाहिरको खानामा त्यति रुचि जाँदैन । घरमा पनि अनेक परिकारमा भन्दा सादा दालभात, तरकारीमा नै मेरो रुचि बढी हुन्छ । मलाई तरकारीमा नुन धेरै भएको मन पर्दैन । तर, भातसँग दूध भने चाहिन्छ । सानैदेखि भातसँग दूध खाने भएकाले होला, दूध भएन भने खानाको धित नै मर्दैन ।
खाना खाएपछि म कार्यालयका लागि तयार हुन्छु । बिहान नौदेखि सवा नौ बजेभित्र प्राय: सिंहदरबारस्थित कार्यालयमा पुगिसकेको हुन्छु । कार्यालयमा आएपछि नियमित कार्यमा जुट्छु । खासगरी सरकारले अघि सारेका विभिन्न नीति, योजना र कार्यक्रमको अवस्था र तिनको कार्यान्वयनको अवस्थाबारे सम्बन्धित मन्त्रालयका प्रमुखहरूसँग जानकारी लिने गर्छु । सरकारको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउनुपर्नेमा सचिव–सहसचिवहरूसँग नियमित सम्पर्कमा रहने गरेको छु ।
आफूलाई खट्केका कतिपय विषयमा साथीहरू तथा विभिन्न मन्त्रालयका सचिवहरूसँग बसेर छलफल गरी उपयुक्त निकाससमेत निकाल्ने गरेको छु । सिंहदरबारस्थित कार्यालयमा नै विभिन्न समस्या र गुनासा लिएर आउनेलाई म नियमित रूपमा नै भेटको अवसर दिन्छु र उनीहरूका गुनासा र मागका बारेमा चासो दिएर सुन्ने र समाधानको पहल गर्छु ।
मुख्यसचिव भएपछिका झन्डै दुई महिना सरकारले तत्काल गर्नुपर्ने सुधारका खाकासहितको दुई वर्षे कार्ययोजना बनाउनमै बढी व्यस्त भएँ । घरमा पनि यही कामलाई प्राथमिकता दिन्थेँ । कतिसम्म भने, दसँै र तिहारको बिदाको समयलाई पनि मैले कार्ययोजना बनाउन नै उपयोग गरेँ । सरकारले त्यो कार्ययोजना स्वीकृत गरिसकेको छ । अहिले कार्यान्वयनमा आइसकेको छ । त्यसैले, अहिले कार्यालय पुगेपछि मेरो पहिलो काम त्यो कार्ययोजनाअनुसार मन्त्रालयहरूमा काम भए–नभएकोबारे बुझ्ने भएको छ । त्यससँग सम्बन्धित आवश्यक निर्देशन दिने, स्पष्टीकरण लिने काम पनि ‘फस्र्ट आवर’मै गर्छु ।
कहिलेकाहीँ कार्यालय समयमा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बैठकमा सहभागी हुनुपर्छ । त्यस्ता बैठकको गाम्भीर्यता र महत्त्व बुझेर म जाने–नजाने निक्र्योल गर्छु । कहिलेकाहीँ प्रधानमन्त्रीज्यूबाट बोलावट हुन्छ, म जान्छु । कहिलेकाहीँ म आफैँ जान्छु र आवश्यक ‘ब्रिफिङ’ गर्छु ।
कामको व्यस्तताले दिउँसो कार्यालयमा खाजा खानकै लागि छुट्टै समय दिन सक्दिनँ । आगन्तुकलाई चिया खुवाउने चलन छ, त्यही समयमा म पनि चिया खान्छु । चियासँगै कहिलेकाहीँ बिस्कुट पनि लिन्छु । भेटघाट बढी हुने भएकाले दैनिक कम्तीमा पनि ८–१० कप चिया खानुपर्ने हुन्छ । धेरै चिया खानुपर्ने भएकाले म कालो चिया ‘प्रिफर’ गर्छु, ‘विदआउट सुगर’ ।
तर, मन्त्रिपरिषद्को बैठक बस्ने दिन भने मेरो ‘रुटिन’ बेग्लै हुन्छ । आजभोलि प्रत्येक बिहीबार मन्त्रिपरिषद्को बैठक बस्छ । त्यसैले, बिहीबारका लागि मैले अलिक धेरै तयारी गर्नुपर्छ । विभिन्न मन्त्रालयबाट आएका प्रस्तावबारे अध्ययन गर्नुपर्छ । प्रधानमन्त्रीज्यूसँग छलफल गरेर बैठकको समय तय गरिएको हुन्छ । त्यहीअनुसार म आफू पनि तयार हुनुपर्छ । मन्त्रालयले पठाएका प्रस्ताव कानुनविपरीत छन् भने त्यस्ता प्रस्तावलाई हामी मन्त्रिपरिषद्मा ‘फरवार्ड’ नै गर्दैनौँ ।
महत्त्वपूर्ण बैठक तथा मन्त्रिपरिषद्को बैठक नभएका दिन म सामान्यतया साँझ ६ देखि आठ बजेसम्ममा घर पुगिसकेको हुन्छु । घरमा पुगेर ‘फ्रेस’ हुन्छु । त्यसपछि ‘डिनर’का लागि तयारी हुन्छु । साढे आठ बजेसम्ममा मैले ‘डिनर’ लिइसकेको हुन्छु । डिनरमा पनि बिहानको जस्तै दालभात, तरकारी नै खान्छु । साँझ पनि मेरो खानामा
दूध छुट्दैन ।
खाना खाइसकेपछि केही समय म दिनभरका घटना र विषयबारे ‘अपडेट’ हुन टेलिभिजन हेर्छु । बिहान पढ्न मन लागे पनि नभ्याएका केही पत्रपत्रिकाका लेखहरू भने पढ्छु । कहिलेकाहीँ त साँझमा पनि कामसँग सम्बन्धित ‘डकुमेन्ट’हरू पढ्नुपर्ने हुन्छ । त्यसका लागि पनि म समय दिन्छु । दश बज्दा–नबज्दै म ‘बेड’मा पुगिसकेको हुन्छु ।
मुख्यसचिव भएपछि घरपरिवारलाई समय दिएर घुम्न पाएको छैन । चाहना हुँदाहुँदै पनि घरपरिवारलाई समय दिन नसकिँदो रहेछ । कहिलेकाहीँ बिदामा भने म दिनभर घरपरिवारलाई समय दिन्छु ।

You may also like