आमाको गुण कहिल्यै तिर्न सकिदैन


                                                                          पूर्णबहादुर भण्डारी
                                                             नेपाल प्रहरी जवान, हाल कारागार रोल्पा
आमा एउटा संघर्षको यात्रासँग हिडिरहेकी, कहिल्यै नथाक्ने निस्वार्थ भावना बोकेर हिडेकी, खोजेर नपाईने सृष्टिकर्ता नारी हुनुहुन्छ । जसले गर्भको त्यो अपरिचित वस्तुलाई त्यही अध्याँरो संसारबाट पहिचान हुने गरी एउटा मानिसको रुपमा हुर्काउँदै कयौं कयौं असीमित दुःख कष्ट अनि असह्य पीडाहरुसँग सामना गर्दै एउटा उज्यालो खुल्ला आकाश मुनिको धर्तिमा जन्म दिने त्यही हुनुहुन्छ, आमा । आफुले जन्माएको सन्तानको ईज्जत राख्न बरु आफै नाङ्गो खुट्टा अनि फाटेको झुत्रो कपडा लगाएर दैनिकी जीवनसँग हिडिर हुनुन्छ । आमालाई कुनै बेला फुर्सद छैन । बिहान उठेदेखि राती नसुतुन्जेलसम्म घर व्यवहारसँगै परिवार कसरी चलाउने भन्ने चिन्ताले सताई रहन्छ । अझै भनौ सपनामा पनि दिनमा गरेका कामहरुको त्यो झल्को याद गर्नु हुनुहुन्छ ।

पक्कै पनि भोक लाग्छ होला, थकाई लाग्छ होला अनि निन्द्रा पनि । तर, त्यही आमाले जन्माएको सन्तान हामीलाई कत्ति पनि चिन्ता छैन । घरायसी कामकाज होस् वा जंगलमा घाँस दाउरासँगैको मेलापात किन नहोस् कहिले ढाडमा बोकेर त कहिले छातिमा झुन्डयाउँदै, हो यस्तै यस्तै यात्रासँग उनको समय बित्छ । थकानकै कारणले होला सायद त्यही सन्तान कति बेला त बोझ भए जस्तै बनि दिन्छ भने कतिबेला फेरी त्यही सन्तान समय बिताउने खुसीको साथि जस्तै बनि दिन्छ । तर, पनी उनको मनबाट पाप अनि दुश्मनको जस्तो व्यवहार कहिल्यै हुँदैन । आफै सजाय दिन्छिन् अनि आफै पछुताउनु हुनुहुन्छ आमा । आखिर कति गहिरो छ माया अनि कति विशाल छ । त्यो देखाउने व्यवहारसँगैको गुण । आफू सामान्य लेखपढसम्म गर्न पनि जान्दिनन् । तर, आधा पेट भोकै बसेर भएपनि सन्तानको शिक्षा दिक्षामा, पालन पोषण, रेखदेखमा निकै ध्यान राख्छिन् । त्यही सन्तानको भविष्यका सुनौला सपनाहरु पूरा गर्नलाई छिमेकी र अलि परको हुनेखाने साहुसँग समयमै दिने गरी व्याजमा लिएको त्यो ऋृणको चिन्ता के थाहा हुन्छ र उसलाई जति पीडा हुन्छ त्यही आमालाई हुन्छ !!
आमाको त्यो निस्वार्थपन प्रति सम्झनै पर्ने दिनमा पनि हामी एक पटक मीठो शब्दले जहाँ जस्तोसुकै अवस्थामा भएपनी सम्झन सक्छौ होला नि । तर, भुलिरहेका हुन्छौ अनि म ब्यस्त थिए भन्ने खबर पु¥याउँछौं । आखिर हुर्काउँदै संस्कार सिकाउँदै यही व्यस्तताको जीवनसम्म ल्याउने त्यो विशाल देन आमाकै होईन र ? बुबाको त्यो डर लाग्दो रिस अनि गालीबाट जोगिदै लुकाएर सुटुक्क मीठो खाने कुरा दिने पनि आमा नै हुन अनि, धारिलो चिजबस्तुले आफ्नो शरीरको कुनै अंग काटिदा पनि रगत बगिरहन दिने । तर, एउटा सन्तानको एक थोपा रगत बगेको पनि हेर्न नचाहने कोमल हृदय भएकी नारी आमा नै हुनुहुन्छ ।

त्यही आमाको सन्तान हामी व्यवसायीक जीवनमा पुगेर अलिकती हुने खाने भएपछि कहिलेकाही दुई चार पैसासँगै मीठो बोल्दा खासै के बिग्रन्थ्यो । तर, दुःखद कुरा थोरै स्वार्थ झल्किने गर्छ अनि भुल्छौ कि बाल्यकालमा एक रुपैयाँ हुँदासम्म पनि त्यही आमाले दिएर खुसी पारेको त्यो दिन । साच्चिकै त्यही आमाले सजाई दिएको हात खुट्टा, सिकाएको संस्कार, लगाएको गुण अनि ऋण तिर्न कहिले सकिन्छ होला र हामीले यो त सोचाइ राख्दै सम्झने मात्रै हो । हामीलाई थाहा छ त्यो पूरा गर्न सक्दैनौ भन्ने कुरा । तर, मनमा छट्पटी लाग्छ हरेक दिन सम्झन्छौ कि आमा प्रतिका हाम्रा सोचाईहरु पूरा नहोलान् । तर, मस्तिष्क मुटुदेखि सम्मान सदैब । खोज्न गयौं भने अरु चिज पाईन सक्ला । तर, आमा भन्ने चिज पाउन सकिदैन । दुई दिन मात्रै आमाले घर छाडी दिने हो भने त्यो घर कति शुन्य हुन्छ सायद त्यो बेलामा हुने अनुभव सबैले भोगेकै छौ जस्तो लाग्छ । जे होस् आखिर जति धेरै आदर्शका कुरा गरेपनि हामी सबैले आमा प्रतिको ऋण तिर्न सक्दैनौ केबल सम्झने मात्रै हो ।

You may also like