कोभिड महामारी र बालबालिकाकोे भविष्य

This image has an empty alt attribute; its file name is k1.jpg


खेमराज शर्मा
सुनिलस्मृति गाउँपालिका १ घोडागाउँ, रोल्पा ।

कोभिड महामारी र बालबालिकाकोे भविष्य
कोरोना भारइरस (कोभिड–१९) वर्तमान विश्वको लागि चुनौती भएर खडा भएको छ । यसको प्रभाव सबै देश, प्रदेश र गाउँ बस्तीसम्म फैलिएको छ । यसले न पुँजिपति, न शक्तिशाली, न सानो न ठूलो कसैलाई पनि बाँकी राखेको छैन । वर्तमान विश्व सभ्यताको लागि विनाश तथा सङ्कट बनेर प्रत्येक घरका ढोकामा पुगेको छ र यसको मुखभित्र सबै उमेर समूहका मान्छे परिरहेका छन् । बढी मात्रामा यस रोग बारे मिथ्या र अनर्गल प्रचारले गर्दा केही विरामीहरुले बढी मात्रामा दुःख पाइरहेका छन् भने केहीले जीवन समेत गुमाउनु परेको तीतो यथार्थ देखिरहेका छौं । खासगरि दीर्घरोगीहरु, वृद्ध–वृद्धाहरु र बालबालिकाहरु यस रोगको मीठो आहारा बनिआएका छन् । तर, पनि कतिपय मानिसहरु भने दृढ आत्म विश्वास, सक्रिय र अनुशासित जीवनशैली अपनाएर रोगबाट बच्न सफल नभएका पनि होइनन् ।
कोभिडको प्रभावले अर्थतन्त्र लगायत सामाजिक जीवनमा नराम्रो प्रभाव पार्दै छ । यसबाट सिर्जिएका निराशाजनक सूचकहरु देख्न बाध्य छौं । राष्ट्रको अर्थ व्यवस्था खस्कदो अवस्थामा दिनानु दिन ओरालो लागेपछि हामी नेपालीले कतिसम्म त्यसको पीडा भोग्नु पर्ने हो, त्यसको पूर्व आँकलन गर्न सकिदैन । आज व्यक्ति, परिवार, समाज मात्र थलिएको छैन सिङ्गो देश नै थलिएको अवस्था छ । गरिवीका हजारौं रोगहरुसित लड्नु पर्ने र राष्ट्रिय सम्मृद्धिको विषयमा जुट्नु पर्ने समयमा एउटा रोगसित जुध्नुपरिरहेको छ । सामाजिक जीवनमा उत्साह र क्रियाशिलताको कमी महशुस भइरहेको छ । यसले बालबालिकाहरुको सिकाइ क्रियाकलापमा अपुरणीय क्षति पुराउँदै आइरहेको छ, यहाँ यसै विषयमा केन्द्रीत भएर चर्चा गरिनेछ ।
शिक्षा अर्थात सिकाइको व्यापक अर्थमा जन्मेदेखि मृत्युसम्म व्यक्तिलाई प्रभाव पार्ने सम्पूर्ण ज्ञान वा तत्वलाई शिक्षाको रुपमा बुझ्ने गरिन्छ । त्यस्तै कोक्रोबाट सुरु भएको सिकाइ चिहानमा गएर टुगिङ्छ भनेर पनि भनिन्छ । सिद्धान्त जे जस्तो भएपनि मानिसको प्रारम्भिक काल नै शिक्षा, ज्ञान र अनुशासनको लागि जग बसाउने समय भएकोले यो मजबुत नभएसम्म मानिसको जीवन सुखी र सफल हुन सक्दैन । समयले मानिसलाई पर्खदैन र मान्छेको बितेको उमेर पनि फर्कदैन । त्यसैले त जे गर्नु छ समयमै गर भनिएको होला । समयको रेल छुटिसकेपछि हामीसित पछुताउनुभन्दा सिवाय अरु क्यै पनि बाँकी रहँदैन । पूर्वीय दर्शनले पनि मानिसको सम्पूर्ण जीवनलनई चार भागमा बाँडेको छ र प्रारम्भिक काल अर्थात व्रह्मचर्याश्रममा मानिसले उचित अनुशासन, ज्ञान, सीप सिकेन भने र असल धारणाको विकास गर्न सकेन भने जीवन अन्धकारमय हुन्छ भनेको छ ।
विद्यार्थीका लागि परिवार पहिलो पाठशाला भनिन्छ । परिवार एवम् अग्रजको प्रत्यक्ष प्रभाव बालबालिकाहरुमा पर्ने गर्छ । त्यसै भएर त ‘जस्ता बाउका त्यस्तै छोरा नभए थोराथोरा’ भनिएको होला । त्यसपछि समाज र विद्यालयको प्रभाव बालबालिमामा पर्ने गर्दछ । गुरुकुल शिक्षा प्रणालीबाट सुरु भएको हाम्रो शिक्षा प्रणाली विभिन्न चरणहरु पार गर्दै हालको अवस्थासम्म आइपुगेको छ ।
प्रत्येक विद्यार्थीका हात हातमा पाठ्यपुस्क, विद्यालय पोशाक, स्वच्छ खानेपानी, खेलमैदान र फर्निचरको व्यवस्थाले विद्यालय विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै थियो । अझ प्राथमिक तहका बालबालिकाको लागि दिवा खाजाको व्यवस्थाले त झनै विद्यार्थीहरुको ओइरो लाग्दैथियो, विद्यालय छाड्ने प्रवृतिमा कमि हुँदै आएको थियो । साथै विद्यालयमा विद्यार्थीहरुको दिउँसो मध्यान्तरपछि भागेर घर जाने प्रवृतिमा कमी आउँदै थियो । साँच्चिकै भन्नुपर्दा देशले शैक्षिक विकासको लय पक्रिसकेको थियो ।
नढाँटेर भन्नुपर्दा देशमा एक किसिमको राजनीतिक स्थायित्व र स्थानीय सरकारको गठन भएपछि शिक्षा क्षेत्रले समेत दिनानु दिन प्रगति गर्दै थियो । पठनपाठनका सवालमा शिक्षकहरुमा नैतिक दवाव र निगरानी हुँदै थियो । एकाएक कोभिड महामारीको प्रकोपले हाम्रो जस्तो कमजोर आर्थिक अवस्थामा गुज्रिरहेको देशलाई ठूलो धक्का लाग्न पुगेको छ । यसले गर्दा साना बालबालिकाको भविष्य अन्योल र अन्धकारतर्फ धकेलिने अवस्था सिर्जना भएको छ । परीक्षा नै नदिएर विद्यार्थी पास हुने, विद्यालयले मनोमानी ढङ्गले दिएको नम्बरको आधारमा परीक्षा केन्द्रले स्विकार गर्नुपर्ने । धेरै नम्बरले पास हुनुपर्ने विद्यार्थीले थोरै नम्बर पाउने र फेल हुनुपर्ने विद्यार्थी धेरै नम्बर (ग्रेड) लिएर पास हुने जस्ता कैयौं विकृतिहरु देखा परेका छन् । स्कुल जाने बालबालिकाहरु घरमै बसेर खेल्न थालेकाछन् । कक्षा कोठामा शिक्षकले घोकाएर पढ्ने बानी परेका हाम्रा बालबालिकहरु घरमै बसेर के पढ्न सक्थे ? पढेलेखेका अभिभावकले समेत आफ्ना बालबालिकालाई सिक्ने वातावरण दिन सकेको देखिदैन ।
अझैपनि गाउँ घरका केही घरमा टुकीको भरमा बस्नु पर्ने अवस्था छ । त्यस्तो अवस्थामा अनलाइन कक्षा कसरी सम्भव होला ? ल बिजुली पनि भयो रे अनलाइन पढ्नलाई नेट हुनुपर्याे । नेट जोड्नलाई मात्र एक मुष्ठ रु १५÷२० हजार रुपियाँ हुनुपर्याे । मासिक १ हजारदेखि १ हजार ५ सय महसुल जोहो गर्न सक्नु प¥यो । यी सबै भएर मात्र भएन मुख्य कुरो त स्मार्ट फोन चाहिने भयो । त्यसका लागि कम्तिमा रु २० हजार रुपियाँ चाहिने भयो । वेरोजगारी र अनिकालले थलिएको सामान्य अभिभावकबाट सम्भव देखिदैन । सबै कुरा पुरा भएपनि जुम विधिबाट पढाएको प्रभावकारी हुन्छ वा हुँदैन, विद्यार्थीले बुझ्न सक्छ वा सक्दैन । यी तमाम समस्या र अप्ठेराहरू छन् । यी सबै बाध्यताका कुराहरू हुन् । कत्ति पनि नहुनु र नगर्नु भन्दा केही गरौं भन्ने उद्वेश्य हो ।
यो महामारीको कारणले एउटा पुस्ताको भविष्य नै अन्योल र अन्धकारमय हुने जगजगी छ । यो महामारी कहिले र कहाँ गएर टुङगिने हो यसको दुस्परिणाम क–कस्ले कतिसम्म भोग्नु पर्ने हो, पूर्व आँकलन गर्न सक्ने अवस्था छैन । जे भएपनि मानव स्वास्थ्य भन्दा, जीवन भन्दा अर्काे कुनै पनि कुरो ठूलो हुन सक्दैन । सबै अनुशासित र जिम्मेवार बनौं, महामारीको प्रकोपबाट व्यक्ति, परिवार, समाज र देशलाई बचाउने प्रण गरौं । आ–आफ्ना बालबालिकालाई बचाऔं र उनीहरुको भविष्यसित जोडिएको विषय शिक्षा तथा अनुशासनको पनि ख्याल गरौं ।

You may also like