चिसो मौसमसँगै कोरोनाको जोखिमबाट बचौं

चिसो मौसमसँगै कोरोनाको जोखिमबाट बचौं


पुर्ण बहादुर भण्डारी
हाल रोल्पा लिबाङ

विश्वमा महामारीको रुपमा फैलिदै गइरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९)को कारण आफ्नै परिवारका सदस्यहरु डराएर बस्नु पर्ने हालको संवेदनशिल अवस्थामा देशमा लकडाउन केही खुकुलो भएसँगै मानिसहरुको आवतजावतसँगै गतिविधि बढेको छ । २०७६ साल सकिदै गर्दा र नव वर्ष २०७७ भित्रीदै गर्दा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देखिएको समस्या सुरु–सुरुमा सामान्य जस्तै देखिएपनि बिस्तारै–बिस्तारै फैलिदै गर्दा २१४ भन्दा बढी देशहरुमा सङ्क्रमण फैलिसकेको अवस्था छ । विश्वमा लाखौंको संख्यामा ज्यान गुमाउने र करोडौं संख्यामा सङ्क्रमित हुने संख्या दिनदिनै सुनिरहेका छांै । कोरोनाको कारण नेपाल पनि अछुतो रहेन जस्का कारण आजसम्ममा हजारौंको संख्यामा ज्यान गुमाइसकेका छन् भने लाखांैको संख्यामा सङ्क्रमितहरु रहेका छन् । २०७६ चैत्र ११ बाट नेपालमा लकडाउन सुरु भै करीव ५ र ६ महिना लामो समय सबैका लागि कष्टकर बन्न पुग्यो ।
राज्यले देश सुरक्षित रहोस्, नागरिकहरुमा सङ्क्रमण फैलिन नपाओस् भन्ने वातावरण सृजना गर्न भएका सम्पूर्ण शक्ति परिचालित गर्दै सचेत बनाउँदै गर्दा पछिल्लो समयमा समस्या माथि समस्याहरुसँगै चुनौतीहरु थपिन थाले । त्यसपछि लकडाउनको स्वरुप बदलिदै गयो जसमा मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, अनावश्यक आवतजावत र भेटघाटलाई बन्द गर्ने जस्ता थुप्रै सुरक्षाका उपायहरु अपनाउन थालियो । लामो समयसम्मको बन्दाबन्दी केही खुकुलो हुँदा देखिने आवतजावत सामान्य लाग्न सक्छ । तर सङ्क्रमण फैलिन सक्ने सम्भावना भने उत्तिकै हुन्छ । सवारी साधनको अभावमा देशभर अलपत्र परेका यात्रुहरु यतिबेला गन्तव्य स्थानमा लाग्दै गाउँ घर समाजमा पुगिसकेका छन् जस्को कारण चहलपहलसँगै दैनिकी गतिविधि बढ्न थालेको देखिन्छ । अहिले देशकै राजधानी लगायत विभिन्न जिल्लाहरुमा कोरोनाको सङ्क्रमण निकै बढेको देखिन्छ । यसरी चहलपहल बढ्दै गर्दा कोरोनाको प्रभाव पनि बढ्दै गएको देखिन्छ । हाम्रो आफ्नै लापरबाहीका कारणले दिनदिनै सङ्क्रमण हुने दर झन बढ्दै गएको छ । एकातिर राज्यले आम सर्वसाधारण नागरिकहरुलाई भौतिक दुरी कायम गर्ने भन्दै आएको छ भने अर्कातिर हालको अवस्थामा सम्वेदनशिल मानिएको देशकै राजधानी बाट ठूलो संख्यामा सवारी साधनहरुमा भिडभाड र चापचाप स्थितिमा मानिसहरुले यात्रा गरेरहेको यो अवस्था छ । खास गरी अहिले राजधानी नै कोरोनाको उच्च जोखिम अवस्थामा रहेको छ । पहिले थोरै सङ्क्रमित हुँदा प्रतिवन्ध लगाइएको राजधानीलाई पछिल्लो समय खुल्ला गर्दा देशभर मानिसहरुको चहलपहल र आवतजावत बाक्लिदै गएकाले कोरोनाको सङ्क्रमितहरु बढ्दै गएको अवस्था छ । मौसम परिवर्तनसँगै चिसो मौसम भित्रीदै गर्दा अब झन बढी सजग रहनुपर्ने अवस्था देखिएको छ किनभने यतिबेलाको समय भनेको बढी चिसोकै कारणले रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, निमोनिया हुने, स्वासप्रस्वासमा समस्या देखिने जस्ता थुप्रै समस्याहरुले सताउन थाल्दछन् । विशेष गरी साना उमेरका बालबालिका, दीर्घ रोगी, वृद्ध अवस्थाका मानिसहरुमा बढी जोखिम देखिरहेकाले सजग रहन जरुरी देखिन्छ । विश्वका विकसित देशहरू यतिबेला कोरोना भाइरस विरुद्धको अभियानमा खोज अनुसन्धान गरीरहेका छन् । अहिले भ्याक्सिनहरु कुनै भरपर्दो औषधिहरु बनिसकेको अवस्था छैन । लापरबाही गर्नु हाम्रो ठूलो कमजोरी हो अब हामीले अहिले सङ्क्रमणबाट जोगिन शरीरलाई न्यानो राख्ने, मौसम अनुसारको बाक्लो कपडाहरु लगाउने, दैनिक उमालेको तातोपानी खाने, बाफ लिने, झोलिलो खानेकुराहरु खाने, बजारमा जथाभावी खानेकुराहरु नखाने, अनावश्यक बाहिर ननिस्कने, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, हातले जथाभावी चिज बस्तुहरु नछुने, साबुन पानीले राम्रोसँग हात धुने, सरसफाइमा विशेष ध्यान दिने जस्ता कुराहरुमा बिचार पु¥याउँदा पनि सजग रहन बच्न सकिन्छ । आफुलाई सङ्क्रमण भएको शङ्का लागेमा नजिकको स्वास्थ संस्थामा गई तुरुन्तै चेकजाँच गराउने व्यवस्था मिलाउने ग¥यौ भनेपनी जोखिबाट बच्न सकिन्छ । एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्नेहरुको आवतजावतमा देखिने मानिसहरुको जमघट हुने, किनमेल हुने स्थानहरुमा, आर्थिक कारोबार हुने बैंक वित्तीय संघ संस्थाहरुमा काम विशेषले निस्कनु पर्दा सुरक्षित तरिकाले आफ्नो काम गर्ने कोसिस गरौं । दिनदिनै सङ्क्रमितहरुको संख्या बढिरहेको छ समयमै सजग बन्न नसक्ने हो भने यसपछिको डरलाग्दा परिस्थितिहरु हामीले नै भोग्नु पर्ने स्थिति आउन सक्छन् । विगतका दिनहरु जस्तो हरेक कुराहरुलाई सामान्य सोच्नु हुँदैन किनभने अहिले धेरै कुराहरु प्रविधिसँग पनि असफल बन्न पुगेको अवस्था हामीले देखिरहेका छौं सुनिरहेका छौं । यो बेला भनेको घरपरिवार समाज सिङ्गो देश नै आक्रान्त विक्षिप्त बनिरहेको अवस्था हो । हरेक समय आफुलाई सुरक्षित राख्न सक्नु सबैका लागि उत्तम हुने देखिन्छ । किनभने म सुरक्षित रहँदा अरु कतिसम्म सुरक्षित हुन सक्छन् भन्ने कुरा मस्तिष्कमा हरेक समय सम्झिरहनु निकै आवश्यक देखिन्छ । त्यसैले अहिलेको महामारीको सम्वेदनशिल अवस्थामा लापरबाही गर्नुभन्दा सभ्य बन्दै, समय र परिस्थितिलाई बुझ्दै आफ्नै परिवारमा सुरक्षाका उपायहरु अपनाउनु जोगिनु, आफु परिवार अनि सबैका लागि राम्रो कुरा हुने देखिन्छ । अहिलेको अवस्थामा आफन्तसँग भेट्न नपाएको गुनासो गर्नुभन्दा पनि सुरक्षित रहेको महशुस गर्न उच्च मनोवल राख्दै कोरोनासँग लड्न सक्नु उत्तम उपाय हो भन्दा त्यति धेरै फरक नपर्ला बरु समय सान्दर्भिक मानिएला । अर्को महत्वपूर्ण कुरा के छ भने हामी काम विशेषले सङ्क्रमण फैलिएका जिल्लाहरुको बाटो प्रयोग गरेर आवतजावत गर्दै छांै भने सामान्य हरकत हुँदैछ भने, कम्तीमा घरमा आइसकेपछि घरपरिवारदेखि टाढा रहँदै केही दिनका लागि होम क्वारेन्टाइनमा बसांै, जस्ले गर्दा समाजमा अरुलाई पनि राम्रो सन्देश जान्छ । सल्लाह सुझाव दिनु ठिक होला । तर, अब राज्यलाई मात्र अनावश्यक दोष दिएर बसिरहनुभन्दा एउटा सचेत नागरिकको हैसियतले आफ्नो दायित्व र जिम्मेवारी आ–आफ्नो ठाउँबाट पूरा गर्दै जाने वातावरणको सृजना गर्नु र अहिलेको यो महामारीको जोखिमबाट सुरक्षित रहन सक्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले आफू, परिवार, गाउँ समाज सिङ्गो देश सुरक्षित रहेको महशुस गराउनु सक्नु पनि एउटा सचेत नागरिकको जिम्मेवारी र दायित्व दुबै हो भन्दा समय सान्दर्भिक नै होला अहिलेको सम्वेदनशिल अवस्थामा । अब चिसो मौसम बढे सँगसँगै कोरोनाको सङ्क्रमण फैलिने सम्भावना पनि त्यत्तिकै देखिन्छ । यतिबेला सुरक्षाका उपाय सँंगसँगै सहनशिल, धैर्यता र उच्च मनोवल बाहेक अरु केही उपचार विधि देखिदैन त्यसकारण मौसम परिवर्तनसँगै अपनाउनु पर्ने सजगतालाई विशेष ख्याल गरौैं र कोरोनाको जोखिमबाट बचांै ।

You may also like